‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

अहिले आएका नयाँ पार्टीहरूलाई वैकल्पिक राजनीति मान्दिन । यी वैकल्पिक दल होइनन् । कसैले कुनै नयाँ पार्टी बनाउँदैमा त्यो वैकल्पिक राजनीति भइहाल्छ र ? कुलमान घिसिङ्गले उज्यालो नेपाल पार्टी,हर्क साम्पाङ्ग श्रम संष्कृति, रवि लामिछाने र वालेन साहहरुले रास्वपा पार्टी बनाउँदैमा वैकल्पिक राजनीति भयो भन्ने खालको आम बुझाइ हो । त्यो बिल्कुलै सतही बुझाइ भयो । वैकल्पिक राजनीतिको बहस संसारमा कुन विन्दुमा, कहाँबाट, कसरी सुरु भएको थियो ? त्यसको मर्म, मुद्दा, भावना, त्यसले खोजेको अभ्यास के थियो भन्ने कुरा नबुझिकन पूराना पार्टीहरूसँग रिस उठ्यो् । अब पूराना पार्टी र नेताहरूलाई हराइदिनुपर्दछ । उनीहरुसँग बदला लिनुपर्छ र तिनको स्थानमा हामी आउनुपर्छ र नयाँ दल आएपछि गर्ने काम उस्तै हो भने म यसलाई वैकल्पिक राजनीति मान्दिनँ । वैकल्पिक राजनीति भनेको रिभेन्जको राजनीति होइन । यो त रिफर्म र रिकन्स्ट्रक्सनको राजनीति हो । त्यसैले, यदि कोही वैकल्पिक राजनीति गर्दछु भनेर आउँछ भने उसले यो संविधान,शासकीय स्वरूप,निर्वाचन प्रणालीमा विकल्प के हो ? दिन सक्नुपर्दछ । वैकल्पिक राजनीति गर्नेहरुले उम्मेदवारी दिने प्रचलनदेखि भावी प्रधानमन्त्री वा राष्ट्रपति छनोट गर्दाखेरीको प्रोसेसमा विकल्प दिनसक्नुपर्दछ । कुनै नेतामाथि ठगी, अनैतिक आरोपहरू लागे, गैरकानुनी काम गरेको आरोपहरू लाग्यो भने, तपाईंले प्रस्तुत गर्ने संस्कार, संस्कृति के हो ? अर्थतन्त्रको पुनर्संरचना कसरी गर्नुहुन्छ ? पूराना भनिएका दलहरुभन्दा तपाईको फरक सोच र शैली, योजना के के छन् ? प्रशासनमा तपाईहरूले गर्ने के हो ? सुशासनका आधारहरू के हुन् ? सुशासन हुनका लागि कुन–कुन कुराहरूमा कल्चरल्ली अथवा सांस्कृतिक हिसाबले, प्रशासनिक हिसाबले, के सुधार हुनुपर्छ ? संस्थागत हिसाबले के सुधार हुनुपर्छ ? अन्तर्राष्ट्रिय सम्बन्ध अहिलेसम्म हामी जस्तो गर्दै आइरहेका छौं, त्योभन्दा फरक प्रकारको हुन सक्छ कि सक्दैन भनेर यावत् अँ समाज व्यवस्था, राजनीति र प्रशासन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूमा तपाईंले विकल्प प्रस्तुत गर्नुलाई मैले वैकल्पिक राजनीति भन्छु । त्यस हिसाबले हेर्दाखेरि नेपालको कुनै पनि नयाँ दल जो अहिले चर्चामा छन्, तिनीहरूले चाहिँ वैकल्पिक राजनीतिको मूल्य मान्यतालाई आत्मसात गरेको मैले देखिरहेको छैन ।

बिज्ञापन

उदाहरणका लागि, रास्वपा भन्ने दल हिजो नो नट एगेन भनेर चुनावमा होमिएको होइन ? अब चुनावमा आएर उनीहरु पनि पूरानै दलहरूसँग मिलेर दुई–दुई चोटी सरकारमा गयो । प्रतिपक्षी भूमिका निर्वाह नगर्दा संसदको ठूलो चौथो पार्टी भएको बेला, देशमा जेन्जी विद्रोह भएको हो । उहाँहरुले के वैकल्पिक राजनीति प्रस्तुत गर्नुभयो त ? उही पूरानैको भागबन्डामा, सिन्डिकेट । पात्र नयाँ न भयो । बोतल नयाँ, रक्सी पूरानै भनेझैं भएन ? जब नयाँ र पूराना दल नै सिन्डिकेटको पाटर्नरका रुपमा प्रस्तुत हुन्छन् भने ती दल कसरी बैकल्पिक ? सोही पार्टीका सभापति रवि लामिछानेमाथि दोहोरो नागरिकताको मुद्दा अदालतबाट प्रमाणीत भएको हैन र ? अर्काेतिर जेल ब्रेकलाई नेपालको कानुनले अपराध मान्छ । जेलबाट भाग्ने कैदीलाई कानुन अनुसार,थप साढे तीन वर्ष कैद सजायको व्यवस्था छ कानुनमा । एउटा होइन पाँच पाँच वटा अदालतमा सहकारी ठगीको मुद्धा चल्छ । हरेक अदालतले करोड भन्दा कम धरौटी मागेको छैन । त्यो धरौटी जुटाएको स्रोत के हो ? यस्ता बिषय नैतिक प्रश्नका बिषय भएन ? अझैं अहिलेको अन्तरिम सरकारलाई प्रभावित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मद्धा फिर्ता लिन लगाइरहनु भएको छ । यी सबै कुराले कुन नैैतिक राजनीति र वैकल्पिक राजनीति भन्न सकिन्छ र ?

