अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्रालाई सिफारिस गरे पनि उनको नियुक्ति ‘होल्ड’ मा परेको छ । भारतमा जन्मिएकी र विवाहमार्फत अंगिकृत नेपाली नागरिक बनेकी मिश्राविरुद्ध भ्रष्टाचारका आरोप रहेकाले प्रधानमन्त्रीले उनको नाम फिर्ता लिने तयारी गरेकी हुन् ।
बिज्ञापन
बिज्ञापन
प्रधानमन्त्री कार्कीले आइतबार नै डा. मिश्राको नाम स्वास्थ्य मन्त्रीका रूपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध छानबिन चलिरहेको तथ्य खुलेपछि कार्कीले विवादित पात्रलाई मन्त्रिपरिषद्मा ल्याउन नमिल्ने ठहर गरेकी स्रोतले जनाएको छ ।
बिज्ञापन
डा. मिश्राले मन्त्री बन्ने अपेक्षामा आइतबार अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन् । तर, विवाद सतहमा आएपछि उनको मन्त्री बन्ने सम्भावना कमजोर बनेको छ ।
यसअघि स्वास्थ्य सचिवमा वरिष्ठता मिचिएको भन्दै असन्तुष्ट रहेकी मिश्राले करिब ६ महिना लामो बिदा बसिन् र सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी थिइन् । गत बिहीबार मात्र उनी मन्त्रालय फर्किएकी थिइन् ।
डा. मिश्राले विगतमा स्वास्थ्य सेवा विभागको महानिर्देशक, स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख, कोशी अस्पताल र स्त्री तथा प्रसूति रोग अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेकी थिइन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेकी उनी स्वास्थ्य सेवाकी १२औं तहकी वरिष्ठ अधिकारी हुन् ।
प्रधानमन्त्री कार्कीले आइतबार नै शिक्षा मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेललाई सिफारिस गरेकी थिइन् । तर, डा. मिश्राको सिफारिस विवादित बनेपछि मन्त्रिपरिषद् विस्तार स्थगित भएको थियो ।
आज दिउँसो २ बजे मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्ने तयारी भएको छ ।