निजामती कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन:- राज्य व्यबस्था तथा सुशासन समितिको छलफलमा समेत ओझेलमा परेको बिषय

 

बिज्ञापन

१. छलफलमा ओझेल परेको कार्यसम्पादन मुल्याङ्कन

बिज्ञापन

संङ्गिय निजामती सेवा बिधेयक प्रतिनिधि सभा, सुशासन तथा राज्य व्यबस्था समितिमा छलफलको क्रममा रहेको छ । समितिले सो बिधेयकको छलफललाई तीव्रता दिएको छ । सम्बन्धित पदाधिकारी, बिषय बिज्ञ तथा प्रशासनविद्, ट्रेड युनियनहरु लगायत सरोकारवालाहरुलाई आमन्त्रण गरी राय लिने तथा सुझाव संकलन गरीरहेको छ । समितिमा छलफलकै क्रममा रहेका बखत केही बिषयहरु सहमति भइसकेको तथा समितिमा सहमति हुन नसकेको बिषयमा सहमति कायम गर्ने गराउने भनि उपसमिति गठन गरीएकोमा उपसमितिले सहमति कायम गरेको तथा सहमति कायम हुन नसकेको बिषय भनि आफ्नो प्रतिवेदन समितिमा बुझाइसकेको समाचार प्रकाशित भएको छ । उपसमितिले प्रतिवेदन बुझाएतापनि समितिमा उक्त बिधेयकको छलफल जारी रहेको छ । समितिमा निजामती सेवा बिधेयकको छलफलकै क्रममा सरकारले प्रस्ताव गरेकै वा संशोधनमा समावेश गरिएको बिषयमा सहमति भइसकेको वा सहमति हुन बाँकी रहेको वा सहमतिबाट पुनः व्याक भएको वा सहमतिमा फरक मत रहेको वा चौध बिषयबाहेक सहमति भएको वा समितिले सहमति कायम गरिसकेको र आजै शिर्ष नेतालाई साक्षी राखी प्रतिवेदन पारित गर्ने लगायतका समाचारहरु प्रकाशन भइरहेका छन । समिति तथा उपसमितिमा छलफलको क्रममा सहमति असहमति वा फरक मत रहेका भनिएका मुख्यतः निजामती सेवाको नाम, तहगत वा श्रेणीगत व्यबस्था, प्रदेश सचिव, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य र संसद सेवाको समावेश, अतिरिक्त सचिव, निजामति कर्मचारीको सेवा प्रवेश र अवकाश उमेर, ट्रेड युनियन अधिकार, कुलिङ्ग पिरीयड, बिशिष्ट श्रेणीको पदाबधि लगायतका बिषयहरु रहेका छन । निजामती सेवाको सन्दर्भमा यि बिषय गौण बिषय हुन भने मुख्य बिषय निजामती सेवाको प्रभावकारी सेवा प्रवाह, गुणस्तरीय सेवा, मितव्ययी र दक्षतापूर्ण कार्यसम्पादन हो । यि मुख्य बिषयको सुनिश्चितताको मापन गर्ने मुख्य आधार भनेको कार्यसम्पादन मुल्याङ्कन हो । तर राज्य व्यबस्था तथा सुशासन समितिको छलफलमा निजामती कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कनको बिषयले प्राथमिकता पाउन सकेको छैन ।

२. कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी बिद्यमान व्यबस्था

बिज्ञापन

नेपालको सन्दर्भमा निजामती सेवा ऐन २०४९ को दफा २४क मा कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी व्यबस्था छ । उक्त दफामा भएको व्यबस्था अनुसार मुल्याङ्कनका लागि सम्बन्धित कर्मचारीका लागि तोकिएको फारममा सम्पादित कामको बिवरण, परिमाण, लक्ष्य, प्रगति बिवरण भरी सुपरीवेक्षकसमक्ष पेश गर्नु पर्ने, सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले मुल्याङ्कन गर्ने आधार र अङ्कका सम्बन्धमा स्पष्ट गरिएको छ भने निजामती सेवा नियावली २०५० को नियम ७८, ७८क, ७८ख, ७८ग मा मुल्याङ्कनका थप आधारहरु र अनुसूचि १५ मा कार्यसम्पादन मुल्याङ्कन निर्देशिकाको व्यबस्था छ । कार्य सम्पादन मुल्याङ्कन राजपत्राकिँत कर्मचारीको बर्षमा दुईपटक अर्धवार्षिक र वार्षिक तथा राजपत्रअनकिँत कर्मचारीको बर्षमा एकपटक वार्षिक रुपमा गरिन्छ । राजपत्राकिँत कर्मचारीको हकमा प्रथमपटक श्रावण देखी पौषसम्म र दोश्रोपटक माघ देखी आषाढसम्म अर्धवार्षिक रुपमा र श्रावण देखी आषाढसम्म वार्षिक रुपमा सम्पादित कामको मुल्याङ्कन गरिन्छ । वार्षिक मुल्याङ्कन गर्ने सन्दर्भमा अर्धवार्षिक मुल्याङ्कन समेतलाई आधार लिनुपर्दछ भने वार्षिक मुल्याङ्कन भएपछी अर्धवार्षिक मुल्याङ्कन अभिलेखको रुपमा मात्र रहन्छ । वार्षिक कार्य सम्पादन मुल्याङ्कन पछिल्लो पाँच बर्षसम्म प्रयोगमा ल्याइन्छ र त्यसपछी सो मुल्याङ्कन निश्क्रिय जस्तै रहन्छ । कार्यसम्पादन मुल्याङ्कनमा सम्बन्धित कर्मचारीले आफ्नो कार्यबिवरण अनुसार वार्षिक कार्यक्रम अनुसार सम्पादन गरेको काम र आफ्नै पहलमा गरेको अन्य कामहरुको बिवरण भरी सम्पादित कामको परिमाण, लागत, समय, अर्धवार्षिक लक्ष्य, वार्षिक लक्ष्य, कार्यप्रगति र कुनै कार्य सम्पन्न हुन नसेको भए सो को कारण समेत उल्लेख गरी अर्धवार्षिक अवधि वा वार्षिक अवधि समाप्त भएको सात दिनभित्र सम्बन्धित सुपरीवेक्षकसमक्ष पेश गर्नु पर्ने व्यबस्था छ । अर्धवार्षिक कार्यसम्पादन मुल्याङ्कन फारममा सम्बन्धित सुपरीवेक्षकले मुल्याङ्कनको स्तर पृष्ठपोषण वा धारणा उल्लेख गरी सम्बन्धित कर्मचारीको भनाई तथा प्रतिक्रियाका लागि सात दिनभित्र सम्बन्धित कर्मचारीलाई फिर्ता गर्नु पर्दछ र सम्बन्धित कर्मचारीबाट प्राप्त प्रतिक्रिया सहितको मुल्याङ्कन फारम अभिलेखको रुपमा राख्नु पर्दछ । अर्धवार्षक मुल्याङ्कनमा कार्य सम्पादन वापत सम्पादित कामको अंक प्रदान नगरी स्तरमात्र मुल्याङ्कन गरिन्छ । वार्षिक कार्य सम्पादन मुल्याङ्कनका सन्दर्भमा सुपरीवेक्षकले २५ अङ्क, पुनरावलोककर्ताले १० अङ्क र पुनरावलोकन समितिले ५ अङ्क समेत कुल ४० अङ्कलाई आधार मानी मुल्याङ्कन गर्ने व्यवस्था छ । कार्य सम्पादन मुल्याङ्कन गर्दा सुपरीवेक्षकले सम्बन्धित कर्मचारीले बर्षभरमा सम्पादन कामको परिमाण, लागत, समय र गुणको आधारमा मुल्याङ्कन गरी पुनरावलोकनकर्ता समक्ष श्रावण महिनाभित्र पेश गर्नु पर्दछ । पुनरावलोकनकर्ताले उक्त आधारमा मुल्याङ्कन गरी भाद्र पन्ध्र गतेभित्र पुनरावलोकन समितिमा पेश गर्नु पर्दछ भने पुनरावलोकन समितिले भाद्र मसान्तिभत्र मुल्याकन गरी बढुवा समिति र लोक सेवा आयोगमा एक/एकप्रति पठाइ एकप्रति आफ्नो कार्यालयमा अभिलेखको रुपमा राख्नु पर्दछ । कार्य सम्पादन मुल्याङ्कन गर्ने सम्बन्धमा ९५ प्रतिशत भन्दन बढी र ७५ प्रतिशतभन्दा कम अङ्क दिएमा सो को कारण खुलाउनु पर्ने, पचहत्तर प्रतिशतभन्दा घटी अङ्क दिएमा सम्बन्धित कर्मचारीलाई जानकारी गराई निजले प्रतिक्रिया दिएमा सो समेत संलग्त गरी पुनरावलोकन समितिमा पेश गर्नु पर्ने व्यबस्था छ । पुनरावलोकन समितिले मुल्याङ्कन गर्ने सन्दर्भमा राजपत्राकिँत प्रथम श्रेणीकालागि नीति बिश्लेषण क्षमता, छलफल तथा वार्ता गर्ने क्षमता, विवेकको प्रयोग तथा निर्णय गर्ने क्षमता, तेतृत्व र संगठनात्मक क्षमता, पेशागत संवेदनशिलता जस्ता पक्षमा अतिउत्तम, उत्तम, सामान्य र न्यून बर्गिकरण सहित मुल्याङ्कन गर्ने, राजपत्राकिँत द्धितीय र तृतीय श्रेणीकालागि बिषयवस्तसको ज्ञान र सीप, विवेकको प्रयोग र निर्णय क्षमता, कार्यचाप बहन गर्न सक्ने क्षमता, सिर्जनशिलता र अग्रसरता, श्रोत साधनको प्रभावकारी उपयोग, पेशागत संवेदनशिलताका आधारमा मुल्याङ्कन गर्ने व्यवस्था छ ।