बिज्ञापन

वैकल्पिक राजनीति त मूल्य प्रणालीमा आधारित हुन्छ । उसैगरी काठमाडौंका मेयर वालेन साहलाई अहिले भावी प्रधानमन्त्री घोषणा गरिएको छ । यसरी भावी प्रधानमन्त्री घोषणा गरिँदा के उहाँहरूले चाहिँ आफ्नो पार्टी मेम्बरहरूबाट प्राइमरी इलेक्सन गर्नुभयो त? जस्तो अमेरिकाको राष्ट्रपति छनोट गर्दा हरेक दलले आफ्नो पार्टी मेम्बरहरूबाट प्राइमरी गरेर जितेर आएको मात्रै राष्ट्रपति को क्यान्डिडेट हुन्छ । अर्थात उहाँहरुले प्राइमरी इलेक्सन गरेर समानुपातिकको नाम टुग्याउने भन्नुभएको थियो तर रिजल्ट अनुसार गर्नुभयो त ? सुनेअनुसार, उहाँहरूले चाहिँ करिब साढे तीन लाख पार्टी सदस्य रहेका छन् । त्यसमध्ये २७ हजारले भोटिङ गरे । यसको अर्थ त १० प्रतिशतले पनि भोटिङ गरेनन्, हैन ? त्यही रिजल्टको पालना खै त उहाँहरुबाट भएको ? प्राइमरीमा सबैभन्दा धेरै मत ल्याउनेहरुकै नाम सूचीबाट हटाइयो । यी सब चिजले त कुनै नयाँ पोलिटिकल प्राटिक्सको संकेत नै गर्दैनन् र त्यो वैकल्पिक राजनीति होइन ।

खासमा वैकल्पिक राजनीतिको बहस चाहिँ नेपालमा भयो । यस बारेमा मैले लेख्न,बोल्न थालेको सन् २००० तिरबाट हो तर यसको अभ्यास गर्ने दल चाहिँ नेपालमा आएन र, एकपछि अर्को धोकाबाजीमात्र भयो । शुरुमा विवेकशील साझा भन्ने एउटा पार्टी आयो। त्यसको नेता रबिन्द्र मिश्रले धोकाबाजी अहिले राजावादी तिर लाग्नुभएको छ । माओवादी छाडेर वावुराम भट्टराईले नयाँ शक्ति पार्टी जन्माउनुभयो । उहाँले पनि धोकाबाजी गरेर, कहिले त्यसलाई फोरममा मिसाइदिनुभयो, कहिले प्रचण्डलाई चाहिँ संसारकै म भन्दा राम्रो नेता भनेर गोर्खा लिएर जानु भयो । केही अगाडिसम्म जेन्जी आन्दोलनको दोषी ओली हो भन्दै हुनुहुन्थ्यो। अहिले ओलीसँगै उहाँको सानो पार्टीले गठबन्धन गरेको छ । त्यस पछि वैकल्पिक हुँ भन्दै रास्वपा आयो । स्वार्थका द्धन्द हुने गरी मन्त्रालय लिएको हामीले देख्यौं, भोग्यौं । मिडियासँगको प्रतिशोध पनि हामीले देख्यौं, हैन ? यी सबै चरित्र हेर्दाखेरि म चाहिँ नेपालमा वास्तविक वैकल्पिक राजनीतिको सुरु नै भएको छैन भन्ने लाग्छ । वैकल्पिक राजनीति भनेको हिरोइज्म होइन । त्यो इन्स्टिट्यूसनलिजम हो । कुनै एउटा मान्छेको अलिकति नाम चल्यो । अलि अलि हल्ली खल्ली गर्ने सक्ने छ भने सबैले उसैको पूजा गर्नुपर्ने, जयजयकार गर्नुपर्ने । यो वैकल्पिक राजनीति होइन । हाई रवि–बालेन–कुलमान–हर्क, हाई बाबुराम, हाई रबिन्द्र मिश्र भन्दिनुपर्ने ? अनि, साराका मान्छेहरू चाहिँ अन्धभक्त, नोकर चाकर जस्तो भएर उनीहरूको पछि लाग्नुपर्ने ? तिनको अनैतिक कामहरूको डिफेन्स गर्नुनहुने ? यी कुनै पनि कल्चर वैकल्पिक राजनीति होइन ।

