रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले नाकाका प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारीलाई निलम्बन गरेको छ ।
यो प्रकरणमा जोडिएर गत जेठ २० गते रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई काठमाडौंस्थित भन्सार विभागमा तानिएको थियो । भन्सार विभागले बीवाईडी ब्रान्डका सयौं विद्युतीय गाडी आगामी आर्थिक वर्षको बजेटमार्फत कर वृद्धि हुने चर्चा चलिरहेका बेला अस्वाभाविक रूपमा भन्सार प्रणालीमा इन्ट्री भएको र केही गाडी भौतिक रूपमा नाकामा नपुग्दै जाँचपास प्रक्रिया सम्पन्न गरिएको भेटिएसँगै
भन्सार विभाग स्रोतका अनुसार रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, अधिकृत ठाकुर गौतम, भन्सार अधिकृत खड्ग बहादुर माझी, कम्प्युटर अधिकृत सबिना अधिकारी, कम्प्युटर अधिकृत प्रकाश पुडासैनी तथा नायब सुब्बा तेजबहादुर बलका अलवा भन्सार अधिकृत बुद्धि चुडाल तथा नासु लोकेन्द्र बम र सुनिल गौतमलाई विभागमा तानेको थियो । स्रोतहरूका अनुसार रसुवा भन्सार कार्यालयबाट दर्ता गरिएका प्रज्ञापनपत्र, गेटपास अभिलेख, सीसीटीभी फुटेज, यार्डमा रहेका सवारीसाधनको वास्तविक अवस्था तथा जाँचपास प्रक्रियाको विस्तृत अध्ययन भइरहेकाले सम्बन्धित कर्मचारीहरू अनुसन्धान गरिएको थियो । सो क्रममा एकै पटक उपसचिवसहित १३ जना कर्मचारी निलम्बनमा परेका हुन ।
रसुवा भन्सारमा १ उपसचिव,६ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा १ पद रिक्त नै रहेको थियो । यस्तै त्यहाँ नासु १८ जना ,कम्युटर अपरेटर समेतका कर्मचारी रहेकोमा एकै पटक १३ जना निलम्बनमा परेका हुन ।
बिज्ञापन
निजामती सेवा ऐनमा कुनै निजामती कर्मचारीको सम्बन्धमा दफा ६१ मा लेखिएको कुनै अभियोगको जाँचबुझ गर्नु परेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म उक्त कर्मचारीलाई सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन गर्न सक्ने व्यवस्था गरिएको छ । ती कर्मचारीहरुलाई निलम्बन नगरी ओहदाको काम गर्न दिँदा झुट्टा सबुत प्रमाण सङ्कलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबुत प्रमाण गायब गर्न सक्ने सम्भावना देखिएमा वा निलम्बन नगरी ओहदाको काम गर्न दिँदा सरकारी हानि नोक्सानी हुने सम्भावना देखिएमा त्यस्ता कर्मचारीलाई निलम्बन गर्न सक्ने व्यवस्था राखिएको छ । सोही व्यवस्था अनुसार,ती कर्मचारीलाई निलम्बन गरिएको जनाइएको छ ।



























