लोकसेवा परीक्षा तयारी र सफलताका १४ टिप्स

डा.दामोदर रेग्मी निजामती प्रशासन र लेखन क्षेत्रमा रेग्मी प्रशासनमा चीर परिचित नाम हो । उनका लेख र पुस्तक नपढ्ने पाठक शायदै कम छन् अझ विश्व विद्यालय र प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहनेहरु उनका लेख र पुस्तकहरु नछुटाइ पढ्ने गर्दछन् । उनी पाठकका रोजाइका लेखक पनि हुन् ।  उनी लेखकको अतिरिक्त गीतकार पनि हुन् । उनका गीतमा आनन्द कार्की, मुरलीधर, प्रताप दास, अनु चौधरी, समीक्षा अधिकारी जस्ता चर्चित गायक गायिकाहरुले स्वर दिइसकेका छन् ।  त्रि. वि. र चीनवाट स्नातकोत्तर र भारतवाट मूल्य शिक्षा र आध्यात्मिकतामा एमएससी गरेका छन् । उनले कौटिल्यकालीन भन्सार प्रशासनको सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । हाल उनी विद्यावारिधि गर्नेहरुको विषय विज्ञका रुपमा समेत संलग्न रहेका छन्।

बिज्ञापन
 नेपाल सरकारको सचिववाट सेवा निवृत्त भएका उनको दैनिक कार्यसूची फेरिए पनि सक्रियता समाप्त भएको छैन । उनी कुशल समय व्यवस्थापक समेत हुन । पाठकवाट रुचाइएका उनै लेखक, प्रशासन व्यवस्थापन र संघीयताका इनसाइक्लोपिडिया डा.दामोदर रेग्मी संगको कुराकानीमा आधारित रहेर प्रतिस्पर्धात्मक परीक्षा तयारीका टिप्सहरु प्रस्तुत गरेका छौं :