बिज्ञापन

नेपालको राजनीतिमा हरेक दशकमा एउटा ह्विम चल्छ । त्यो भावनात्मक हुन्छ । हाम्रो क्यारेक्टर,एकदमै इमोसनल देखिन्छ । हामी विवेकसंवत,तर्क संगतमा अलि कम विश्वास राख्छौं । ज्ञानप्रति हाम्रो घृणा छ । ज्ञान विज्ञानको आधारमा संसारले विकास ग¥र्यो । कुनै राष्ट्र वा समाजले उन्नति गर्नका लागि ज्ञान,बिज्ञानमा विश्वास गर्नुपर्छ र विवेक सम्मत निर्णय गर्नुपर्दछ । जुन समाजले ज्ञान, विज्ञान र विवेकमा विश्वास गर्दैन । सतही सूचनाका भरमा भावनात्मक र आवेगात्मक निर्णय गर्छ । उक्त समाज एक पछाडि अर्काे दुर्घटनामा पर्छ । अहिले पूरानाहरूलाई रेभेन्स गर्नु पर्छ भन्नेसम्म कुरा ठिकै होला । यस अर्थमा घण्टीलाई भोट दिनुपर्छ भन्ने लजिक पनि ठिकै होला तर नेपालको राजनीतिक समस्याहरूको सहि समाधान यही हो भन्ने लाग्दैन । कथं उहाँहरू जितेर आउनुभयो भने पनि हाम्रो अर्काे एक दशक उसैगरी खेर जान्छ जसरी हिजो ओली प्रचण्ड देउवाहरुको उदयले हाम्रो दशकौं खेर गयो । अबको ८–१० वर्षपछि फेरि देशमा एउटा ठुलो आन्दोलन, विद्रोह र क्रान्ति हुन्छ, रवि वालेनहरुकै विरुद्ध । इमोसनल पोलिटिक्स र इमोसनल ब्लाकमेलिङको पोलिटिक्स हामीलाई चाहिएको होइन । भावनात्मक, आवेगात्मक राजनीति र भावनात्मक शोषण दोहन गर्ने राजनीतिबाट हामी बाहिर निस्किएर, ज्ञान, विज्ञान र विवेक सम्मत पद्धतिहरूको, बिधिहरू तथा, सिस्टममा सुधार चाहिएको हो । जबसम्म हामी रिफर्म, रिकन्सट्रक्सनमा विश्वास गर्दैनौं तबसम्म जुनसुकै पार्टी जितेर आए पनि केही पनि हुँदैन, जोसुकै प्रधानमन्त्री भएर आए पनि केही पनि हुँदैन । हिजो संविधानजारी हुँदा,चुच्चे नक्सा जारी हुँदा,चुच्चे रेल आउँछ,घर घरमा पाइपबाट ग्यास आउँछ । चुच्चे रेल आउँछ भन्दा आइ लभ यू केपीबा भन्नेहरू कति थिए ? त्यो पपुलारिटी । अहिले कहाँ पुग्यो ? अहिले रवि,वालेन,कुलमान,हर्क लगायत जो जो पपुलारिटीको राजनीति गर्दैछन् त्यसले कालान्तरमा दिने उही निराशा हो ।

अहिले जो जो रवि वालेनहरुको पछि कुदेका छन् अबको १–२ वर्ष अर्थात २–३ वर्षपछि उनीहरुकै विरोध गर्न थाल्छन । केही गर्न सकेन भन्छन् । ठूलो अनुपातमा हाम्रो इमोसनल सोसाइटी भएको हुनाले हावा,ह्विमकै पछाडि कुदिरहेका छौं । हावामा किन कुदिरहेका छौं । परिणाम कस्तो आउँला पनि विश्लेषण गर्दनौं । एक दिन ठूलो भड्खालोमा पर्छौँ, दुर्घटनामा पर्छौँ, अर्को एउटा घटनामा फस्छौँ । बल्ल आँखा खुल्छ र पछुताउँछौं २‑४ दिनलाई बुद्धि फुक्छ फेरि उही पारा । उदहारणका लागि भुकम्पपछिको एक दुई महिनालाई सम्झौं । त्यसपछि हाम्रो सोसाइटीको ट्रेन्ड त्यहि भएको हुनाले नेपाली समाज चाहिँ एउटा दिगो शान्ति, स्थायित्व, आर्थिक विस्वास, सुशासन, समृद्धिको बाटोमा सही ढंगबाट हिड्छ भन्नेमा म चाहिँ आशाबादी छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

सरकारी कोषमा खर्बाै रकम,उदेश्य एउटा अन्यत्रै खर्च

आजदेखि दल र उमेद्धारले चुनाव प्रचार प्रसार गर्न पाउने

गोली प्रहार गरी सब इन्जिनियर यादवको हत्या

४४ वर्षदेखि नेमकिपामा राज, भक्तपुर १ चुनावी गढ : घोषणापत्रमा के छ खास ?

अनुदान कटौतीपछि स्थानीय तहका दुई ठूला संगठनको आन्दोलनमा उत्रने चेतावनी

प्रलोपाको घोषणापत्र : निजामती सेवाको पुनसंरचना,दलीय ट्रेड युनियन खारेज

बिशेष