प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्वसचिव अर्जुन काकी र तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
नेपाल ट्रष्टको कार्यालयले एक दशकअघि दरवारमार्गको मुख्य चोकमा रहेको झण्डै दुई रोपनी जग्गा यति समूहको थमसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि लिजमा दिदाँ राज्यकोषमा करिब साढे पाँच अर्ब रुपैयाँ अनियमितता भएको भन्दै पूर्व सचिव र सहसचिवलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो ।
बिज्ञापन
कर्मचारीहरुका अनुसार यो भन्दा ठूलो घोटला छ,गोकर्ण फरेष्ट रिर्सोटको जग्गा लिज प्रकरणमा । सो प्रकरणमा जोडिन्छन् सहसचिव राजेश्वर ज्ञवाली । कर्मचारीहरुका अनुसार निजामतीमा सबैभन्दा बढी वैदेशिक छात्रवृत्तिको अवसर, छानी छानी आकर्षक कार्यालयमा बस्ने अवसर पाएका ज्ञवाली जहाँ जहाँ बसे ती कार्यालयमा अनियमितताको एक पछाडि अर्का बान्कीहरु छरपष्ट भएका छन् ।
बिज्ञापन
हाल उद्योग विभागको नेतृत्व गरिरहेका उनी तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र कर्मचारी थिए । र नेपाल ट्रष्टमा कार्यरत रहँदा गोकर्णस्थित नेपाल ट्रस्टको २७ सय ९२ रोपनी एक आना तीन पैसा एक दाम जग्गा यती समूहलाई लिजमा दिँदा अनियमितता भएको बिषयलाई महालेखा परीक्षकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । यती समूहलाई २७ सय ९२ रोपनी जग्गा प्रतिरोपनी वार्षिक १५ हजारका दरले लिजमा दिएको सरकारले छेउमै जोडिएको जग्गाको भने प्रतिरोपनी वार्षिक पाँच लाख मूल्यांकन गरेको छ । एउटै निकायका दुईथरी निर्णयले राज्यलाई वर्षमा एक अर्ब ३५ करोड ४१ लाख २० हजार घाटा लागेको भन्दै महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यती समूहको गोकर्ण रिसोर्टलाई ३० वर्षका लागि जग्गा लिजमा दिँदा नेपाल ट्रस्टले एक करोड आठ लाख २३ हजार दुई सय पाँच डलर पाउनेगरी सम्झौता भएका् थियो । यती समूहलाई कौडीको भाउमा औसतमा वर्षको प्रतिरोपनी १५ हजार रुपैयाँ भाडा लिने गरी सम्झौता गरिएको थियो । तर, त्यही नजिकैको जग्गा गोकर्णेश्वर नगरपालिकालाई लिजमा दिन मूल्यांकन गराउँदा भने सरकारी दररेट नै प्रतिरोपनी प्रतिवर्ष करिब पाँच लाख रुपैयाँ लिँदै आएको बिषयमा महालेखाले आफ्नो प्रतिवेदनमा कैफियत लेखेको छ । उनै ज्ञवालीको सक्रियतामा लिज अवधि ६ वर्ष बाँकी छँदै डेढ वर्षअघि सरकारले थप २५ वर्षका लागि ट्रस्टको जग्गा यती समूहले सञ्चालन गर्दै आएको रिसोर्टलाई लिजमा दिएको थियो । छानबिनबाट जोगिन मन्त्रिपरिषद्बाट स्वीकृत गराएर २९ पुस ०७६ मा विनाप्रतिस्पर्धा लिज अवधि थप्ने काम भएको थियो ।
बिज्ञापन
नेपाल ट्रष्टमै बसेर बाहिरिएका एक सचिवले कर्मचारी प्रेससँग भने ‘दरबारमार्गको जग्गाको भन्दा पनि बढी भ्रष्टाचार र अनियमितता त गोकर्ण फरेष्ट रिर्सोटको जग्गा लिजमा दिँदा भएको छ । यतातिर राज्यको निकायको ध्यान किन नगएको होला ?’
