दुई प्रमुख भन्सार कार्यालयको राजश्व असुलीमा गिरावट आएको भन्दै भन्सार विभागले त्यहाँका कार्यलय प्रमुखको कार्यक्षमता माथि प्रश्न उठाउँदै आएको छ । भन्सार छली र चोरी पैठारीका क्रियाकलाप बढ्दै गएको, भन्सार कर्मचारी र एजेण्टकै मिलेमतोमा दैनिकजसो भन्सार छली हुँदा अपेक्षित र लक्ष्य अनुसार राजश्व अंकलन हुन नसकेको आँकलन भन्सार विभागका अधिकारीहरुले गर्न थालेका छन् । यसरी भन्सार छलीको घटना बढेको र राजश्व चुहावट भएको भन्दै विभागले चासो राखेको भन्सार कार्यालयहरु हुन भैरहवा र रसुवा ।
बिज्ञापन
भैरहवा भन्सार दोश्रो ठूलो भन्सार कार्यालय हो । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आठ महिनामा लक्ष्यको ५५ प्रतिशतमात्र राजश्व संकलन गर्न सकेको छ उक्त कार्यालयले । अवको तीन महिनामा लक्ष्य भेट्न थप ४५ प्रतिशत राजश्व संकलन गर्नुपर्ने छ,भैरहवा भन्सारले । उपसचिव रामप्रसाद रेग्मी राजश्व प्रशासनमा दाम र नाम दुबै मज्जाले कमाउन सफल कर्मचारी हुन । उनी अहिले त्यहाँका प्रमुख छन् । जागिरे जीवनमा अधिकांश समयमा मालदार मानिएका कार्यलय बसिरहेका उनी जहाँ र जुन कार्यालयमा पुग्छन्,त्यही विवादमा मुछिन्छन् । पछिल्लो समय उनको कार्यसम्पादनमा खोट देखिएको भन्दै आलोचना हुन थालेको छ । उनीमाथि कारवाहीको डण्डा बर्सिनुपर्ने थियो तर उल्टै पुरस्कृत गरिँदै आएको छ । यस अघि रसुवा भन्सारमा हुँदा उनी बदमासीमा मुछिए,उनीमाथि कारवाहीको डण्डा बर्सनुपर्नेमा उल्टै पुरस्कृत गरिँदै आएको छ । जस्तो : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी ल्याइएका सामानसहित (२ वटा ट्रक) कन्टेनर बरामद गरेपछि रसुवा भन्सार कार्यालयका प्रमुख रेग्मी छानबिनमा तानिए । रेग्मीले एउटा सामान ल्याए पनि ब्यापारीसँग सेटिङ गरी अर्कै सामान ल्याएको घोषणा गरेका ट्रक राजस्वले बरामद गरेको थियो । ट्रकमा पाइन्ट ल्याइएको भए पनि भन्सार कार्यालयका प्रमुख रेग्मीले ट्राउजर घोषणा गरेका थिए । पाइन्ट महंगो हुने भएकाले भन्सार महसुल बढी तिर्नुपर्छ, ट्राउजर सस्तो भएकाले कम तिर्नुपर्छ । पाइन्ट र ट्राउजरको मूल्यमा भारी अन्तर हुन्छ । यसरी रसुवा भन्सारको प्रमुख हुँदा बदमासीमा मुछिएर तानिएका रेग्मीलाई हुनुपर्ने थियो कारवाही तर अर्को आकर्षक मेचीनगर भन्सार कार्यालयको जिम्मेवारी दिएर पठाइयो ।
बिज्ञापन
झापास्थित मेचीनगर भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकलाई रसुवा पठाएर झापास्थित मेचीनगर भन्सारमा खटाइएको थियो रेग्मीलाई । व्यवसायीहरुको स्वार्थ र योजना अनुसार रसुवा र मेची भन्सारका प्रमुखहरु साटफेर भएका थिए । त्यहाँ पुगेको केही महिना नपुग्दै उनीविरुद्ध एउटा उजुरी पुग्यो प्रधानमन्त्री कार्यालयमा । उक्त कार्यालयका कर्मचारीहरुले दैनिक रुपमा अवैद्य शीर्षकमा लाखौं रकम घुस असुल गरिरहेको, कानुनले नचिन्ने कर्मचारी कोष र जाँचकी कोष शीर्षकमा दैनिक तीन लाखसम्म नजराना असुल्ने गरेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको थियो ।