प्रतिष्पर्धा विना सफलता संभव छैन
० विभिन्न पदहरुका लागि लिइने परीक्षाहरु अति नै प्रतिस्पर्धात्मक हुने गर्दछन् ।
० तर यसको तयारी एउटा निश्चित तरीकाबाट गरियो भने सफलता हासिल गर्नमा सहयोग गर्दछ । किनकी सफलता हासलि गरिरहेका अन्य प्रतिष्पर्धीहरु पनि हामी जस्तै परिवेशमा हुर्केका हुन् ।
० निजामती सेवाको अतिरिक्त विभिन्न संगठित संघ, संस्थान तथा प्रतिष्ठानमा कर्मचारीको पदपूर्तिको लागि विभिन्न परीक्षाहरु लिइने गरिन्छ ।
० यस्तो परीक्षा प्रणाली बहु आयाममा आधारित भएकोले तयारी पनि तदनुरुप हुनु आवश्यक छ ।
० सफलताको पहिलो मूल्याङ्कन लिखित परीक्षावाट हुने गर्दछ ।
० लिखित परीक्षाको अंकभार सवभन्दा बढी रहने भएकोले यसको तयारी र प्रस्तुति प्रभावकारी हुनु आवश्यक हुन्छ ।
० लिखित परीक्षाले सूचनाको उपलब्धता र विश्लेषण क्षमताको परीक्षण गर्ने गर्दछ यसर्थ पढिएका शीर्षकहरुबीच अन्तरआबद्धता खोज्ने काम गर्नु पर्दछ ।
० लिखित परीक्षामा सफलता प्राप्तिको लागि अन्य प्रतिस्पर्धी भन्दा राम्रो र फरक बन्नु आवश्यक हुन्छ ।
० सवैले सही कुरा लेखिदिएमा सवै प्रतिस्पर्धीहरुले समान अंक प्राप्त गर्ने हुनाले अरु भन्दा राम्रो अंक प्राप्त गर्न सही कुराको अतिरिक्त लेखाइ प्रभावकारी आकर्षक र भिन्न हुनु आवश्यक हुन्छ ।
० कुनै विषयलाई विस्तार र संकुचन गर्न सक्ने गरी पढिएमा अंकभारको अनुपातमा समय व्यवस्थापन गर्न सकिन्छ ।
० यस्ता प्रतिस्पर्धामा एकातर्फ न्यूनतम उत्तीर्णाङ्क प्राप्त गर्नु आवश्यक हुन्छ ।
० उत्तीर्णाङ्क प्राप्त गर्नेहरुको संख्या आवश्यक माग भन्दा बढी भएमा बढी अंक प्राप्त गर्नेहरु मध्ये उच्च अंक प्राप्त गर्नेहरु मात्र छनौट हुने गर्दछन् ।
० आफ्नो लेखाइले उत्तीर्णांकको सीमा त पार गर्नु आवश्यक हुन्छ नै यसको अतिरिक्त बढी अंक प्राप्त गर्ने किसिमको लेखाइ हुनु आवश्यक हुन्छ ।
० लिखित परीक्षाको राम्रो तयारीले अन्तरवार्ता र लिखति परीक्षा पश्चातका अन्य मूल्याङ्कन प्रणालीको तयारीमा समेत सहयोग गर्दछ ।
लिखित परीक्षाको लागि ध्यान दिनु पर्ने कुराहरु
० लिखित परीक्षामा सफलताको लागि पाठ्यक्रमको गहन जानकारी, पाठ्यक्रमका विषयहरुबीचको अन्तरसम्बन्ध, ती विषयहरुको सैद्धान्तिक अवधारणा, नवीनतम प्रवृत्ति र नेपालमा त्यसको प्रयोग, समस्या र समाधानका उपायहरुबारे जानकार हुनु आवश्यक छ । सोधिएका प्रश्नहरुमा समस्या के हो रु, समस्याको कारणहरु के के हुन् ?, समस्याका प्रभावहरु के के हुन् रु, समस्याको समाधानार्थ चालिनुपर्ने कदमको वारेमा स्पष्ट हुने गरी लेख्नु आवश्यक हुन्छ । लिखित परीक्षाले सूचनाको उपलब्धता र विश्लेषण क्षमताको परीक्षण गर्ने गर्दछ । यसर्थ लिखित परीक्षाको तयारीमा पाठ्यक्रमको सबै विषय समेटिएका पुस्तक पढ्ने र पढिएका शीर्षकहरुबीच अन्तरआबद्धता खोज्ने काम गर्नु पर्दछ ।
