बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले भ्रष्टाचार, अनियमितता र घुसखोरीविरुद्ध कठोर कदम चालिरहँदा कर्मचारीहरूको घुस लिने क्रम भने रोकिएको छैन । यही क्रममा ब्रेक लगाउन भन्दै मुख्यसचिवले कुनै कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पहिलो जिम्मेवार बनाउन भन्दै परिपत्र गरे तर परिपत्रको मसी नसुक्दै सिंहदरबारका गेटमै अगाडिबाट कर्मचारी घुससहित पक्राउ परे । यो बीचमा दर्जनौं कर्मचारीहरु घुससहित पक्राउ परिसकेका छन् ।
बिज्ञापन
अख्तियारले हिजोमात्र नापी कार्यालय चाबहिल, २ नम्बरका नापी टोलीका अमिन टोपजंग खत्री घुससहित पक्राउ परे । जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ। उनलाई जिल्ला काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकालवारीस्थित नापी कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो।
यस्तै गत जेठ ३० गतेमात्र अख्तियारले भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ४० हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । यस्तै गत जेठ १३ मा जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागू औषध मुद्दामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ५० हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएकोमा विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरेको छ ।
यस्तै अख्तियारले गत जेठ ९ मा जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी को क्रममा सेवाग्राहीबाट ७२ हजार घुस लिएको र स्रोत नखुलेको थप ८३ हजार १४५ रुपैंयासहित नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको छ अख्तियारले ।
नयाँ सरकार बने यतामात्र १२ कर्मचारी र दुई प्रहरीहरु अख्तियारको टोलीले रंगेहात समाएको छ । यही अवधिमा भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुई लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । जग्गा सरजमिन गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिएको भेटिएपछि अख्तियार विशेष अदालतमा पुगेको छ ।
यस्तै,गत चैत्र २७ मा वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै पक्राउ परे । अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित पक्राउ गरेरको थियो । मुख्य सचिवको परिपत्र अनुसार कार्यालय प्रमुखलाई कारवाहीको पहिलो भागिदार बनाउने हो भने मीरा आचार्य पहिलो भागिदार हुनेछिन् । यही अवधिमा सुब्बा निरज परियार,नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्रकुमार दास १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परे । अख्तियारको इटहरीबाट खटिएको टोलीले एक लाख ४० हजार घुस रकमसहित कंकालिनी नगरपालिका १ बाट नियन्त्रणमा लिएको थियो ।
बिज्ञापन
यस्तै,सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब इन्जिनियर रविन श्रेष्ठ लगायतले सेवाग्राहीसँग ८५ हजार घुस तथा रिसवत लिइसकेको टंगालबाट खटिई गएको टोलीले इन्जिनियर सुमन राईलाई ललितपुरबाट र आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब इन्जिनियर रविन श्रेष्ठलाई धनकुटा र भोजपुरबाट पक्राउ गरेको थियो गत चैत्रमै ।
यस्का अलवा सिंहदरबारको मुखै अगाडिबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको अनुगमन तथा निरीक्षण शाखाका प्राविधिक सहायक सञ्जय चौधरी ३० हजार रूपैयाँ घुससहित विभागकै परिसरबाट पक्राउ परेका छन् । उद्योग नवीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई चैत १६ गते रंगेहात पक्राउ गरेर विशेषमा मुद्धा लगेको थियो । मुख्य सचिवको परिपत्र अनुसार कारवाही हुने हो भने त्यहाँका कार्यालय प्रमुख तथा रैथाने सहसचिव मतिना वैद्य पहिलो कारवाहीको भागिदार हुनेछिन् । यस्तै यही अवधिमा रौतहट जिल्ला अदालत, गौरका डिठ्ठा लवकुमार सिंह ५० हजार रूपैयाँ घुससहित पक्राउ परे । अदालतको फैसलाबमोजिम जग्गाको दाखिला खारेज र फुकुवा गरिदिएबापत उनले घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई गत चैत १७ गते पक्राउ गरेको थियो ।
अख्तियारले सशस्त्र प्रहरी बल सुरक्षा बेस नक्टाझिज, धनुषाका सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी ४० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । कमला-ढल्केवर-बाग्मती सडक निर्माणका क्रममा माटो र ग्राभेल भर्ने गाडीलाई रोकेर दुःख दिई उनले उक्त रकम असुलेका थिए । अख्तियारको टोलीले उनलाई गत चैत २० गते पक्राउ गरेको थियो । प्रहरी वृत्त मालीगाउँ, काठमाडौंका प्रहरी नायव निरीक्षक दिनेश राउत पनि २० हजार रूपैयाँ घुससहित यही बीचमा गहनापोखरीबाट पक्राउ परेका थिए ।
मुख्य सचिवको परिपत्रको मसी नसुक्दै नासु,इन्जिनियर,सब इन्जिनियर,लेखा अधिकृतसहित १२ जना कर्मचारीहरुलाई अख्तियारले रंगेहात समाएको छ । अब यस्तो अबस्थामा परिपत्रमा उल्लेख गरिए अनुसार कार्यालय प्रमुखलाई प्रथम जिम्मेवारी बनाएर कारवाहीको डण्डा बर्साउन सकिन्छ ? त्यसो गर्दा प्रशासन संयन्त्रमा के सन्देश जान्छ ? प्रधानमन्त्री कार्यालयले भने कार्यालय प्रमुखलाई जिम्मेवार बनाउने उदेश्यले परिपत्र गरिएको उल्लेख गर्दै आवश्यकता हेरेर कार्यालय प्रमुखहरुलाई विभागीय कारबाही समेत हुन सक्ने चेतावनी दिएको भए पनि सो परिपत्रमै सीमित हुन पुगेको छ ।
गत चैत्रमा मुख्य सचिव सुमन अर्यालले कुनै पनि सरकारी कार्यालयमा हुने वा भएको अनियमितता वा भ्रष्टाचारजन्य कार्यमा प्रारम्भिक रूपमा कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउने भन्दै परिपत्र गरेका थिए । चैत १९ गते सबै मन्त्रालय, आयोग, कार्यालयलाई परिपत्र गर्दै उक्त कुरा उल्लेख गरेका थिए । सो परिपत्रको मसि नसुक्दै सुब्बा पक्राउ परेका हुन । सरकारले कुनै पनि मन्त्रालय, आयोग, विभाग, कार्यालय वा निकायमा भ्रष्टाचार वा अनियमितता भएमा सरकारले प्रारम्भिक रूपमा कार्यालय प्रमुखलाई जिम्मेवार बनाउने तयारी गरिरहँदा यहीबीचमा १२ कर्मचारी,तीन प्रहरी घुससहित पक्राउ परेका हुन ।






























