पूर्ववर्ती सरकार झैं रास्वपाको सरकार समेत मन्त्रीहरुका स्वकीयका कारण बदनाम हुन थालेको छ । सरकारी गाडीलाई निजी बनाएर चढ्ने,कर्मचारी सरुवामा अस्वाभाविक हस्तक्षेप गर्ने,सचिवहरुभन्दा माथि रहेर बुवाका उमेरका कर्मचारीहरुमाथि अभद्र व्यवहार गर्ने गतिविधिका कारण कतिपय मन्त्रीका स्वकीयहरु आलोचित छन् ।
यस्तै मन्त्रीका लागि भन्दै सरकारी गाडी मागेर सो सवारी नै दम्पच बनाइएको प्रकरणमा वन मन्त्रीका सचिवालय नै विवादमा मुछिरहेको समयमा श्रम मन्त्री रामजी रामको सचिवालय समेत विवादमा मुछिएको छ । सो मन्त्रालयको सचिवालयबाट छुट्टै संयन्त्र बनाएर अहिले म्यानपावरमा अनुगमन र कम्पनीमाथि धमाधम छापा मारिरहेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवको टोलीबाट छुट्टै संयन्त्र बनाएर अनुगमनका नाममा म्यानपावर व्यवसायीमाथि भैरहेको छापामार आक्रमणमाथि प्रश्न उठेको छ ।
बिज्ञापन
पछिल्लो समय श्रम मन्त्रीकै सचिवालय र राश्वपा कार्यकर्ता म्यानपावरमा छापा हान्न पुगेको घटनालाई श्रम क्षेत्रका जानकारहरुले रोजगार ऐनविपरित भएको बताएका छन् । श्रम मन्त्रालयको नेतृत्वमा रामजी यादव आएपछि उनको सचिवालयमा कार्यरत सरोज यादव श्रम मन्त्रालयकै कार्ड भिरेर म्यानपावरमा अनुमगन र छापा हान्न पुगेको बिषयले श्रम क्षेत्रमा हलचल पैदा भएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रीका स्वकीय यादवसँगै रास्वपाकै केही कार्यकर्तापनि म्यानपावरमा छापा हान्न पुगेको देखिन्छ । कुनै कानुनले नचिन्ने मन्त्रीको स्वकीय र उनका नातेदारहरुलाई वैदेशिक रोजगार व्यवसायीकहाँ पुगेर अनुमगन गर्ने अधिकार कुन कानुनले दिएको हो ? यो अख्तियारको दुरुपयोग हो वा होइन ? अहिले श्रमकै कर्मचारीहरुले प्रश्न उठाउन थालेका छन् ।
कानूनतः म्यानपावर कम्पनीमाथि अनुगमन गर्ने वैदेशिक रोजगार विभागले हो । यद्यपि, मन्त्रीका पीए टोलीले युट्युबर बोकेर म्यानपावरमा छापा मार्ने र कागजात उठाउने गरेको व्यवसायीको गुनासो छ । सो मन्त्रालयमा मन्त्रीकै सचिवालयमा जम्मो टिम समेत राखिएको छ । कानुनले नचिन्ने सो टिममा उनै सरोजका भाञ्जादेखि साथीसम्मलाई राखिएको छ । उपसचिव केशरबहादुर पण्डितलाई निजी पिएबाट हटाएर ओखलढुंगाको मोलुङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ओशो कर्णलाई भित्र्याइएको छ उनी मन्त्रीका बाल सखा रहेको बुझिएको छ । यसैबीच श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता पिताम्बर घिमिरे मन्त्रालयको टोलीबाट कुनै अनुगमन नभएको प्रतिक्रिया दिएका छन् ।
उता, वैदेशिक रोजगार विभागकी प्रवक्ता बिन्दा आचार्य उजुरी तथा गुनासोका आधारमा म्यानपावर कम्पनीमाथि नियमित अनुगमन भइरहेको प्रतिक्रिया दिएकी छिन् ।





