० पाठ्यक्रममा समावेश शीर्षकहरुको जानकारी हुनु पर्ने
० पुराना प्रश्न पत्रहरुको संकलन गर्ने
० कुन शीर्षक वा खण्डको अंकभार कति छ सो को जानकारी हुनु पर्ने
० अंकभार वढी भएका शीर्षक वा खण्डको तयारीमा बढी समय लगाउने
० कुन कुन शीर्षक वा खण्डवाट नियमित प्रश्न सोधिने गरेका छन् त्यसको तयारीमा समयमा वढी समय दिने
० खण्ड वा शीर्षकहरुमा अन्तरसम्बन्धको पहिचान गर्ने
० प्रत्येक शीर्षकहरुको सैध्दान्तिक अवधारणा, प्रचलन, नेपालमा प्रयोग, कानूनी आधारशीला, नीतिहरु, संचालन गर्ने जिम्मेवार निकाय, अवसर चुनौतीहरु वारे जानकारी लिने
० शुरुमा सवै शीर्षकहरुको सामान्य जानकारी लिदै जाने । तत्पश्चात जानकारीको तह बढाउदै जाने । नयाँ कुराहरु सिक्दै जान्दै जाने । सिर्जनशीलता बढाउदै जाने ।
० शीर्षकहरुमा अन्तरसम्बन्ध कायम गर्ने क्षमता बढाउने । शीर्षकहरु वीच के कस्ता सकारात्मक वा नकारात्मक अन्तरसम्बन्ध छ पत्ता लगाउने ।
० सकारात्मक अन्तरसम्बन्धलाई उत्प्रेरित र नकारात्मक अन्तरसम्बन्धलाई निरुत्साहित कसरी गर्न सकिन्छ भन्ने बारेमा घोत्लिने ।
० उत्तरलाई जटिल, नवुझिने, अमूर्त नवनाउने। सरल भाषामा आकर्षक प्रस्तुति गर्ने वानी वसाल्दै जाने ।हरफहरु धेरै लामो वा अति नै छोटो नवनाउने । आवश्यकता अनुसार प्याराग्राफ मिलाउने ।
० लेखाइको गति र परीक्षाको लागि तोकिएको समय सीमा वीच तादाम्यता कायम गर्ने ।
कस्ता पुस्तकहरुको छनौट गर्ने ?
बजारमा प्रतिस्पर्धात्मक परीक्षालाई लक्षित गरेर लेखिएका थुप्रै पुस्तकहरु पाइन्छन् । अहिले यसको बाढी नै आएको छ । सन्दर्भ सामग्री प्रयोग भएका, लेखिएका सूचनाको आधिकारिकता भएका, सामयिक विषयको छनौट र परीक्षाको प्रस्तुतिमा समेत ध्यान दिएर लेखिएका लेखकहरुको पुस्तक छनौट गर्दा राम्रो हुन्छ । किनिएका पुस्तकहरु परीक्षामा मात्र पछि पनि काम लागोस, अन्य समय र सन्दर्भमा समेत उपयोगी बनोस । धेरै पुस्तकको रास लगाउनु भन्दा केही महत्वपूर्ण पुस्तकहरु लाई मूल सामग्री बनाउनु ठीक हुन्छ । पढाइको तयारीको शुरुमा सामान्य ज्ञानबर्धक पुस्तक उपयोगी हुन्छन् भने तत्पश्चात आधिकारिक पुस्तकहरुको उपयोग राम्रो हुन्छ । निम्न प्रकारका पाठ्यसामग्रीहरु आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ :
० आधारभूत वा सामान्य ज्ञानबर्धक पुस्तकहरु
० आधिकारिक पुस्तक, प्रतिवेदन र वेवसाइट
० विश्लेषणात्मक पुस्तक
० अन्य सम्बन्धित वेवसाइट
० देश भित्र र बाहिरका प्रतिवेदनहरु
० आधिकारिक परीक्षा उपयोगी सामग्री समावेश सामाजिक सञ्जालहरु
० गुगल सर्च वा सर्च इन्जिनवाट प्राप्त आधिकारिक सामग्रीहरु

