काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नवनियुक्त मन्त्री कुलमान घिसिङलाई सोमबार मन्त्रालयको वर्तमान अवस्था र चुनौतीबारे विस्तृत जानकारी गराएका छन्।
बिज्ञापन
मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सचिव शर्माले जेन-जी आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षति, लाइसेन्स सफ्टवेयरमा देखिएको गम्भीर समस्या, कर्मचारी अभाव, र आगामी प्राथमिकताबारे मन्त्रीलाई ब्रिफिङ प्रस्तुत गरेका हुन्।
बिज्ञापन
शर्माका अनुसार, आन्दोलनका क्रममा सडक विभागको बबरमहलस्थित मुख्य भवन पूर्ण रूपमा नष्ट भएपछि अहिले चाकुपाटस्थित मेकानिकल ट्रेनिङ सेन्टरलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गरिएको छ। भक्तपुर, पोखरा, दाङ, विराटनगर र चलनिकापुरलगायतका जिल्ला कार्यालयमा समेत भवन र सवारी साधनमा क्षति पुगेको उनले बताए। “सडक विभागका मन्त्रीदेखि डीजीसम्मका सबै सवारी साधन नचल्ने अवस्थामा छन्, सयौँ गाडी, मोटरसाइकल र कागजातहरू जलेर नष्ट भएका छन्,” शर्माले बताए।
यातायात व्यवस्था विभागमा पनि भवन आधा भाग प्रयोग अयोग्य भएको र बाँकी भाग मर्मतपछि मात्र सञ्चालनमा ल्याउन सकिने स्थिति रहेको उनले जानकारी दिए। लाइसेन्स वितरणमा प्रयोग हुने सफ्टवेयर क्षतिग्रस्त हुनु मन्त्रालयका लागि सबैभन्दा ठूलो चुनौती भएको उनको भनाइ छ।
बिज्ञापन
रेल विभागमा भने भौतिक क्षति न्यून भए पनि नेपाल रेलवे कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको अभावले दैनिक सञ्चालनमा अवरोध आएको उल्लेख गरिएको छ।
यसैगरी, बाढी–पहिरोका कारण चीनसँग जोडिने अरनिको राजमार्गका ११३ किलोमिटर सडक र रसुवागढीको पुल बगाएको तथा बीपी राजमार्गसहित अन्य राजमार्ग र पुलहरूमा ठूलो क्षति पुगेको तथ्याङ्क पनि प्रस्तुत गरिएको छ।
शर्माले मन्त्रीलाई क्षतिग्रस्त कार्यालयहरूको वैकल्पिक कार्यस्थल तत्काल तयार गर्ने, चीन जोड्ने सडक र पुल पुनर्निर्माण गर्ने, लाइसेन्सको डेटा पुनःप्राप्त गर्ने र यातायात व्यवस्थापन सुधारलाई प्राथमिकतामा राख्न सुझाव दिए। दसैँअघि यातायात व्यवसायीहरूसँग बैठक गरी कार्ययोजना तयार पारिएको पनि उनले जानकारी गराए।
ब्रिफिङको अन्त्यमा सचिव शर्माले जनअपेक्षा अनुसार सेवा प्रवाह र सुशासन कायम गर्न मन्त्रालयका सम्पूर्ण कर्मचारीहरू नयाँ मन्त्रीलाई पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।