बिद्यमान व्यबस्था अनुसार कार्य सम्पादन मुल्याङ्कनका लागि सफ्टवेयर प्रयोग गर्ने कानूनी तथा व्यबहारिक आधार तथा प्रचलन छैन । निजामती कर्मचारी समेत सार्वजनिक संस्थान, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक लगायत सबैले कार्यसम्पादन मुल्याङ्कनका लागि फारम हार्डकपि नै भरी पेश गर्नु पर्ने व्यबस्था छ । कर्मचारी समेत सार्वजनिक संस्थान, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक लगायत करिव १० लाख कर्मचारी शिक्षकले ४ पेजको कार्यसम्पादन मुल्याङ्कन फारम बार्षिक ३ प्रति (अर्धबार्षिक बाहेक) का दरले हार्डकपि भर्दा १ करोड २० लाख प्रति छपाइ गर्न प्रति पेज न्यूनतम १ रुपैया कायम गर्ने हो भने पनि बार्षिक रु १ करोड २० लाख खर्च भइरहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकिकृत रुपमा सफटवेयर बिकास गरी निजामती  लगायत सार्वजनिक संस्थान, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक लगायत सबैले प्रयोग गर्ने गरी सफ्टवेयर निर्माण गर्न सके एकपटक खर्च हुने २० लाख रुपैयाबाट बार्षिक १ करोड रुपैया बचत गर्न सकिन्छ । कार्यसम्पादन मुल्याङ्कनका लागि इन्टरयाक्टिभ सफ्टवेयर निर्माण हुन सके सम्बन्धित कर्मचारी र बिभिन्न मुल्याङ्कनकर्ताहरुसंग दोहोरो सम्वाद हुने, कार्यसम्पादनको अभिलेख व्यबस्थित हुने, मुल्याङ्कन मितव्ययी र प्रभावकारी हुने, कार्यसम्पादन मुल्याङ्कनबाट बृत्तिबिकास लगायत अन्य सेवा सुबिधामा समेत उपयोग गर्न सकिने अवस्था रहन्छ ।

३. कार्यसम्पादन मुल्याङ्कनसगँ प्रत्यक्ष सम्बन्ध रहेका बिषय

निजामती कर्मचारीको सम्बन्धमा निजामती सेवाको पदमा बहाल रहेको व्यक्तिलाई निजामती कर्मचारी सँझनु पर्दछ भनि निजामती सेवा ऐन २०४९ मा परिभाषा गरिएको छ । निजामती सेवाको पदमा बहाल रहेका कर्मचारीहरुले सम्पादन गरेको कामको मुल्याङ्कन गर्ने कार्य कार्यसम्पादन मुल्याङ्कन हो । सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको दक्षता, उत्पादनशिलता र प्रभावकारिता मापन गर्ने एक माध्यम कार्यसम्पादन मुल्याङ्कन हो । कार्यसम्पादन मुल्याङ्कनमा मुख्यतया कामको परिमाणात्मक लक्ष्य निर्धारण गर्ने, मुल्याङ्कन सूचक तयार गर्ने, कार्यवातावरण बनाउने, मुल्याङ्कन तथा पृष्ठपोषणका आधारहरु तयार गर्ने कार्य गरिन्छ । बिद्यमान निजामती सेवा ऐन तथा नियममा कार्यसम्पादन मुल्याङ्कनका बिषय जोडिएका दफाहरु देहाय बमोजिम छनः