बिज्ञापन
आधारभूत विषय तथा पुस्तकहरु

सबै परीक्षाको लागि केही पुस्तकहरु आधारभूत हुने गर्दछन् जस्तो संविधान निजामती सेवा एन र नियमावली आवधिक योजना सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक सामाजिक सूचकहरु, राजनैतिक प्रणाली, विश्व परिवेशमा चर्चामा रहेका विषयहरु, सेवा समूहसंग सम्बन्धित नीति तथा कानूनहरु आदि। यी सबैविषयहरुमा परिक्षार्थीहरु जानकार हुनु आवश्यक हुन्छ । आधारभूत विषयहरु सवै प्रश्न र सन्दर्भको लागि काम लाग्ने हुन्छन् ।
पढाइको शुरुवात कसरी गर्ने ? शुरुवात देखि निखारता ।

पुस्तकको छनौट गर्नुपूर्व कुन पदको परीक्षा दिदैछौ सो को पाठ्यक्रम के छ ?, सो जानकारी हुनु पर्दछ । यसपछि सो पाठ्यक्रममा समावेश भएका सबै विषय रहेका जुनसुकै पुस्तकहरुलाई आफ्नो मूल पाठ्यसामग्री बनाउन सकिन्छ । शुरुमा पढिने यी पुस्तकहरु छोटो छरितो र सरल भाषामा भएको भएमा विषय र अवधारणा बुझ्न सजिलो हुन्छ । शुरुको यो पढाइले हामीलाई पाठ्यक्रमको समग्र विषयसंग परिचित गराइदिन्छ । यो पढाइले हामीमा एक तहको क्षमता विकास गरिदिन्छ । तर यो चरणको पढाइले मात्र निखारता आइसकेको हुदैन र प्रतिस्पर्धाको लागि पूर्ण बनाएको पनि हुदैन । यसर्थ अब आधिकारिक पुस्तकहरु जसमा पाठ्यक्रमका विषयहरुलाई सैद्धान्तिक पक्ष अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा प्रयोगको अवस्था प्रवृत्ति अवसर र चुनौतीहरु लगायतका पक्षमा वर्णनात्मक प्रस्तुति रहेका पुस्तकहरु पढ्नु पर्दछ । दोश्रो चरणको यो पढाइले हामीमा आत्म विश्वास बढाइदिन्छ ।
पढाइको यो चरणले एकातर्फ लिखित परीक्षाको तयारलाई पूर्ण रुपमा सहयोग गरेको हुन्छ भने अप्रत्यक्ष रुपमा अन्तरवार्ता र मूल्याङ्कनका अन्य चरणहरुलाई पनि सहयोग गरिरहेको हुन्छ । परीक्षाको समयको तत्काल केही अगाडी मात्र टुप्पी कसेर पढ्ने वानी त्यति राम्रो होइन । दैनिक केही समय पढाइलाई छुट्ट्याउं यसले पढ्ने वानी र सम्झने वानीलाइ दिगो वनाउंछ ।
कार्यालयको काम वाट शिक्षा लिनुहोस
कैयन प्रतिस्पर्धीहरुले लामो समय कार्यालय विदा लिएर पढाइको तयारी गर्ने गरेको पाइन्छ । परीक्षा दिने दिन र अन्य एकाध दिन विदाको आवश्यकता पर्दछ । तर बुझ्नु पर्ने कुरा के छ भने हाम्रो विदाले कतै कार्यालयको कार्य सम्पादनमा अवरोध त उत्पन्न भएको छैन। कितावको तयारीमात्र तयारी होइन । कार्यालयमा सम्पादन गरिने काम र ती कामहरुमा सैद्धान्तिक र व्यवहारिक अन्तरसम्बन्ध खोज्नुहोस । कार्यालयको काम वाट प्राप्त शिक्षा र अनुभव हाम्रो तयारी र परीक्षामा प्रस्तुतिको दरिलो आधार हो । हामीले काम गरेका कार्यालय हाम्रा लागि भरपर्दो शिक्षालय पनि हुन् ।
