आजदेखि अवकाशप्राप्त मुख्यसचिव एकनारायण अर्याललाई प्रधानमन्त्री सुशीला कार्कीले कलम र डायरी उपहार दिएर सरकारी सेवाबाट बिदा गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो आयोजित विशेष समारोहमा कार्कीले अर्यालको सुखमय अवकाशप्राप्त जीवनको कामना गर्दै उपहार प्रदान गर्नुभएको थियो ।
बिज्ञापन
२०४६ माघ ४ गते नायव सुब्बाबाट थालिएको निजामती यात्राबारे अनुभूति समेटिएको किताब लेख्न प्रधानमन्त्रीले अर्याललाई सल्लाह दिनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘उमेर छ,२२ २३ बर्ष सक्रिय हुन सकिन्छ । अहिलेलाई आनन्दसँग घर जानुहोला । पेन्सन पाइहालिन्छ । आफ्ना अनुभव संगालोको रुपमा पुस्तक लेख्नुहोला ।’
बिज्ञापन
सोही क्रममा उहाँले आफू पनि लामो समय पदमा नरहने बताउनुभएको थियो । आगामी फागुन २१ गतेको निर्वाचनपछि आफू पनि घरमा सीमित हुने जनाउँदै भन्नुभयो, ‘मेरो पनि कति छ र । चुनावपछि घर फर्किने हो । तपाइँ र मेरो घर नजिकै छ । एक दिन धापासीको घरमा बोलाएर आफैँले चिया बनाएर खुवाउँछु तपाइँलाई ।’
प्रधानमन्त्रीले बिदाई समारोहमा व्यक्त गर्नुभएको धारणाले अर्याललाई तत्काल सरकारी नियुक्ति दिने संकेत देखिँदैन । कार्यक्रममा सहभागी एकजना सचिवले भने, ‘प्रधानमन्त्रीले खरो खरो बोल्दै अवकाशपछि घरमै बस्ने हो, अन्त जाने होइन भनेर अरुलाई समेत सन्देश दिनुभयो ।’


























