बजेट भाषणअघि नै करका दर हेरफेर हुने सूचना चुहिएपछि बीआईडीदेखि डिपल र काईय ब्रान्डलगायतले झण्डै २५ सय बढी बिजुली गाडी (ईभी) भित्रिएको खुलेको छ ।
बिज्ञापन
बीवाइडीले कोरला नाकाबाट भित्र्याएको ७ सय ७४ वटा गाडीका बिषयमा अहिले छानबिन चलिरहेको छ । गाडीको भन्सार जाँचपास १४ गतेभित्र सकिएको दाबी गर्दै आएको साइमेक्स इंकले गैरकानुनी भन्न नमिल्ने तर्क गरिरहेको भए पनि भन्सारमा गम्भीर खेल भएको भन्दै सशस्त्र प्रहरी बलले मुस्ताङको कोरला नाकाबाट ल्याइएका ७७४ थान बिवाईडी गाडीलाई पोखरा नजिकै नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ ।
यस्तै साइमेक्सले बजेटअघिको १५ दिनमा मात्र १ हजार १ भन्दा बढी भित्र्याएको खुलासा भएको छ । रसुवा भन्सारलाई प्रभावमा पारेर गाडी नै नआइपुग्दै १ सय ५० भन्दा बढी गाडी कागजका भरमा छुटाएका प्रकरण सार्वजनिक भएसँगै अहिले रसुवा भन्सारका प्रमुख सहित ९ जना जिम्मेवारीमुक्त भएका छन् । रसुवागढीबाट कागजी रुपमा १४ गते नै गाडी नेपाल भित्र्याएको २ थान गाडी गल्छीमा समातिएसँगै अनुसन्धान तिव्र पारिएको थियो । साईमेक्स इंकमा देखावटी रुपमा यमुना श्रेष्ठ हर्ताकर्ता भए पनि त्यसमा बिभिन्न हाईप्रोफाइलहरुको लगानी रहेको बताइन्छ । बजेटअघि राजश्वको दरसम्बन्धी सूचना चुहाएर हतार हतार नेपाल भित्र्याएको आशंका गरिएका ती गाडी अधिकांश बिवाइडी ब्राण्डको कम्पनी साइमेक्स इंकका हुन् ।
यस्तै,नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अन्जनकुमार श्रेष्ठको कम्पनीले मगाएको काइयी ब्राण्डका चार दर्जन हाराहारी गाडीमा समेत कैफियत देखिएको भन्सारका अधिकारीहरुले जनाएका छन् । भन्सारका अधिकारीहरुका अनुसार,सोही नाकाबाट त्यसैगरी भित्र्याइएका काइयी ब्राण्डका चार दर्जन बढी गाडीबारे अनुसन्धान चलिरहेको छ । भन्सार विभाग स्रोतका अनुसार रसुवाबाट ल्याइएका काइयीका ६० मध्ये ४० वटा गाडी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको हो । बजेट भाषणको अघिल्लो दिन अञ्जन श्रेष्ठको कम्पनीले रसुवा भन्सारबाट ३० र तातोपानी भन्सारबाट ३० वटा गाडी भित्र्याएको थियो । यो व्राण्डको गाडीको विक्री मूल्य यस अघि नै ८० लाखभन्दा माथि रहेकोमा नयाँ बजेटमा करको दरहेरफेर गरि १३० प्रतिशत बढाइएको थियो । सोही पूर्व सूचना पाएरै सो कम्पनीले ६० वटा गाडी आयात गरेको बिषय समेत अहिले अनुसन्धानको दायरामा रहेको र भन्सारका कर्मचारीहरु समेत छानबिनमा परेका छन् । यसै प्रकरणमा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहितका ९ जना कर्मचारीहरु अहिले विभगामा तानिएरका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठ हुण्डाई,बिएमडब्लु र काइयी ब्राण्ड कम्पनीका गाडी व्यापारी हुन् । बिएमडब्लु जर्मनीबाट र काइ ब्राण्डका गाडी चीनबाट ल्याउने गरिएको छ । हुण्डाइ भने भारतबाट ल्याइदै आएको छ ।
बिगत बर्षहरुमा अर्थमन्त्रालयका कर्मचारी तहबाट करको दर हेरफेरको सूचना चुहावट पछि रातारात तस्करी हुने गरेकोमा यस पटक कसले र कहाँबाट सूचना चुहाएको हो ? यस बिषयमा अनुसन्धान हुनुपर्ने कर्मचारीहरु बताउँछन् । करको दर हेरफेरको सूचना बजेट निर्माणमा सक्रिय टोली,भन्सार विभाग र प्रम कार्यालयको टिमलाई बाहेक अरुलाई थाहा नहुने हुँदा यतैबाट सूचना चुहावट भएको आंशका गरिएको छ ।
