पढ्ने र सम्झने कसरी ?
० दैनिक कति समय पढ्ने हो त्यसको कार्ययोजना बनाउने
० कार्ययोजना बनाउदा आफ्ना नियमित न्यूनतम आवश्यक उत्तरदायित्व प्रति निर्मम नबन्ने ।समय व्यवस्थापनवाट सवै काम संभव हुन्छ।
० धेरै समय पढेर कम कुरा स्मृतिमा राख्नुको साटो पढेजति सम्झन सकिने किसिमबाट पढ्ने ।
० पढ्दा आफूलाई सजिलो हुने गरी नोट तयार गर्ने ।
० नोटको तयारीले लेखनकलालाई पनि सहयोग गरिरहेको हुन्छ ।
० एक विषय पढिसकेपछि अर्को विषय पढ्दा ती दुई विषयको अन्तरसम्बन्ध पहिचान गर्ने ।
० विषयहरुको एक अर्कासंगको अन्तरसम्बन्ध कायम गर्ने ।
० जति अन्तरसम्बन्ध कायम गर्न सक्छौं त्यति विषयहरु सम्झन सकिन्छ र लेखाइ राम्रो तथा प्रभावकारी हुन्छ ।
० पढेका कुरालाई विस्तार र संकुचन गर्न सक्ने क्षमताको विकास गर्ने ।
० यसले समय व्यवस्थापन गर्न र लेखाइ राम्रो तथा प्रभावकारी बनाउन सहयोग गर्दछ ।
० सम्झन कठीन कुराहरुलाई सूत्र, अक्षर वा अंकको आधारमा सम्झने अथवा आपूलाई सजिलो हुने उपाय अवलम्बन गर्ने ।
० नियमित प्रयोग हुने तथ्यांक तथा सूचना वारेमा अद्याबधिक रहने । तथ्यांकहरुलाई कहाँकहाँ कसरी प्रस्तुत गर्न सकिन्छ त्यसको अन्तर आवद्धता के हो र त्यसले कस्तो प्रवृत्तिको संकेत गरिरहेको छ सो बारे स्पष्ट हुने ।
अरु भन्दा भिन्न कसरी हुने ?
सफलता प्राप्तिको लागि अन्य प्रतिस्पर्धी भन्दा राम्रो र फरक बन्नु आवश्यक हुन्छ । सवैको एकै प्रकारको लेखाइले सवैले समान अंक प्राप्त गर्ने हुनाले थोरै भए पनि अरु प्रतिस्पर्धी भन्दा बढी अंक प्राप्त गर्नु आवश्यक हुन्छ । यसको लागि सम्बन्धित संस्थाका वेवसाइट, जर्नल, प्रतिवेदन, विभिन्न सर्च इन्जिनबाट नयाँ सामग्री तथा चित्रमय प्रस्तुति खोज्ने गर्नु पर्दछ । तेश्रो तहको पढाइले हामीलाई अरु प्रतिस्पर्धी भन्दा भिन्न आकर्षक र सवल बनाइदिन्छ । पढाइमा यी तीन तहको श्रृंखलाबद्ध संयोजनको आवश्यकता रहन्छ । प्रतिस्पर्धात्मक परीक्षाको लेखाई राम्रो भएर मात्र पुग्दैन अरु प्रतिस्पर्धीको भन्दा विचारोत्तेजक, सिर्जनशील र वस्तुपरक हुनु अति आवश्यक हुन्छ । जसले परीक्षामा सफलता हासिल गर्नमा सहयोग पुर्याउँदछ। लेखाइलाई आकर्षक बनाउने, फरक कुरा होइन फरक ढंगले लेख्ने, पढाइ र लेखाइमा सिर्जनशील बन्ने ।
