सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल संघीय सरकारले सरुवा गरेको भनिए पनि अझै प्रदेशमै कार्यरत रहेको पाइएको छ । संघीय सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव हमाललाई राष्ट्रिय महिला आयोग, काठमाडौंमा सचिवका रूपमा सरुवा गरेको थियो । काली पराजुली सचिवमा बढुवा भएसँगै सो स्थानमा हमाललाई खटाइएको भए पनि उनले रमाना बुझ्न नमानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । मन्त्रिपरिषद्को निर्णयपछि उनको सरुवा भएको दाबी गरिए पनि प्रदेश सरकारलाई भने यसबारे औपचारिक जानकारी प्राप्त नभएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
बिज्ञापन
संघीय सरकारले पूर्वाधार विकास मन्त्रालयका सहसचिव बलराम रिजाललाई सुदूरपश्चिम प्रदेशको प्रदेश सचिवका रूपमा कामकाजमा खटाएको छ । ०८३ असोज २ गतेको निर्णयअनुसार रिजाललाई सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको उल्लेख छ । रिजाल पनि अहिलेसम्म प्रदेशमा पुगिसकेका छैनन् । रिजाललाई काठमाडौंमै रोक्न र हमाललाई नै आर्थिक मामिला तथा योजना मन्त्रालयमा कायम राख्न चलखेल भइरहेको स्रोतको दाबी छ ।
बिज्ञापन
प्रदेश सरकारका अनुसार हमाल अहिले पनि आर्थिक मामिला तथा योजना मन्त्रालयमै कार्यरत छन्। उनी आगामी बजेट निर्माणसँग सम्बन्धित काममा समेत संलग्न भइरहेका छन्। प्रदेश सरकारले अन्य मन्त्रालयका सचिवको जिम्मेवारी भने हेरफेर गरिसकेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारीको सरुवा भएपछि पदमराज जोशीलाई जिम्मेवारी दिइएको छ। सामाजिक विकास मन्त्रालयमा पनि संगिता ओझालाई सचिवको जिम्मेवारी दिइएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयमा भने हमाल नै कायम छन्।
























