काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अकुत सम्पत्ति आर्जनको आरोपमा मुद्दा खेपेका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गाना रसुवा भन्सार कार्यालयको प्रमुखमा नियुक्त भएका छन्।
बिज्ञापन
अर्थ मन्त्रालयले जेठ १८ गते रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईलाई मन्त्रालयमा तानेर उनको स्थानमा ढुङ्गानालाई पठाएको हो। चीनसँगको प्रमुख व्यापारिक नाका मानिने रसुवा भन्सारलाई अत्यन्त संवेदनशील भन्सार कार्यालयका रूपमा हेरिने गरिन्छ।
ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ पुस १८ गते विशेष अदालतमा भ्रष्टाचार तथा गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो। आयोगले उनीविरुद्ध चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बराबरको बिगो कायम गरेको थियो। उक्त मुद्दामा उनकी पत्नी मधु कोइराला (ढुङ्गाना)लाई समेत प्रतिवादी बनाइएको थियो।
अख्तियारको दाबीअनुसार २०४९ साउन १९ गते सार्वजनिक सेवामा प्रवेश गरेका ढुङ्गानाले २०७५ असार मसान्तसम्म वैध रूपमा ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैसा मात्र आर्जन गरेका थिए। तर सोही अवधिमा उनको खर्च तथा लगानी पाँच करोड ४८ लाख तीन हजार ३५१ रुपैयाँ ५३ पैसा पुगेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको थियो।
बिज्ञापन
खर्च तथा लगानीको तुलनामा चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नसकेको भन्दै अख्तियारले उनले सार्वजनिक पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको, अमिल्दो तथा अस्वाभाविक उच्च जीवनशैली अपनाएको निष्कर्ष निकालेको थियो।
तर विशेष अदालतले २०८० वैशाख ८ गते ढुङ्गानालाई उक्त मुद्दाबाट पूर्ण सफाइ दिएको थियो। न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले प्रमाणका आधारमा उनीविरुद्धको आरोप पुष्टि नभएको ठहर गर्दै सफाइ दिएको थियो।
ढुङ्गाना यसअघि विराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदा अख्तियारको मुद्दामा परेका थिए। विशेष अदालतबाट सफाइ पाएपछि उनी वीरगञ्ज क्षेत्रमा कार्यरत थिए। पछिल्लो सरुवासँगै उनी रसुवा भन्सार जस्तो रणनीतिक तथा संवेदनशील नाकाको प्रमुख बन्न सफल भएका छन्।
यसैबीच, रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृत करवीर गैरे, महानिर्देशकका पिए गोविन्द अधिकारी र प्रेमप्रसाद सुवेदीलाई समेत पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ। उनीहरूको सरुवासम्बन्धी निर्णय आजै टुंगो लाग्न सक्ने बताइएको छ।
रसुवा भन्सारमा पछिल्लो नियुक्तिलाई लिएर प्रशासनिक तथा राजस्व वृत्तमा विभिन्न टिप्पणीहरू भइरहेका छन्। अख्तियारको मुद्दाबाट सफाइ पाए पनि विगतमा अकुत सम्पत्ति प्रकरणमा जोडिएको व्यक्ति पुनः संवेदनशील भन्सार कार्यालयको नेतृत्वमा पुग्नुले बहस सिर्जना गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अकुत सम्पत्ति आर्जनको आरोपमा मुद्दा खेपिसकेका तथा पछि विशेष अदालतबाट सफाइ पाएका उपसचिव राजेन्द्र ढुङ्गानालाई रसुवा भन्सार कार्यालयको प्रमुख बनाएर पठाइएपछि मन्त्रालयको निर्णयमाथि प्रश्न उठ्न थालेको छ। चीनसँग जोडिएको प्रमुख व्यापारिक नाका तथा संवेदनशील भन्सार कार्यालयको नेतृत्वमा विगतमा भ्रष्टाचार मुद्दामा मुछिएका अधिकारीलाई पठाइएको भन्दै विभिन्न तहमा चासो व्यक्त गरिएको छ।
आलोचकहरूले सुशासन र पारदर्शिताको पक्षमा प्रतिबद्धता जनाउँदै आएको वर्तमान सरकार तथा अर्थ मन्त्रालयले नियुक्ति गर्दा सम्बन्धित अधिकारीको विगत र सार्वजनिक धारणा समेत ख्याल गर्नुपर्ने तर्क गरेका छन्। यद्यपि ढुङ्गाना विशेष अदालतबाट सफाइ प्राप्त अधिकारी भएकाले कानुनी रूपमा उनी सार्वजनिक जिम्मेवारी सम्हाल्न योग्य रहेको पक्ष पनि उत्तिकै बलियो छ।
अर्थ मन्त्रालयले भने सरुवाको औपचारिक कारण सार्वजनिक गरेको छैन। अर्थमन्त्री स्वर्णिम वाग्ले नेतृत्वको मन्त्रालयले गरेको उक्त निर्णयलाई लिएर प्रशासनिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन्।


