  • दफा ५क मा प्रत्येक निजाती पदको कार्य बिवरण बनाई लागु गर्नु पर्ने र कार्यबिवरण अनुसार काको मुल्याङ्कन गर्ने सुचकांक तयार गर्नु पर्ने,
  • दफा ६क मा दरबन्दी सिर्जना गर्दा कार्यबोझ, कार्यप्रकृति समेतका आधारमा सङ्गठन तथा व्यबस्थापन सर्भेक्षण गर्नु पर्ने,
  • दफा १५ मा बिभागिय प्रमुख र कार्यालय प्रमुखमा पदस्थापना गर्दा कार्य बिवरणका आधारमा कार्यसम्पादन संझौता गरी पदस्थापना गर्नु पर्ने,
  • दफा १८क मा निजामती कर्मचारीलाई आबश्यकताको आधारमा काजमा पदस्थापना गर्नु पर्ने,
  • दफा १८च नेतृत्व मुल्याङ्कन सम्बन्धी व्यबस्था,
  • दफा १९ मा बिभिन्न आधारमा बढुवाको व्यबस्था,
  • दफा २७ मा तलवभत्ता भुक्तानी सम्बन्धी व्यबस्था,
  • दफा ४०ख मा अध्ययन तालीम भ्रमणमा मनोवयन सम्बन्धी वयबस्था,
  • दफा ५५क मा आचरण सम्बन्धी व्यबस्था उल्लघंनमा च्तावनी दिन सक्ने व्यबस्था,
  • नियम ९ मा कार्य बिवरणमा उलेल्ख भएको सूचकांकको कार्य प्रगतिको आधारमा कार्यसम्पादन मुल्याङ्कन गर्नु पर्ने, राजपत्राकिंत कर्मचारीले बार्षिक कार्य योजना बनाउनु पर्ने,
  • नियम ४९ मा अध्ययन तालीम वा अध्ययन भ्रमणको लागि मनोनयन गर्दा अन्य कुराहरुको अतिरिक्त कार्य सम्पादन ल्याङ्कन वापत बढी अङ्क पाउने कर्मचारीलाई प्राथमिकता दिनु पर्ने,
  • नियम ७७ र ७८ मा कार्यक्षमता र कार्यकुशलताको मुल्याङ्कनका आधारमा बढुवा हुने व्यबस्था,
  • नियम ९० मा नेतृत्व मुल्याङ्कन सम्बन्धी व्यबस्था
  • नियम ११६ मा निजामती सेवा पुरस्कार सम्बन्धी व्यबस्था
  • नियम १२५ मा नतीजामुलक कार्यतालीका बनाउने बिषय