भन्सारसँग सम्बन्धित कुनै ऐन,कानुन,नियम,नियमावलीले नचिन्ने जाँचकी कोष र कर्मचारी कोष शीर्षकमा दैनिक घटीमा एक लाखदेखि बढीमा तीन लाखसम्म असुली गरिने र सो रकम कर्मचारीहरुबीच नै भागबण्डा हुने गरेको भन्दै उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयममा परेको थियो । उसो त रेग्मीमाथि लोकमान सिंह कार्की र दीपकुमार बस्न्यातसँग नजिक रहेर अकुत आर्जन गरेको भन्दै उनीमाथि तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरे हुँदा उनीविरुद्ध सम्पत्ति छानबिनसमेत भएको थियो । दीर्घ मैनाली निकट मानिएका उनको यो उजुरी पछि तामेलीमा हालियो । रेग्मी रसुवा,मेचीनगर हुँदै अहिले भैरहवा भन्सार पुगेका छन् । तर कार्यसम्पादन सन्तोषजनक छैन,उनको ।
बिज्ञापन
चालु आर्थिक बर्षको आठ महिनामा लक्ष्यको ५५ प्रतिशतमात्र राजश्व संकलन हुनुलाई विभागले उचित मानेको छैन । विभागका अनुसार गत साउनदेखि फागुनसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रूपैयाँ संकलन भएको छ । जबकी सो कार्यालयले एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रूपैयाँ असुल गर्ने लक्ष्य लिएको छ। यो गत गत आर्थिक बर्षभन्दा १० अर्ब घटाएर लक्ष्य निर्धारण गरिएको हो।
भन्सार र राजश्वका उच्च तहका कर्मचारीहरु,भन्सारमा हुने कमीकमजोरी र मिलिभगतबाट राजस्व अपचलन तथा चुहावट रोक्न कार्यालयले पर्याप्त पहलकदमी लिन नसकेको भन्दै रेग्मीको कार्यसम्पादन माथि नै प्रश्न उठाउन थालेका छन् । भन्सारबाट सूर्तीजन्य पाइप (भेप) बाट उठ्नुपर्ने अन्तःशुल्क छल्ने बद्नियतले खास फेबर देखाउँदै गोलमाल गर्ने प्रवृत्ति रहेको कर्मचारीहरु बताउँछन् ।
यता, रसुवा भन्सारका प्रमुखको कार्यसम्पादनमा समेत खोट देखिएको विभागका अधिकारीहरुले जनाएका छन् । भन्सार विभागले रसुवा र भैरहवा भन्सारबाट उठ्नु पर्ने जति राजश्व संकलन नभएको कारण उनीहरुको कार्यसम्पादनमा प्रश्न उठाउँदै आएको छ । यस्तै उत्तरी छिमेकी नाका रसुवा भन्सारबाट सन्तोषजनक राजश्व संकलन हुन नसकेको विभागका अधिकारीहरुले जनाएका छन् । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन महिनासम्म १९ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। फागुन महिनामा मात्र २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा १ अर्ब ९९ करोड मात्र राजस्व उठेको छ। रसुवा भन्सारले चालु आर्थिक वर्ष ३० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
पछिल्लो समय तस्करहरुले यो नाका प्रयोग गर्दै विद्युतीय चुरोट भेपको खुलेआम तस्करी गर्दै आएका छन् । अहिले रसुवा भन्सारको प्रमुखको कुर्सीमा छन् तुलसी भट्टराई । उनले पनि व्यापारी र विचौलियाहरुको संरक्षण गरिरहेको विभागले आंशका गरेको छ । नक्कली प्रज्ञापनपत्र बनाएर राजश्व छली हुने प्रमुख नाकाको रुपमा पर्न थालेको छ,रसुवा भन्सार ।यस्ता प्रकरणमा जोडिएर चालु आर्थिक बर्षमा मात्र तीन तीन पटक राजश्वले छापा हानेर यस्मा जोडिएका कर्मचारीहरु विभागदेखि मन्त्रालयमा तानिएका छन् तर कार्यालय प्रमुखलाई भने पानीमाथिको ओभानो बनाइदै आएको पाइन्छ ।