देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर आएको चर्चा परिचर्चा भइरहेको बेला निर्वाचनको मुखैमा संस्थापक नेताहरूले एकपछि अर्को गरी पार्टी छाड्ने क्रम तीव्र बनेको छ ।
बिज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार हेटौँडा जाँदै थिए,चुनावी सभालाई सम्बोधन गर्न । सभापति लामिछाने मकवानपुर जान लागेकै दिनमा रास्वपा मकवानपुरका सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गरेका छन्। विगत केही बर्षदेखि रास्वपामा सक्रिय उनको भाग खोसेर बालेन साह निकटका प्रशान्त उप्रेतीलाई टिकट दिएपछि पराजुली असन्तुष्ट बनेका थिए।
उसो त हिजैमात्र रास्वपा नुवाकोटका नेताहरुले सो पार्टी परित्याग गरेका छन् । रास्वपाका सुमन पाण्डेदेखि दिनेश अचार्यसम्मले सो पार्टी परित्याग गरिसकेका छन् । रास्वपाका वित्त विभागका सदस्य आचार्यले महानमन्त्रीलाई सम्बोधन गर्दै शनिबार साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।
यस अघि यस्तै मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले फागुन ६ गते रास्वपा परित्याग गरिन् । शर्माले पूर्ववर्ती पार्टीलाई ‘दागैदाग भएका बिगबिगी’ भएको टिप्पणीसमेत गरिन् । यस्तै गत माघ २९ गते रास्वपाका नेता डा प्रणयशमशेर राणाले पार्टी परित्याग गरेर काँग्रेस पसेका छन् । यस्तै वाग्मती प्रदेश उपसभापति दिनेश हुमागाईंले फागुन ७ गते पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरे । यस्तै हालैमात्रसो पार्टीको प्रभावशाली नेतृ खेमकुमारी भुर्तेल (उर्मिला) ले नेतृत्वको कार्यशैली र टिकट वितरणमा भएको मनोमानीप्रति चर्को आलोचना गर्दै पार्टी परित्याग गरेकी छिन् ।
बिज्ञापन
उसो त यही सातामात्र रास्वपा नुवाकोटका नेता अशोककुमार थापाले पनि फागुन ९ गते पार्टीका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् । यस्तै,बर्दघाट नगरपालिका–१३ का सभापति जीतबहादुर हरिजन पनि रास्वपाबाट बाहिरिएका छन् ।
यस्तै रास्वपा छाड्नेहरुमा धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति इश्वरी बिष्ट, रास्वपा बाराका संगठन विभाग प्रमुख पवन चौधरी लगायत रहेका छन् । उसो त केही अगाडि मात्र पूर्व मन्त्री सुमना श्रेष्ठ र सन्तोष परियारले पनि असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए ।


























