राहादानी सम्बन्धी कसूरमा मुद्दा लागेका परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई १० हजार धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। यस अघि भट्टराईविरूद्ध दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने दफा प्रयोग गरेर अभियोगपत्र दायर गरिएकोमा न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आदेश दिएसँगै सहसचिव भट्टराई रिहा भएका हुन्।
बिज्ञापन
१७ बर्ष अगाडि पाँच तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा ट्राभल डकुमेन्ट जारी गरेको अभियोगमा भट्टराईविरुद्ध राहदानी कसुरमा मुद्दा चलाइएको थियो । ०६६ मा परराष्ट्र मन्त्रालयबाट करिब पाँच सय ट्राभल डकुमेन्ट गायब बनाइएको प्रकरणमा गत माघमा सिआइबीले उनीसँग बयान लिएको थियो। त्यति वेला नै प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकामा सरकारी वकिलले ११ साउनमा मुद्दा दायर गरेको हो।
बिज्ञापन
गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा उनी उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । सोही आधारमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । तर पक्राउ परेको पर्सीपल्टै उनी १० हजार धरौटी बुझाएर छुटेका छन् ।






























