सिंहदरबारभित्रबाट महिला सचिवहरु सबैलाई निकालेर बाहिर पठाएको बर्तमान सरकारले एक सहसचिवको हकमा छोटै अवधिमा महत्वपूर्ण जिम्मेवारी दिएको छ । निजामती सेवामा कान्छी सहसचिवका रुपमा परिचित आरती न्यौपानेले सहसचिव भएको दुई महिनामै महत्वपूर्ण विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी हुन । केही महिना अगाडिमात्र ३१ बर्षकै उमेरमा सहसचिवमा नाम निकाल्न सफल भएकी उनै आरतीलाई किताबखानाको महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
बिज्ञापन
राष्ट्रिय किताबखानाका महानिर्देशकको भूमिकामा रहेर किताबखानाको सुधारका लागि यत्न गरिरहेका श्रवणकुमार पोखरेललाई सरुवा गरेर त्यहाँको उपमहानिर्देशक रहेकी न्यौपानेलाई किताबखानाको महानिर्देशको जिम्मेवारी दिइएको हो । हालैमात्र किताबखानाले तयार पारेको ओएनएम अनुसार १३८ दरबन्दी रहेको सो कार्यालयको ३२ दरबन्दी कटौतीमा परेको थियो । जहाँ दुइ सहसचिवमध्ये एक महानिर्देशक र अर्काे उपमहानिर्देशकको भूमिकामा रहँदै उपमहानिर्देशक पद नै खारेजीमा परेको थियो । अब संरचनागत पुनर्संरचनापछि किताबखानाको दरबन्दी १०६ मा सीमित पारिएको छ । यसअघि महानिर्देशक र उपमहानिर्देशक गरी सहसचिवका दुई दरबन्दी रहेकोमा उपमहानिर्देशकको पद कटौती गरी महानिर्देशकको एकमात्र सहसचिव पद कायम गरिएको छ।
बिज्ञापन
२०५१ साउन २० मा जन्मेकी आरती ०७५ सालमा प्रशासन सेवाको शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेकी हुन । निजामती सेवामा प्रवेश गरेपछि सुरूका करिब साढे तीन वर्ष उनले सूर्यविनायक नगरपालिकामा अधिकृतका रूपमा काम गरिन्। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब एक वर्ष काम गरिन्। सो समयमा उनका बुवा शिवराम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहसचिव थिए । आरती ०८० सालको उपसचिव हुन । र निजामती सेवामा पाइला राखेका सात बर्षमै उनी सहसचिव भएकी हुन । निजामती सेवाको विद्यमान कानुन अनुसार अधिकृत स्तरमा प्रवेश गरेको सात वर्षपछि मात्र सहसचिवका लागि प्रतिस्पर्धा गर्न पाइन्छ। सोही व्यवस्था अनुसार लोकसेवा भिडेर खुला प्रतिष्प्रर्धाबाट उनी सहसचिवमा नाम निकाल्न सफल भएको छोटो अवधिमै किताबखानाको महानिर्देशक बन्न सफल भएकी हुन । उनीसँगै सहसचिव भएकाहरुलाई स्थानीय तहतिर पठाइँदा आरतीलाई भने किताबखानाको महानिर्देशकको जिम्मेवारी दिइएको छ । विगतमा सिनियर सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिइदै आएको थियो ।
उनीसँगै सहसचिवमा नाम निकाल्न सफल भएका विजयकुमार शर्मालाई विराटनगर,टेकबहादुर वलीलाई हेटौंडा उपमहानगरपालिका,बसन्त बोहरालाई वीरगञ्ज महानगरपालिकामा खटाइँदा आरती न्यौपाने भूमि व्यवस्था तथा संघीय मामिला मन्त्रालयमै पदस्थापन हुन सफल भएकी थिइन । उनलाई लगतै किताबखानाको उपमहानिर्देशको जिम्मेवारी दिइएको थियो । दुई महिना पछि नै महानिर्देशक बनेकी न्यौपानेले अब १०६ कर्मचारीको नेतृत्व गर्नुका साथै लाखौं निजामती कर्मचारी, शिक्षक र प्रहरीको अभिलेख व्यवस्थापन, कर्मचारी सम्पत्ति विवरणको संरक्षण तथा कर्मचारी सूचना प्रणाली सञ्चालनको जिम्मेवारी सम्हाल्नेछिन्।






