उत्तर लेखनको तरिका
उत्तरको लेखनपूर्व प्रश्न राम्रो संग बुझ्नु आवश्यक हुन्छ । प्रश्नमा मूल विषय के सोधिएको छ, कुनकुन विषयहरु जोडिएर आएका छन् र कुन सन्दर्भ र परिवेश संग सम्बन्धित छ भन्ने वारेमा पहिचान गर्नु आवश्यक हुन्छ । यसको आधारमा उत्तरमा न्यूनतम तीनवटा पक्षमा ध्यान दिनु पर्दछ । पहिलो सोधिएका विषयहरुका न्यूनतम र छुटाउन नहुने कुराहरु, दोस्रो सोधिएका विषयहरुमा विषयहरुको अन्तरसम्बन्ध र तेस्रो अरुले लेख्ने भन्दा राम्रो कसरी लेख्ने । उत्तरमा कुनै प्रश्नका सबै विषय सम्बोधन हुनु आवश्यक छ । जस्तो के ?, किन कसरी ?, कहिले ?,कसले ? यी विषयलाई ह्वाट क्वेस्चन्स पनि भनिन्छ । ह्वाट क्वेस्चन्सको राम्रो जानकारीले उत्तर लेखनलाई सहयोग गर्दछ । उत्तरको शुरुवात प्रश्नको मूल आशयको सम्बोधनबाट हुनु आवश्यक छ । यसपछि सो विषयको अवधारणात्मक पक्ष के हो यसको प्रयोग अन्तर्राष्ट्रिय रुपमा कसरी भैरहेको छ । के कस्ता नवीनतम अवधारणाहरु प्रयोग भएका छन् ?, नेपालमा कानूनी नीतिगत र संस्थागत व्यवस्था के कस्तो छ ? सकारात्मक पक्षहरु के के छन् ? कमजोरीका क्षेत्रहरु कहाँकहाँ छन ? र ती कमजोरी हटाउन के कस्ता सुधारहरुको आवश्यकता छ ? भन्ने विषयलाई समय सीमा भित्र रहदै समेटिनु आवश्यक हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको एउटा प्रश्नमा धेरै विषय संग जोडेर प्रश्नहरु सोधिएका हुन्छन् यसरी सोधिएका सबै विषयलाई उत्तरले सम्बोधन गर्नु पर्दछ र सकारात्मक र नकारात्मक सम्बन्ध वा प्रभावका क्षेत्रहरु पहिचान गरिदै जानु पर्दछ । सिद्धान्त र व्यवहार वीचको तुलना गरेर लेख्दा आफ्नो प्रस्तुति राम्रो बन्न सक्दछ ।
लिखित परीक्षाको तयारी र लेखन शैलीबीच गहिरो अन्तरसम्बन्ध
लिखित परीक्षाको तयारी पढाइको तयारीसंगै शुरु हुनुपर्दछ । यी दुुइ एक अर्का संग अति नै सम्बन्धित रहेका हुन्छन् ।पढ्दा पाठ्यक्रमका सबै विषयको न्यूनतम जानकारी राख्ने र एक शीर्षकको अन्य शीर्षकसंग अन्तर सम्बन्ध खोज्ने गर्नु पर्दछ । पढाइ लेखाइ दुबैले आवश्यक सूचनाको अतिरिक्त नवीनता, सिर्जनशीलता र पूर्णताको माग गर्दछ । विषयहरुको एक अर्का संगको अन्तरसम्बन्ध कायम गर्ने र पढेका कुरालाई विस्तार र संकुचन गर्न सक्ने गरि पढिएमा त्यसले लेखाइमा प्रभावकारिता ल्याउंछ । प्रश्नको अंकभार र समय वीच तादाम्यता कायम गर्न नसक्नु अधिकांश प्रशिक्षार्थीहरुको समस्याको विषय हो ।
