१. कर्मचारीको सरुवा एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसका बारेमा खासै चर्चा भइरहनु पर्ने होइन । तर नेपालमा सरकार परिवर्तन हुनासाथ वा मन्त्री बदलिनासाथ सरुवा आतंक नै शुरु हुन्छ र चर्चा पनि त्यति नै हुन्छ ।
२. सचिव, विभागीय प्रमुख, महाशाखा वा शाखा प्रमुख, कार्यालय प्रमुख र आयोजना प्रमुख जस्ता पदमा सरुवा गर्दा निकै चर्चा हुने गर्छ ।
विगत ४ वर्षमा यस्ता पदमा शायद सबैभन्दा बढी पटक सरुवा भए ।
अहिले पनि नयाँ सरकार बन्नासाथ यो क्रम शुरु भइसकेको छ ।
३. नेपालको निजामती सेवामा सबैभन्दा विस्तृत प्रक्रिया निर्धारण गरिएको प्रावधान सरुवा सम्बन्धी प्रावधान हो र सबैभन्दा बढी उल्लंघन हुने गरेको प्रावधान पनि यही हो ।
४. कर्मचारीको सरुवाको मुख्य उद्देश्य योग्य व्यक्ति उपयुक्त स्थानमा पदस्थापन गरी संगठनको कार्यमा प्रभावकारिता ल्याउनु हो । तर हाम्रोमा अधिकांशत नेता वा मन्त्रीको व्यक्तिगत चाहना पुरा गर्न कर्मचारी सरुवा गर्ने चलन विकास भएको छ ।
५. रमाइलो त के पनि छ भने यस्ता सरुवामा नेता तथा मन्त्रीले प्राय खराब कर्मचारी नै रोज्ने गरेको देखिन्छ ।
नेता वा मन्त्रीले खराब कर्मचारी नै किन रोज्छन् ?
(क) नेपालका सबै दलमा कर्मचारी व्यवस्थापन सम्बन्धमा कुनै नीति नै छैन र असल र खराब कर्मचारीको रेकर्ड राख्ने प्रचलन पनि छैन । आस्थाका आधारमा भने रेकर्ड राख्ने गरिएको हुन्छ भनिन्छ ।
(ख) अधिकांश नेता तथा कार्यकर्ताको संगत त्यस्ता कर्मचारीसँग हुन्छ जो कामचोर, भ्रष्ट र कम ज्ञान सीप भएको हुन्छ किन कि यस्ता कर्मचारी मात्र नेता तथा कार्यकर्ताकोमा धाएर उनिहरुलाई जसरी पनि आफुप्रति आकर्षण गराउन प्रयास गरिरहेका हुन्छन् । अधिकांश नेताहरुले यिनकै मात्र कुरा सुन्ने गरेको पाइन्छ ।
(ग) प्राय सबै भ्रष्ट कर्मचारीले मन्त्री, नेता तथा कार्यकर्तालाई चुनाव खर्च लगायत अन्य दैनिक खर्चमा सहयोग गरेका हुन्छन् । त्यस्ता राजनीतिककर्मीले सबै कर्मचारी यस्तै भ्रष्ट र हुने खाने हुन्छन् भन्ने धारणा बनाएका हुन्छन् ।
(घ) नेपालका राजनीतिक दलहरुले लोकतन्त्रमा प्रशासनयन्त्रको मर्म र भूमिका बारेमा स्पस्ट दृष्टिकोण बनाउन सकेका छैनन् जसले गर्दा हरेक राजनीतिक व्यक्तिले राजनीतिक सोच भन्दा पनि व्यक्तिगत सोचका आधारमा कर्मचारीका सम्बन्धमा आफ्नो धारणा बनाउने गर्छन् ।
(ङ) इमानदार र योग्य कर्मचारी नेता वा मन्त्रीहरुकोमा धाउँदैनन् र कानून विपरीत कुनै पनि किसिमको सहयोग गर्दैनन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ ।
(च) इमानदार र योग्य कर्मचारीले कानून र पद्धति नाघेर काम गर्दैनन् । नमिल्ने वा नहुने काम गर्न अस्वीकार गर्छन् । कानून र पद्धति मिचेर काम गराउन चाहने नेताहरु ती कर्मचारीप्रति नकारात्मक हुन्छन् । अधिकांश नेपाली नेता तथा मन्त्रीहरुमा कानुनका कुरा मन नपर्ने एक किसिमको दीर्घ रोग नै रहेको देखिन्छ ।
(छ) भ्रष्ट र कामचोर कर्मचारीहरुले इमान्दार कर्मचारीको बारेमा गलत सूचना नेता वा मन्त्रीहरुलाई दिइरहेका हुन्छन्। त्यसैले ती इमान्दार कर्मचारीप्रति नेता वा मन्त्रीहरुको धारणा नकारात्मक बनिसकेको हुन्छ ।
(ज) दलगत आस्थाका ट्रेड युनियन युनियनको सिफारिसलाई आधार मान्ने परिपाटी हावी भएकोले पनि खराब कर्मचारीको छनोट हुने गरेको हो ।
(झ) विगत १५ वर्षको अवधिको सरुवाको अवस्थाको विश्लेषण गर्दा कर्मचारीको सरुवामा विचौलियाहरु पनि सशक्त रुपमा प्रभावी बनेको पाइएको छ । विचौलियाहरुले खराब कर्मचारीसँग गठजोड (Nexus) नै बनाएका हुन्छन् । यस्ता विचौलियासँग राजनीतिक नेताहरुसँग पनि राम्रो सम्बन्ध रहेको हुन्छ जसले गर्दा मन्त्रीको प्राथमिकतामा प्राय खराब कर्मचारी पर्ने गरेको देखिन्छ ।
(ञ) आफ्नो मान्छेको संरक्षण र व्यवस्थापन गर्ने प्रवृत्तिले पनि खराबहरुको चंगुलमा नेता तथा मन्त्रीहरु पर्ने गरेको देखिन्छ ।
६. सरकारले देश र जनताको लागि काम गर्ने हो भने यी माथि उल्लेख भएका विकृतिजन्य अवस्थाबाट माथि उठ्न सक्नु पर्छ ।
हामी जनताले त केवल आशा गर्ने न हो !