काठमाडौँ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा सरकार परिवर्तन भए पनि अनियमितता र मिलेमतोको प्रवृत्ति नियन्त्रण हुन नसकेको आरोप सार्वजनिक भएको छ । कार्यालयका प्रमुख चक्रवर्ती कण्ठ, स्टोरकिपर सुनिल कुमार रोकाया र केही कर्मचारी तथा सप्लायर्सबीच मिलेमतो गरी करोडौँ रुपैयाँ बराबरको आर्थिक अनियमितता गरिएको स्रोतको दाबी छ ।
बिज्ञापन
स्रोतका अनुसार सप्लायर अनिल आचार्यले करिब ३०–४० वटा फरक–फरक फर्म प्रयोग गरी मालसामान आपूर्ति गर्ने, दररेट मिलाएर बढी भुक्तानी लिने र कमिसन बाँडफाँड गर्ने गरिएको छ । कर्मचारी प्रेसले पाएको सूचनाअनुसार न्यू गङ्गा जमुना ट्रेड एण्ड जनरल सप्लायर्स , ओम बिन्दवासिनी जनरल सप्लायर्स प्राली, पालिका एडभर्टइजिङ एण्ड सप्लायर्स प्राली, aaa fradere and suppliers pvtltd लगायत फर्म प्रयोग गरी मालसामान आपूर्ति गर्ने गरेका छन् ।सिंहदरबार, भैँसीपाटीस्थित मन्त्री निवास, पुल्चोकस्थित सर्वोच्च अदालतका न्यायाधीश क्वार्टरलगायतका स्थानमा आवश्यक मर्मत र सरसफाइ नगरी केवल रङरोगन गरेर बजेट सकिने गरेको आरोप छ ।
क्रिकेट मैदानदेखि विशिष्ट निवाससम्म अनियमितता
कार्यालय प्रमुख कण्ठले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत कीर्तिपुर क्रिकेट मैदानको निर्माण तथा फ्लड लाइट जडानको काम हात पारेको र सो क्रममा सचिव गोपाल प्रसाद सिग्देल सँग मिलेमतो गरी ठेक्का प्रक्रियादेखि जडानसम्म करिब एक करोड रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ । उक्त काममा भन्सारसम्म सेटिङ गरिएको दाबी स्रोतको छ ।
बिज्ञापन
यसैगरी, न्यायाधीश क्वार्टर पुल्चोकमा नयाँ–नयाँ सप्लायर्स ल्याएर करिब २ करोड रुपैयाँको काममा ४० प्रतिशतसम्म कमिसन खाइएको, सिंहदरबार र मन्त्री निवासहरूमा रङरोगन तथा मर्मतका नाममा करोडौँ रुपैयाँ दोहन गरिएको आरोप छ । बजेट नभएको अवस्थामा समेत पुँजीगत शीर्षकबाट यस्ता काम गराइएको स्रोतले बताएको छ ।
सरसफाइ र धुलाईमा समेत बदमासी
सरसफाइ, बगैँचा निर्माण, बोटबिरुवा खरिद, गलैँचा, सोफा, कार्पेट, टायल र मार्बल धुलाईमा पनि अनियमितता भएको आरोप छ । यसपटक धुलाईको ठेक्कामा कार्यालयले ५६ लाख रुपैयाँको दररेट तोकेकोमा ठेकेदार माधव चौलागाईं ले १६ लाख रुपैयाँ कममा ठेक्का पाएको बताइन्छ । तर, कमसल केमिकल प्रयोग गर्दा राष्ट्रपति निवासका महँगा नेपाली र टर्किस गलैँचा बिग्रिएको भन्दै राष्ट्रपति कार्यालयले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा गुनासो दिएको स्रोतको भनाइ छ । गुनासो आएपछि पनि कार्यालयले विषय ढाकछोप गर्न खोजेको आरोप लगाइएको छ ।
कर्मचारी र इन्जिनियरमाथि पनि प्रश्न
स्रोतका अनुसार कार्यालयका इन्जिनियर उमेश चौधरी र सिंहदरबार हेर्ने आकृति रिमाल माथि पनि छानबिन हुनुपर्ने माग उठेको छ । साथै, कार्यालयका पीए उषा राई ले समेत बजेट दुरुपयोगमा भूमिका खेलेको आरोप लगाइएको छ ।
रङरोगन र धुलाईमा स्क्वायर फिटको दरमा अनियमितता गरिएको, नधोईकन बिल बनाउने, जलेका तथा प्रयोग नहुने सामान देखाएर बजेट सकाउने प्रवृत्ति रहेको दाबी गरिएको छ । सिंहदरबारमा संरचनागत क्षति लुकाउन रङरोगन मात्र गर्ने कामलाई राज्य सम्पत्तिको दोहनका रूपमा लिन थालिएको सहरी विकासका विज्ञहरू बताउँछन् ।
छानबिन र कारबाहीको माग
जेन–जी समूहको प्रदर्शनपछि संघीय सचिवालयमा देखिएको यस प्रकारको नांगो अनियमिततामा कार्यालय प्रमुख कण्ठसहित संलग्न सबैमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । स्रोतहरूका अनुसार सिंहदरबार, मन्त्री निवास भैँसीपाटी र बालुवाटार सरसफाइमा आफूनिकट सप्लायर्स प्रयोग गरी ठूलो भ्रष्टाचार भएको आरोप छ ।
यी सबै आरोपबारे संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका जिम्मेवार पदाधिकारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । सार्वजनिक भएको विवरणका आधारमा सम्बन्धित निकायले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग तीव्र बन्दै गएको छ ।
यो पनि पढ्नुहोस्।
संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता
संघीय सचिवालयमा १७ वर्षदेखि लिलामी रोकियोः ल्यापटप र आइप्याड गायब
सुब्बाको शक्ति :-सरुवा बदर गराउन मन्त्रीदेखि कर्मचारी ट्रेड युनियनमार्फत धम्की
त्रिवि स्टेडियममा नीतिगत भ्रष्टाचार,ठेकेदार पोस्न रातारात स्पेसिफिकेसन संशोधन
“रुदैं- रुदैं मन्त्रालय धाइरहेका छौं, हाम्रा आँशु कसैले देख्दैन”
संघीय सचिवालयमा स्टोरकिपर रोकायको साम्राज्य:- सम्झौतामा ३० प्रतिशतसम्म ‘कमिशन’


























