काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संवैधानिक निकायका पदाधिकारी तथा न्यायाधीशहरूको सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्थामाथि प्रश्न उठाउँदै त्यस्ता विवरण सार्वजनिक गर्न सकिने कानुनी व्यवस्था गर्न माग गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसद न्यौपानेले पदाधिकारीलाई सुविधा दिने विषयसँगै उनीहरूको सम्पत्तिको पारदर्शितालाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने बताएका हुन्।
बिज्ञापन
उनले संवैधानिक नियुक्ति पाएका व्यक्ति र न्यायाधीशहरूको सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्थाले सार्वजनिक जवाफदेहितामाथि प्रश्न उठ्ने अवस्था सिर्जना गर्ने बताए। उनका अनुसार राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक नहुँदा उनीहरूको आर्थिक पारदर्शिता र सम्पत्तिको स्रोतबारे नागरिकले प्रश्न उठाउने अवसरसमेत कमजोर हुन्छ।
बिज्ञापन
न्यौपानेले पहुँच भएका व्यक्तिको सम्पत्ति विवरण गोप्य रहने तर पहुँच नभएका वा सर्वसाधारणको सम्पत्तिमाथि भने विभिन्न निकायबाट छानबिन हुने अवस्थाले सुशासनको अवधारणामाथि नै प्रश्न उठाउने बताए।
‘सुविधा दिने एउटा कुरा हो तर गोपनीयताको कुरा महत्वपूर्ण कुरा हो । यो देशमा सम्पत्ति गोप्य रहने अनि हेर्न नपाउने व्यवस्थाले सुशासन हुँदैन,’ उनले भने, ‘संवैधानिक नियुक्ति पाएकाहरूको सम्पत्ति गोप्य रहने, न्यायाधीशको सम्पत्ति गोप्य रहने तर पहुँच नहुनेको सम्पत्तिमाथि छानबिन हुने हो भने भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ ?’
उनले सम्पत्ति विवरणको पारदर्शितालाई सुशासन, जवाफदेहिता र जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने बताए। संवैधानिक निकायका पदाधिकारी तथा न्यायाधीशहरू सार्वजनिक जिम्मेवारीमा रहने भएकाले उनीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा आवश्यक कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
उनका अनुसार संवैधानिक नियुक्ति पाएका व्यक्ति र न्यायाधीशलाई राज्यले दिने सुविधा तथा सेवाका शर्तबारे कानुन बनाउँदा उनीहरूको आर्थिक पारदर्शिताको विषयलाई पनि सँगसँगै सम्बोधन गर्न आवश्यक छ।
बिज्ञापन
‘सुशासन भन्ने शब्दसँग सम्पत्ति जोडिन्छ,’ न्यौपानेले भने, ‘त्यही सम्पत्ति गोप्य राख्ने हो भने कसको राख्ने ? संवैधानिक नियुक्ति पाएका र न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक हुने कानुन हामीलाई चाहिन्छ।’उनले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था केवल व्यक्तिको सम्पत्तिको विषय नभई सार्वजनिक पदमा बसेका व्यक्तिको पारदर्शिता, जिम्मेवारी र जवाफदेहितासँग प्रत्यक्ष जोडिएको विषय भएको बताए।
