ज्ञवाली निजामती क्षेत्रमा सबैभन्दा बढी लाभको पद र अवसर पाउने कर्मचारीमध्ये पर्दछन् । क्रमबाट कम (क्रमभंग) विक्रमबाट बढी अवसर पाउने कर्मचारी हुन उनी । वैदेशिक अध्ययन र भ्रमण पनि तिनैलाई,सिंहदरबारको चौघेरा तोडेर अन्यन्त्र जानुनपर्ने,खटिए पनि ए ग्रेडका अड्डाबाट ए ग्रेडकै अड्डामा जान पाउने भाग्यमानी पनि उनै । हाइ प्रोफाइलको अड्डामा बस्न नपाए अक्सिजन लगाएको विरामीको मुखबाट अक्सिजन झिक्दाझैं छटपटाउनेमध्येका हुन,राजेश्वर ।
निजामतीमा कस्तोसम्म विकृती छ भने, जिन्दगीभर बोइङ चढ्न नपाउने कर्मचारी पनि छन्, बर्षमा २० पटक यस्ता अवसर पाउनेहरु पनि छन् । अहिले उद्योग विभागका हर्ताकर्ता रहेका ज्ञवाली शाखा अधिकृत हुँदादेखि उपसचिव हुँदासम्म गरी तीन पटक वैदेशिक छात्रवृत्ति पाइसकेका छन् ।०५८ सालमै छात्रवृत्ति पाए र इटालीबाट बौद्धिक सम्पत्ति कानुनमा एलएलएम गरेर फर्किए । सात बर्ष पछि फेरि अन्तर्राष्ट्रिय व्यापारमा दक्षिण कोरियाबाट स्नातकोत्तर गर्न गए । यस्का अलवा इजरायलको अलुम्नी युनिभर्सिटीबाट चारमहिने कोर्स गर्ने अवसर पनि ज्ञवालीले नै पाए । रघुवीर महासेठका विश्वासपात्र भएर काम गरेका उनी महासेठ मन्त्री हुँदा सिँचाई हुँदै उर्जामा बसे । नेपाल ट्रष्टमा हुँदा गोकर्णको जग्गा प्रकरणमा मुछिएका उनी काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हुँदा महानगरका १८ सय कर्मचारीहरुको एक तह बढुवा गर्दा प्रत्येक कर्मचारीबाट एक महिनाको तलब असुलेर विवादमा तानिए । केपी ओलीको गृह जिल्ला झापाको सिडिओ खान बल गरे पाएनन् । मुख्यसचिव शंकरदास बैरागीलाई मनाएर ठूला करदाता कार्यालयका हाकिम बनेका उनी त्यस पछि काठमाडौंको प्रमुख जिल्ला अधिकारी खान बल गरे तर सकेनन् ।
जस्तो जतिखेर उनी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए,त्यही समयमा बोलपत्रको मापदण्ड पूरा नगर्ने समानान्तर निर्माण कम्पनीलाई महानगरको साढे ६९ करोडको भवन निर्माणको ठेक्का दिए । काठमाडौं महानगरपालिकाको टेकुस्थित साढे ६९ करोड रुपैयाँ लागतको भवनको ठेक्काको ‘प्राविधिक मूल्यांकन प्रक्रियामा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको’ अभियोगमा यो प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली मुछिए । अख्तियारले समेत यो प्रकरणमा हात हाल्यो । तर सत्ताको छायाँमा अख्तियारले उन्मुक्ति दियो ।
