रसुवा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले रसुवाबाट इन्जिनियर मोहन आचार्यको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
बिज्ञापन
बिज्ञापन
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रसुवाको बैठकले केन्द्रीय सदस्य तथा निवर्तमान सांसद आचार्यलाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। पार्टी जिल्ला कार्यसमितिका अनुसार स्थानीय तह, भातृ संगठन र जनस्तरमा प्राप्त सुझावको आधारमा आचार्यको नाम सर्वसम्मत रूपमा अघि बढाइएको हो।इ. मोहन आचार्य यसअघि पनि रसुवाबाट लगातार दुई कार्यकाल प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भइसकेका छन्।
२०७४ को निर्वाचनमा उनले १४ हजार ४५३ मतसहित विजय हासिल गरेका थिए। उनका प्रतिस्पर्धी जनार्दन ढकाल १० हजार २७८ मतमा रोकिँदा आचार्यले ४,१७५ मतको फराकिलो अन्तरले जितेका थिए।
बिज्ञापन
त्यसपछि २०७९ को निर्वाचनमा उनले यसभन्दा बढी मत ल्याउँदै १८ हजार २३५ मत प्राप्त गरे। नेकपा एमालेका छेवाङमा तामाङ ८ हजार ६१६ मत मात्रै पाउन सफल भएका थिए। सो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७५ मत प्राप्त गरेका थिए।
उक्त चुनावमा रसुवामा कुल २८ हजार ३०२ मत खसेको थियो। जसमा २७ हजार ४२७ मत सदर भएका थिए भने ७८४ मत बदर भएका थिए।पार्टीको यो निर्णयसँगै आचार्य पुनः तेस्रो पटक प्रतिनिधिसभा सदस्य बन्ने दाबेदारका रूपमा स्थापित भएका छन्।
जिल्लामा एमालेभित्रको आन्तरिक किचलो तीव्र बन्दै गएपछि आगामी चुनावी प्रतिस्पर्धाको समीकरण झन् स्पष्ट बन्दै गएको छ। एमालेका मुख्य आधारका रूपमा रहेका जनार्दन ढकाले पार्टीबाट राजीनामा दिएपछि यहाँको राजनीतिक मैदानमा ठूलो मोड आएको छ।
ढकालको बहिर्गमनसँगै रसुवामा नेपाली कांग्रेसका लगातार विजयी नेता इ. मोहन आचार्यलाई यसपटक झन् सहज परिस्थिती बनेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ। ढकाले २०७४ मा आचार्यसँग प्रतिस्पर्धा गरेका प्रमुख एमाले उम्मेदवार थिए। उनी बाहिरिएपछि एमालेभित्र विकल्प खोज्दै गर्दा गुट–उपगुटको तानातान बढेको छ।
एमालेको कमजोर संगठनात्मक अवस्थाले कांग्रेसका लागि थप अनुकूल वातावरण बनेको बताइन्छ। यही पृष्ठभूमिमा कांग्रेसले आचार्यको नाम प्रत्यक्षतर्फ एकल रूपमा सर्वसम्मत सिफारिस गरेको छ।
स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइमा, “ढकाल नभएपछि एमाले रसुवामा नेतृत्वविहीन जस्तै बनेको छ। यसपटक आचार्यलाई ‘चिठा’ परेको यथार्थ राजनीतिक रूपमा प्रष्ट देखिन्छ।”


