उपर्युक्त बमोजिम अत्यन्तै महत्वपूर्ण साधनको रुपमा रहेको कार्य सम्पादन मुल्याङ्कनका सन्दर्भमा सम्बन्धित कर्मचारी, सुपरीवेक्षक, पुनरावलोकनकर्ता, पुनरावलोकन समितिले मुल्याङ्कनलाई महत्व दिन नसकेको आभाष पाईन्छ । मुल्याङ्कन प्रक्रियालाई बढी बिश्वसनिय र यथार्थपरक बनाउन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बिभिन्न समयमा परिपत्र गरेको पाइन्छ । निजामति सेवा ऐन नियममा प्रत्यक आर्थिक बर्षको भाद्र महिनासम्ममा बघिल्लो बर्षको मुल्याङ्कन पुरा गरी लोक सेवा आयोग, अधिकृत स्तरको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र अन्यको हकमा केन्द्रिय निकायमा पठाइसक्नु पर्ने व्यबस्था भए पनि मिति २०७६।१०।१७ मा सबै केन्द्रिय निकायमा आर्थिक बर्ष २०७१।७२ देखि २०७५।७६ सम्मको कार्यसम्पादन मुल्याङ्कन फारम, मिति २०७७।९।२२ मा आर्थिक बर्ष २०७६।७७ को कार्य सम्पादन मुल्याङ्कन फारम, मिति २०७८।८।१६ मा आर्थिक बर्ष २०७७।७८ को कार्य सम्पादन मुल्याङ्कन फारम उपलव्ध गराइदिनु हुन परिपत्र गरेको पाइन्छ । त्यस्तै मिति २०८१।५।२० मा मुल्याङ्कन फारम पेश गर्ने कर्मचारीले ध्यान दिनु पर्ने कुराहरु तोकिएको ढाँचा पेश गर्नु पर्ने, सुपरीवेक्षक समक्ष पेश गर्नु पर्ने, दर्ता नम्वर र मिति उल्लेख गर्नु पर्ने, अनिवार्य रुपमा हस्ताक्षर गर्नु पर्ने, सुपरीवेक्षक समक्ष पेश गरेको मिति उल्लेख गर्नु पर्ने लगायत उल्लेख छन । त्यस्तै, सुपरीवेक्षक र पुनरावलोकनकर्ताले ध्यान दिनुपर्ने कुराहरुमा नाम पद संकेत उल्लेख गर्नु पर्ने, मुल्याङ्कन मिति उल्लेख गर्ने पर्ने, केरमेट गर्न टिपेक्स लगाउन नपाउने, तोकिएको ढांचा मुल्याङ्कन गर्नु पर्ने लगायत छन । पुनरावलोकन समितिले ध्यान दिनु पर्ने कुराहरुमा मुल्याङ्कनका बिषय र त्रुटीहरु हेर्नु पर्ने, नाम पद संकैत उल्लेख गर्नु पर्ने, मुल्याङ्कन मिति उल्लेख गर्नु पर्ने, समितिको अध्यक्ष र सदस्य खुलाउनु पर्ने लगायतका बिषय छन । यसबाट पनि के पुष्टी हुन्छ भने कार्य सम्पादन मुल्याङ्कन गर्ने बिषयमा सम्बन्धित पदाधिकारीले जुन रुपमा ध्यान दिनु पर्ने हो त्यो नभएको अबस्था स्पष्ट देखिन्छ ।

४. प्रमुख समस्या तथा चुनौति

कार्य सम्पादन मुल्याङ्कनका राम्रा र सकारात्मक व्यबस्था हुदांहुदै पनि सुधार गर्नु पर्ने पक्षहरु रहेको पाईन्छ । कार्यसम्पादन मुल्याङ्कनका समस्या तथा कमजोरीहरुलाई मुख्यतः नीतिगत तथा कानूनी व्यबस्थामा रहेका कमजोरी र कार्यान्वयनमा रहेका समस्याको रुपमा लिन सकिन्छ । यस्ता कमजोरी तथा समस्यालाई देहाय बमोजिम बुदाँगत रुपमा प्रस्तुत गरिएको छः

नीतिगत तथा कानूनी व्यबस्थामा रहेका समस्या

  • कामको जिम्वेवारी व्यक्तिगत, शाखागत तथा महाशाखागत रुपमा हुने अथवा सामुहिक प्रयासबाट मात्र नतीजा निस्कने अवस्था छ तर कार्यसम्पादन मुल्याङ्कन व्यक्तिगत रुपमा मात्र हुने भएकोले मुल्याङ्कन प्रणाली बैज्ञानिक छैन,
  • अधिकृतस्तरको अर्धबार्षिक तथा वार्षिक र अरु कर्मचारीको बार्षिक रुपमा मात्र कार्यसम्पादन मुल्याङ्कन हुने व्यबस्था छ तर काम बिशेषको नतीजा मुल्याङ्कन तथा सेवाप्रवाहको प्रभावकारिता तथा गुणस्तरीयता मुल्याङ्कन तथा लागत प्रभावकारिता मुल्याङ्कन हुने गरेको छैन,
  • कार्यसम्पादन मुल्याङ्कन, सेवा प्रवाहको प्रभावकारीता र सेवाग्राही सन्तुष्टिको मुल्याङ्कनको समायोजन सम्बन्धी व्यबस्था छैन,
  • कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी सफ्टवेयर बनाइ प्रयोग गर्न सकिने व्यबस्था ऐन नियममा नभएकोले प्रिन्टेड हार्डकपिमा नै भर्नु पर्ने व्यबस्था बिद्यमान छ,