उनै ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत हुँदा काठमाडौं महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह वा स्तर बढुवा गर्यो । लोकसेवा आयोगको समेत स्वीकृत नलिइ एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा गर्दा बढुवा गरिएका कर्मचारीबाट प्रमुख प्रशासकीय अधिकृतले अतिरिक्त लाभ लिएको चर्चा महानगरकै कर्मचारीहरुले गर्ने गर्दछन् ।महानगरपालिकाबाट गृहमा पुगेका ज्ञवाली झापाको प्रमुख जिल्ला अधिकारी हुने जोडबलमा लागे । सफल भएनन् । तत्कालीन मुख्य सचिवलाई मनाएर उनी ठूला करदाता कार्यालयतिर पुगे ।
कुनै समय भौतिक मन्त्री बसन्त नेम्बाङ सँगै मुखमुखै लागेर त कुनै मन्त्रीका समेत फोन नउठाएर चर्चामा आइरहने प्रशासक हुन राजेश्वर ।नवलपरासी स्थायी ठेगना भएका ज्ञवाली प्रधानमन्त्रीको कार्यालयमा हुँदा स्मार्ट लाइसेन्स छपाईको काम गर्ने कम्पनी मद्रास सेक्युरिटी प्रिण्टर्स (एमएसपी) को लोकल एजेण्ट सुवोध त्रिपाठीसँग साँठगाँठकारण समेत आलोचित थिए । अहिले उनै ज्ञवाली उद्योग मन्त्री अनिलकुमार सिन्हाको दाहिना हात बनेर काम गरिरहेका छन् ।
ज्ञवाली प्रशासन समुहका कर्मचारी हुन् । तर, जुनसुकै सरकार फेरबदल भए पनि उनै ज्ञवाली ठूला करदाता कार्यालयमा प्रमुख कर प्रशासकको जिम्मेवारीमा ढलिमली गरिरहे । ज्ञवालीको सबैभन्दा ठूलो खुबी भनेको जुनसुकै पार्टी होस् वा व्यक्ति–सबैलाई रिझाएर आफ्ना लागि कुस्त लाभ लिन सक्नु हो ।चाहे एमालेको सत्ता होस वा काँग्रेस माओवादी अर्थात अहिले दलविहिन जेनजीको सत्ता हुँदासमेत सबैभन्दा धेरै लाभ उठाउनेमा उनै छन् ।
उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीकै चाहनाबमोजिम बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको महानिर्देशक कुमार दाहाललाई त्यहाँबाट हटाइएको थियो,त्यो पनि निजामती ऐन विपरित । निजामती सेवा नियमावलीमा एक बर्षभन्दा कम जागिर अवधि नभएका कर्मचारीलाई कार्यरत कार्यालयबाट सरुवा गर्न पाइँदैन । यो नियम दाहालको हकमा लागू हुन सकेन । केही ब्यापारीक पृष्ठभूमिका बिचौलियाहरुको चाहनाअनुसार कुमार दाहाललाई फालिएको थियो भने त्यहाँ रोशन ज्ञवालीलाई पठाइएको थियो ।कुमारलाई एकातिर ऐन विपरित,अर्काेतिर अर्काेतिर उपभोक्ताहरुको चाह विपरित हठात हटाइएको थियो,केही व्यापारी र विचौलियाहरुको प्रभावमा परेर । यसमा सबैभन्दा बढी कमल मालपानी लगायतका व्यापारीहरुको ठूलो भूमिका रह्यो । तिनै विवादित र बदनाम व्यापारीको स्वार्थ अनुसार काम गर्ने कर्मचारी हुन ज्ञवाली ।
उपभोक्ताहरुको नजरमा सुधारवादी प्रशासकको रुपमा चिनिएका दाहाल कालोबजारी गर्ने र उपभोक्ता ठग्नेहरुका लागि भने आँखाको कसिंगर जस्तै बनेका थिए । उनलाई त्यहाँबाट हटाइएसँगै बदनाम व्यापारीहरु चैन भएको छ । यसमा उनै ज्ञवालीको भूमिका प्रमुख रहेको कर्मचारीहरु टिप्पणी गर्दछन् ।


























