सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोग गठन गरेको थियो । गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगलाई तीन महिने कार्यादेश दिइएकोमा काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाको लागि आयोगको म्याद थप गरेको थियो ।
आयोगले आफनो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले पुन २० दिन आयोगको म्याद थप गरेको थियो । तर दोस्रोपटक थपिएको समयावधि भित्र पनि आयोगले आफनो प्रतिवेदन बुझाउन नसकेपछि पुन तेस्रोपटक २५ दिन सरकारले म्याद थप गरेको हो ।
मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको म्याद फेरि २५ दिन थप्दा चुनावअघि प्रतिवेदन नआउने भएको छ । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ भने २५ दिन म्याद थपको हिसाबले आयोगको समयावधि फागुन २४ गतेसम्म हुनेछ ।
बिज्ञापन


























