घुस खाने मुखलाई सरकारले छेक्दैन । यस्तै देखिएको छ,कर्मचारी वृत्तमा । चार बर्षदेखि बृद्धि नभएको कर्मचारीको तलब २१ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको थियो वालेन सरकारले । गत जेठ १५ बजेटमार्फत बृद्धि गरिएको नयाँ तलबमान साउन १ गतेदेखि कार्यन्वयनमा गएको छ । अब कर्मचारीको तलब न्यूनतम ४० हजारबाट अधिकतम १ लाखसम्म पुगेको छ । तर,तलब भत्ता बढ्दा समेत कर्मचारीहरुले घुस लिन छाडेका छैनन् ।
बिज्ञापन
अख्तियारले साउन महिना लागे यतामात्र पाँच कर्मचारीहरुलाई घुससहित रंगेहात घुस सहित नियन्त्रणमा लिएको छ । यसरी पक्राउ परेकोमा जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ मा कार्यरत वडा सचिव अजय कुमार साह लगायत रहेका छन् । साहले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग १० हजार रकम घुस/रिसवत लिइरहेको अवस्थामा अख्तियारले हालैमात्र पक्राउ परेका गरेको छ । अघिल्लो सातामा मात्र भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौ तुलाकान्त चौधरीसमेत सरकारी क्वार्टरबाट घुससहित अख्तियारको फन्दामा परेका छन् । यी दुईको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सेवाग्राहीबाट सात लाख पचास हजार रुपैयाँ लिइरहेको अवस्थामा सरकारी क्वार्टरबाटै रंगेहात पक्राउ परेका हुन ।
हालैमात्र काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैंठौ) उद्वब भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि सेवाग्राहीसँग एक्काइस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । यही अवधिमा अन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाँच लाख रुपैयाँ घुस लिइरहेको अबस्थामा पक्राउ परेका छन् । कर्मचारीको तलब बढे यताको ११ दिनमा मात्र पाँच जना कर्मचारीहरुलाई अख्तियारले रंगेहात नियन्त्रणमा लिएको छ ।
बिज्ञापन
भ्रष्टाचारविरुद्ध खरो उत्रिएको सरकारको रुपमा चर्चा कमाएको वालेन सरकार आए यतामात्र दर्जनौं कर्मचारीहरु घुससहित पक्राउ परेका छन् । नयाँ सरकार बने यता अख्तियारले भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुई लाख घुस रकमसहित नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । यस्तै गत चैत्र २७ मा वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित पक्राउ परेका थिए ।
यस्तै,सोही अवधिमा सुब्बा निरज परियार,नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख महेन्द्रकुमार दास १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिँदालिँदै पक्राउ गरेको थियो ।
बिज्ञापन
यस्तै सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब इन्जिनियर रविन श्रेष्ठ लगायतले सेवाग्राहीसँग ८५ हजार घुस सहित पक्राउ परेका छन् । सिंहदरबारको मुखै अगाडिबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको अनुगमन तथा निरीक्षण शाखाका प्राविधिक सहायक सञ्जय चौधरी ३० हजार रूपैयाँ घुससहित विभागकै परिसरबाट पक्राउ परेका छन् । उद्योग नवीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएका अबस्थामा चौधरी पक्राउ परेका थिए ।
रौतहट जिल्ला अदालत, गौरका डिठ्ठा लवकुमार सिंह ५० हजार रूपैयाँ घुससहित पक्राउ पर्दा सशस्त्र प्रहरी बल सुरक्षा बेस नक्टाझिज, धनुषाका सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी ४० हजार रूपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ । सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले सडकको अन्तिम भुक्तानी रोकेर बहत्तर हजार घुस लिँदा लिँदै पक्राउ परेका थिए । यस्तै कास्की प्रहरीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले सेवाग्राहीबाट पचास हजार घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन । यस्तै प्रहरी वृत्त मालीगाउँ, काठमाडौंका प्रहरी नायव निरीक्षक दिनेश राउत पनि २० हजार रूपैयाँ घुससहित यही बीचमा गहनापोखरीबाट पक्राउ परेका थिए,गत चैत्रमा ।
नयाँ सरकार बने यताको चार महिनामा १८ जना कर्मचारीहरु पक्राउ परेकामा तलब बढाइए यताका ११ दिनमा मात्र ५ कर्मचारी फन्दामा परेका अख्तियारको चार्ज सिर्ट खोतल्दा भेटिन्छ ।

