उत्तर बुँदागत कि विश्लेषणात्मक ? चित्र राख्ने नराख्ने ?
सुरुवात सधै अनुच्छेदबाट गर्नु पर्दछ । राम्रा पक्ष, नराम्रा पक्ष, नीतिगत र संरचनागत पक्षहरुलाई उप शीर्षक बनाइ बूंदागत रुपमा पनि लेख्न सकिन्छ । समस्याको पहिचान वा समाधानका उपायहरु पनि बूंदामा लेख्दा राम्रो देखिन्छ । तर यसरी बूंदामा लेखिएका विषयहरुलाई थप विश्लेषण गर्नु पर्ने हुन्छ, विश्लेषण अनुच्छेदमा कलात्मक र आकर्षक रुपमा प्रस्तुत गरिनु राम्रो हुन्छ ।
आवश्यकता अनुसार लेखिएका कुराको संक्षिप्त प्रस्तुति र आकर्षकताको लागि रेखा चित्रहरु, चित्रहरु राख्नु पनि राम्रो हुन्छ । निष्कर्ष वा प्रश्नले माग गरेको उत्तरको निचोड पनि अनुच्छेदमा आउनु राम्रो हुन्छ । यसरी उत्तरमा बूंदा र अनुच्छेद दुबै प्रयोगमा आउन सक्दछन् । सूचनाको सामान्य प्रस्तुति बुंदामार्फत र त्यसको विश्लेषण अनुच्छेदमा आउनु पर्दछ । बूंदाको प्रस्तुतिले परीक्षार्थीहरुको ज्ञानको स्तर मापन गर्न सकिन्छ भने अनुच्छेदले सिर्जनशीलता । बूंदा लेखनले समयको बचत हुन्छ तर त्यसको प्रभावकारी प्रस्तुतिको लागि विश्लेषण आवश्यक हुन्छ । यी दुबै पक्षको समायोजनले हाम्रो प्रस्तुति आकर्षक हुने र समय व्यवस्थापनमा पनि सहयोग पुग्दछ ।
चित्रमा पेन्सिल र रुलरको प्रयोग गर्ने नगर्ने ?
चित्र बनाउदा पेन्सिल र रुलरको प्रयोग गर्दा राम्रो हुन्छ । पेन्सिल कालो रंगको मात्र प्रयोग गर्ने अन्य रंगहरुको पेन्सिल प्रयोग नगर्ने । तर पेन्सिलको प्रयोग अनिवार्य भने होइन । उत्तर लेख्ने कलमले नै चित्र, वार, डायग्राम बनाउन पनि सकिन्छ ।
अंग्रेजी शब्द प्रयोग गर्ने नगर्ने ?
नेपाली भाषमा उत्तर दिनेले सामान्यतया नेपाली भाषाकै प्रयोग गर्नु राम्रो हुन्छ तर केही आवश्यक ठाउंमा अंग्रेजी शब्द लेख्दा उत्तर प्रभावकारी हुने देखिएमा एकपटकलाई शुरुमा सो शब्दको नेपाली रुपान्तरण गरि ब्राकेटमा अंग्रेजी शब्द राख्न सकिन्छ । अंग्रेजी कोटेसन भए अंग्रेजीमा राख्न सकिन्छ । तर यसरी अर्को भाषा प्रयोग गर्दा लेख्न खोजिएका कुरा स्पष्ट हुनु आवश्यक छ । बढी जार्गनहरु प्रयोग नगर्ने प्रयोग गर्नु पर्ने आवश्यकता भए अर्थ स्पष्ट खुल्ने गरि प्रश्नको उत्तर संग सामञ्जस्यता कायम हुने गरि लेख्ने । अंग्रेजी शब्दहरु लेख्दा स्पेलिंग सहि लेख्ने, अंग्रेजी लेख्ने नाममा कतै स्पेलिंग गलत नहोस ।