बिद्यमान व्यबस्थाको कार्यान्वयनमा रहेका समस्या

  • बिद्यमानको कार्यसम्पादन मुल्याङ्कन मात्र बढुवा प्रयोजनमा मात्र उपयोग हुने गरेको छ,
  • कार्यसम्पादन मुल्याङ्कन मुल्याङ्कन प्रणाली वस्तुनिष्ठ नभएको,
  • कार्य बिवरणसंग मुल्याङ्कन आवद्ध हुन नसकेको,
  • नेतृत्व मुल्याङ्कन, नतीजामुलक कार्यतालिका, नतीजामा आधारित मुल्याङ्कन प्रणालीसँग कार्य सम्पादन मुल्याङ्कनको सम्बन्ध स्थापित हुन नसकेको,
  • कामको आधार भन्दा पनि व्यक्तिवादी प्रवृत्तिबाट मुल्याङ्कन हुने गरेको,
  • सम्पादित कामको परिमाण, लागत, गुणस्तर मापन र अभिलेख पद्दति उपयुक्त नभएको,
  • काम गर्ने र नगर्ने वीच मुल्याङ्कनले विभेद गर्न नसकेको आदि रहेका छन ।

निजामति सेवा ऐन तथा नियमावलीले कार्यसम्पादन मुल्याङ्कन निजामती कर्मचारीको व्यक्तिगत कार्यजिम्वेवारी, उत्तरदायित्व, जवाफदेहिता र उपलव्धि जस्ता पक्षहरुमा मात्र केन्द्रित रहेको छ भने सामुहिक जिम्वेवारी र जवाफदेहितालाई महत्व दिएको छैन । कार्यसम्पादन मुल्याङ्कनसँग जोडिएका मुख्य बिषय भनेको सार्वजनिक निकायको उद्देश्य, लक्ष्य, कार्यक्रम, सेवाप्रवाह, जिम्वेवारिता र जवाफदेहिता हो । उक्त जिम्वेवारिता र जवाफदेहिता पुरा गर्ने सन्दर्भमा संगठन संरचना, पदसोपान, कार्यप्रवाह र नतीजा जस्ता बिषयहरु महत्वपूर्ण हुन्छन र यि बिषयहरु सामुहिक उद्देश्यबाट निर्धारित हुन्छन । यस्ता सामुहिक उद्देश्य प्राप्तिका लागि नतीजा मुल्यांङ्कन गर्ने सम्बन्धमा सेवा प्रवाह, बिकास निर्माण, समन्वय र संचार जस्ता बिषयमा प्राप्त उपलव्धिको बैज्ञानिक मुल्याङ्कन पद्धति अवलम्वन गर्नु आजको सन्दर्भमा निकै चुनौतिको रुपमा रहेको छ ।

५. सुधार गर्नु पर्ने बिषय

कार्यसम्पादन मुल्याङ्कनलाई बैज्ञानिक, बिश्वसनिय, वास्तविक र यथार्थपरक बनाउन बिद्यमान मुल्याङ्कन प्रणालीमा सुधार गर्नु पर्ने देखिएको छ । कार्यसम्पादन मुल्याङ्कन प्रणालीमा गर्नु पर्ने मुख्य सुधारहरुमा कार्यसम्पादन र अभिलेख प्रणाली पारदर्शी बनाउनु पर्ने, रणनीतिक तथा संचालन योजना बनाउनु पर्ने, मुल्याङ्कनका सूचकहरु बैज्ञानिक, वस्तुनिष्ठ र व्यवहारिक बनाउनु पर्ने, व्यक्तिगत मुल्याङ्कनका अतिरिक्त सामुहिक मुल्याङ्कन गर्नुपर्ने, पदसोपानमा रहेका सुपरिवेक्षक, पुनरावलोकनकर्ता, पुनरावलोकन समितिबाट मुल्याङ्कन गर्ने व्यबस्थाका अतिरिक्त समकक्षी, सेवाग्राह्री, सरोकारवाला तथा बिषयबिज्ञबाट समेत मुल्याङ्कन गर्ने गरी ३६० डिग्री मुल्याङ्कन प्रणाली अवलम्वन गर्ने, मुल्याङ्कनमा सेवाप्रवाह, बिकास निर्माण, समन्वय र सञ्चारलाई मुख्य आधार बनाउनु पर्ने, काम गर्ने कर्मचारहरुको मनोवल बढाउन सामुहिक मुल्याङ्कन प्रणालीसंगै काम नगर्ने, जिम्वेवारी बहन नगर्ने तथा गुणस्तरिय काम नगर्ने कर्मचारीहरुको नकारात्मक मुल्याङ्कन प्रणाली अवलम्वन गर्नुपर्ने लगायतका सुधार गर्न जरुरी देखिएको छ ।

