काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
बिज्ञापन
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित एक कार्यक्रमबीच अर्यालले शपथ लिएका हुन् । राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिको आजै बसेको बैठकले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रमेश अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।
बिज्ञापन
उनी सोही कम्पनीको सञ्चालक समितिमा रहेर अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी, राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय जीवन बीमा कम्पनी नेपालको सबैभन्दा पुरानो र सरकारको पूर्ण स्वामित्व रहेको जीवन बीमा कम्पनी हो ।


