बिज्ञापन

उत्तरको खण्ड विभाजन
यसमा कम्तीमा तीन खण्ड हुनु पर्दछ । पहिलो सोधिएको पक्षको अवधारणात्मक पक्ष, दोश्रो प्रश्न केन्द्रित रहेको पक्षको स्थिति विश्लेषण तथा समाधानका संभाव्य क्षेत्रहरु र तेश्रो आशावादिता वा सकारात्मक समाधान सहितको निचोड । पहिलो र तेश्रो खण्डका प्रस्तुति छोटो, आकर्षक र पत्यारिलो हुनु आवश्यक हुन्छ भने दोश्रो भागले पहिलो र तेश्रो भागकोबीचमा सामन्जस्यता र अन्तरसम्बन्ध स्थापित गरेको हुनु पर्दछ र सूचनाको व्यवस्थापन आकर्षक ढंगले गरिनु पर्दछ ।
समय व्यवस्थापनमा कौशलता
अधिकांश परीक्षार्थीहरुमा समय व्यवस्थापनको समस्या देखिने गर्दछ । यो कौशलताको बुद्धिमत्तापूर्वक व्यवस्थापन हुनु जरुरी छ । यसका लागि प्रश्नको अंकभार अनुसार समय विभाजन गर्ने, बढी अंकभार भएका प्रश्न एउटा निश्चित अवधिभित्र लेखिसक्ने पूर्व योजना, बढी जानेको विषयलाई निर्धारित समयावधी भन्दा बढी नलम्ब्याउने, कम जानेका विषयलाई छोड्ने वा कम लेख्ने नगरी एउटा निश्चित परिमाणमा लेख्ने जस्ता विषयहरु परीक्षामा सामेल हुनुपूर्व नै समय योजना बनाउने र परीक्षाहलमा प्रश्नपत्र पाइसकेपछि प्रश्नको आधारमा पूर्व निर्धारित समय योजनामा तत्कालै सामान्य परिमार्जन गरि तत्काल उत्तर लेख्ने कार्य गर्नु पर्दछ । प्रश्न जति अंकभारको छ र सो अंकभारले कूल प्रश्नको अनुपातमा कति समय माग गर्दछ सोही परिधिको सामान्य सीमारेखा कायम हुने गरि उत्तरको लम्बाइ व्यवस्थापन हुनु आवश्यक हुन्छ । जानेका कुराको प्रस्तुति आकर्षक बनाउनुको अतिरिक्त समय सीमाको लक्ष्मण रेखाको पालना हुनु पनि आवश्यक पर्दछ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा बढी ध्यान दिनु आवश्यक छ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा आफूलाई समस्या आउन नदिन परीक्षापूर्व स्वलेखन अभ्यास गर्नु राम्रो हुन्छ । कुनै विषयलाई विस्तार र संकुचन गर्न सक्ने गरि पढिएमा अंकभारको अनुपातमा समय व्यवस्थापन गर्न सकिन्छ । अंकभार अनुरुपको समय व्यवस्थापन कौशलता सफलताको आधार हो ।
अक्षर र शुध्दाशुध्दी
अक्षर सकभर राम्रो हुनु आवश्यक छ तर उत्तर पूर्ण वा सन्तोषजनक भएन भने राम्रो अक्षरलेमात्र काम गर्दैन । त्यस्तै उत्तर सही लेखिए पनि अक्षर नबुझिए त्यसको पनि कुनै अर्थ रहदैन । यसर्थ कम्तीमा पनि अरुले पढ्न सक्ने अक्षर हुनुपर्दछ र शुध्दाशुध्दीमा पनि ध्यान दिनु आवश्यक हुन्छ । राम्रो अक्षर र शुध्दाशुध्दीलाई परीक्षापूर्व गरिने स्वलेखन अभ्यासले सहयोग गर्दछ ।
आत्म विश्वास सफलताको महत्वपूर्ण सारथी
सबै तयारी पूरा भए पनि तयारीका हरक्षण आत्म विश्वासलेयुक्त र सफलताप्रति आशावादी हुनु आवश्यक छ । आशावादिताले उत्साह र सकारात्मकताको संचार गरिदिन्छ । एकाध असफतालाई थम मेहनत र अनुभवको उपयोगको आधार बनाउनु राम्रो हुन्छ । यात्रा नरुचाउने वा गन्तव्य प्राप्तिलाई असंभव देख्नेहरुको लागि मात्रा यात्रा पीडादायी हुन्छ यात्राको शुरुवात गर्ने यात्रीले यात्राका हर कदम आरोह र अवरोहहरुलाई स्वीकार्दै अगाडी बढ्दछ र अन्तत सफल पनि हुन्छ । माउसुली पनि हरेक पटकको प्रयासवाट गन्तव्यमा पुग्न सकेको कथा शायद हामीले विर्सिसकेका छैनौं ।सवैलाई सफलताको शुभकामना छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोकसेवा परीक्षा तयारी र सफलताका १४ टिप्स

सुदनका गतिविधिले सिंहदरबारका कर्मचारी आजित,बुझाए सहसचिव सरुवाको सूची

काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान

लोकसेवा परीक्षा : सबैभन्दा धेरै चिट चोर्नेमा प्रहरी र सेना

औषधी बिना बिल मात्र : डा. झाको नेतृत्वमा उदयपुर स्वास्थ्य केन्द्र राज्यको ढुकुटी चाटिएको खुलासा

 चेतनाको विज्ञान र विज्ञानको चेतना          

निमित्तको जिम्मेवारीबाट नहटाइदिन सचिवसमक्ष निवेदन

अब शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

बिशेष