नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रसुवाबाट प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएपछि जिल्लाको राजनीतिक वृत्तमा विवाद चर्किएको छ। वर्षैपिच्छे फरक–फरक पार्टी फेर्दै आएको आरोप लाग्दै आएका तामाङलाई उम्मेदवार बनाइएको भन्दै एमालेभित्र र बाहिर दुवैतर्फ प्रश्न उठ्न थालेका छन्।
बिज्ञापन
एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा एमालेले तामाङलाई उम्मेदवार बनाएसँगै उनको विगतको राजनीतिक यात्रालाई लिएर बहस सुरु भएको हो। तामाङ यसअघि तत्कालीन माओवादी केन्द्र, नयाँ शक्ति नेपाल, जनता समाजवादी पार्टी हुँदै नेपाली कांग्रेससम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा नयाँ शक्ति नेपालबाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका उनी त्यसबेला बाबुराम भट्टराई नेतृत्वको टिममा रहेका थिए।
प्रदेशसभा सदस्य रहँदै गर्दा तामाङ जसपाबाटै कांग्रेसको क्रियाशील सदस्य बनेको तथ्य सार्वजनिक भइसकेको छ। उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भई मतदानमा समेत सहभागी भएका थिए भने २०७८ मा सम्पन्न कांग्रेस बागमती प्रदेश समितिको निर्वाचनमा पनि सहभागी भएका थिए। तर २०७९ मा कार्यकाल सकिएपछि अवसर नपाएपछि उनले कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए।
एमाले प्रवेश गरेको छोटो समयमै तामाङ पार्टी अध्यक्ष केपी शर्मा ओली निकट क्याम्पबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। यही पृष्ठभूमिमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उनलाई उम्मेदवार बनाइएको हो।
बिज्ञापन
तामाङको उम्मेदवारीप्रति संविधानसभा सदस्य जनार्दन ढकाल ले सामाजिक सञ्जाल फेसबुकमार्फत तीव्र व्यङ्ग्य गरेका छन्। उनले विभिन्न निर्वाचनमा तामाङले माओवादी, नयाँ शक्ति, कांग्रेस हुँदै एमालेसम्म गरेको राजनीतिक यात्राको सूची सार्वजनिक गर्दै “कहिल्यै सूर्य चिन्हमा भोट नहालेका व्यक्तिलाई एमालेले उम्मेदवार बनाएमा अचम्म नमान्न” टिप्पणी गरेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ। रसुवामा एमालेको उम्मेदवार छनोटलाई लिएर उठेको यो विवादले चुनावी माहोल थप तातिने संकेत देखिएको छ।


