६. प्रस्तावित बिधेयकमा कार्यसम्पादन मुल्याङ्कन सम्बन्धमा समावेश गर्नु पर्ने बिषय

  • कार्यसम्पादन अनुसार व्यक्तिगत मुल्याङ्कन, शाखागत मुल्याङ्कन र महाशाखागत मुल्याङ्कन गरी तीन तहको मुल्याङ्कन प्रणाली लागु गर्ने,
  • कर्मचारीको कार्य बिवरण अनुसार जिम्वेवारी, जिम्वेवारी अनुसार कार्यसम्पादन, कार्यसम्पादन अनुसार मुल्याङ्कन गर्ने परिपाटी अवलम्वन गर्नु पर्ने,
  • मुल्याङ्कनका सूचकहरु बैज्ञानिक, वस्तुनिष्ठ र व्यवहारिक बनाउनु पर्ने,
  • प्रयोगमा रहेको बिद्यमान कार्यसम्पादन मुल्याङ्कन फारमको सट्टामा कार्य बिवरणसंग सम्बन्धित तीन तहका फारमहरु जस्तै व्यक्तिगत मुल्याङ्कन, शाखागत मुल्याङ्कन र महाशाखागत मुल्याङ्कनको फारम तर्जुमा गरी हार्डकपिको सट्टामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सफ्टवेयर बनाइ प्रयोगमा ल्याउने,
  • कर्मचारीको कार्यसम्पादनको तीन तहको मुल्याङ्कनमा बिद्यमान सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको मुल्याङ्कनका अतिरिक्त समकक्षी कर्मचारी, मातहत कर्मचारी, सेवाग्राही र अन्य स्वतन्त्र बाह्य मुल्याङ्कनकर्ताबाट मुल्याङ्कन गर्ने व्यबस्था मिलाउने,
  • हाल प्रचलनमा रहेको व्यक्तिगत मुल्याङ्कनको ४० अङ्क यथावत राखी शाखागत मुल्याङ्कन २५, महाशाखागत मुल्याङ्कन १५, समकक्षी मुल्याङ्कन ५, मातहत कर्मचारिको मुल्याङ्कन ५, सेवाग्राही मुल्याङ्कन ५, बाह्य स्वतन्त्र मुल्याङ्कन ५ अङ्क समेत कुल कार्यसम्पादन मुल्याङ्कनको अङ्क १०० कायम गर्ने,
  • कार्य जिम्वेवारी अनुसार कार्य सम्पादन गरेको देखिने गरी डिजिटल अभिलेख राखी सुपरीवेक्षक समक्ष पेश गर्ने र सुपरीवेक्षकले सबै मुल्याङ्कनकर्ताहरुलाई सो डिजिटल अभिलेख मुल्याङ्कनका लागि उपलव्ध गराउने व्यवस्था गर्ने,
  • सबै मुल्याङ्कनकर्ताहरुले डिजिटल अभलेखको आधारमा निश्पक्ष मुल्याङ्कन गरी सफ्टवेयरमा प्रविष्ट गरिसकेपछी पुनरावलोकनकर्ताले मात्र हेर्न मिल्ने गरी सफ्टवेयर तयार गर्ने, पुनरावलोकन कर्ताले सबै मुल्याङ्कनहरुको आधारमा आफ्नो मुल्याङ्कन गरी समितिसमक्ष पेश गर्ने र समितिले मुल्याङ्कन गरी नम्वर दिएपछी सफ्टवेयर लक गर्ने, सफ्टवेयर लक गरीसकेपछी संघीय मामिला तथा सामान्य प्रशासन, लोक सेवा आयोग, सम्बन्धित मन्त्रालय वा केन्द्रिय निकाय र सम्बन्धित कार्यालयमा प्रमुखको मात्र सफ्टवेयरमा पहुंच रहने गरी डाटावेश तयार हुनेगरी सफ्टवेयरको सुरक्षा व्यबस्था मिलाउने,
  • कर्मचारीको मुल्याङ्कनबाट वृत्तिबिकास, क्षमता बिकास, आर्थिक तथा गैर आर्थिक सुबिधा आदिमा उत्प्रेरणा हुने गरी उपयोग हुने व्यबस्था मिलाउनु पर्ने । जिम्वेवारी बहन नगर्ने तथा गुणस्तरिय काम नगर्ने कर्मचारीहरुको नकारात्मक मुल्याङ्कन प्रणाली अवलम्वन गर्नुपर्ने,
  1. निश्कर्ष

निजामती कर्मचारीले सुपरीवेक्षकको प्रत्यक्ष निर्देशन र समन्वयमा काम गर्ने, बार्षिक कार्यलक्ष्य निर्धारण हुने, सम्पादित कामको मासिक र बार्षिक प्रगति बिवरण तयार हुने, आफुले सम्पादन गरेको कामको स्वघोषणा गरी सुपरीवेक्षकसमक्ष पेश गर्नुपर्ने, सुपरीवेक्षकले पूर्वनिर्धारित सूचक अनुसार मुल्याङ्कन गर्ने व्यबस्था प्रभावकारी रुपमा हुन नसकेकोले कार्यसम्पादन मुल्याङ्कन समेत प्रभावकारी हुन सकेको छैन । कार्य बिवरण अनुसार कार्यसम्पादन र कार्यसम्पादन अनुसार कार्यसम्पादन मुल्याङ्कन प्रणाली अवलम्वन गर्नु पर्ने आवश्यकता रहेको छ । संघीय निजामती सेवा ऐन हाल प्रतिनिधी सभा राज्य व्यस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेकोले कार्यसम्पादनका बिषयमा गहन छलफल गरी सुधारका लागि ऐनमा समावेश गर्न अहिले उपयुक्त समय पनि हो । कार्यसम्पादन मुल्याङ्कनमा गर्नु पर्ने मुख्य सुधारहरुमा कार्यसम्पादन र अभिलेख प्रणाली पारदर्शी बनाउनु पर्ने, मुल्याङ्कनका सूचकहरु बैज्ञानिक, वस्तुनिष्ठ र व्यवहारिक बनाउनु पर्ने, व्यक्तिगत मुल्याङ्कनका अतिरिक्त सामुहिक मुल्याङ्कन गर्नुपर्ने, पदसोपानमा रहेका सुपरिवेक्षक, पुनरावलोकनकर्ता, पुनरावलोकन समितिबाट मुल्याङ्कन गर्ने व्यबस्थाका अतिरिक्त समकक्षी, सेवाग्राह्री, सरोकारवाला तथा बिषयबिज्ञबाट समेत मुल्याङ्कन गर्ने गरी ३६० डिग्री मुल्याङ्कन प्रणाली अवलम्वन गर्ने आदि रहेका छन । सङ्गठनको सामुहिक उद्देश्य लक्ष्य प्राप्तिका लागि उपलव्धि मुल्यांङ्कन गर्ने सम्बन्धमा सामुहिक मुल्याङ्कन पद्धति लागु पर्ने देखिन्छ ।

सन्दर्भ सामाग्री

१. निजामती सेवा ऐन २०४९, नियमावली २०५०, कानून किताव व्यबस्था समिति

२. प्रस्तावित निजामती सेवा बिधेयक २०८०, संसद सचिवालयको वेभसाइट

– पूर्व उपमहालेखा परीक्षक, महालेखापरीक्षकको कार्यालय, मोवाईल ९८४१२००७३७ ईमेल [email protected]

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५ सचिवको पदस्थापन तथा सरुवा

 १ सय ६६ जना सशस्त्र प्रहरी कारवाहीमा

दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु, गाउँपालिकामा शोक बिदा

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोड राजस्व चुहावटको मुद्दा

निजामती कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन:- राज्य व्यबस्था तथा सुशासन समितिको छलफलमा समेत ओझेलमा परेको बिषय

नेपालको भू-राजनीतिक स्थिति:- अवसर र चुनौतीहरूको विश्लेषण   

स्टार्टअप कर्जाका लागि छानिए ६ सय ६१ परियोजना

ग्रेड रोक्कादेखि निलम्बनसम्म परेका एक जब्बर उपसचिव

बिशेष