स्थिर सरकारमाथि अनेक षड्यन्त्र

हालसम्मका २६ मुख्यसचिवमध्ये अधिकांश बाहुन, क्षेत्री र नेवार समुदायबाटै । त्यसमा पनि राजनीतिक नेतृत्वले जस्केलाबाट निजामती कर्मचारीहरुको सर्वाेच्च पदमा पुर्याउने,मुख्य सचिवले आफू पछिको मुख्य सचिव नियुक्तिमा विचौलियाको काम गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । २३ औं मुख्यसचिवका रूपमा तामाङ समुदायबाट नाम कोर्ने सुनौलो अवसर थियो धनबहादुर तामाङलाई । जसै सोमलाल सुवेदी मुख्यसचिव पद त्यागेर सहसचिवस्तरको जागिर खान एडिबीमा गए, वरिष्ठताका आधारमा तामाङ नै मुख्यसचिव बन्ने लाइनमा थिए तर बाजी मारे, राजेन्द्र क्षेत्रीले । मुख्यसचिव नियुक्ति प्रक्रियामा स्वाभाविक प्रक्रियाको अवसान भयो र जस्केलाबाटै मुख्यसचिव नियुक्ति हुँदा अहिले सिंगो प्रशासन भद्रगोलमा फसिरहेको छ । सोमलाल सुवेदीको पालादेखि शुरु भएको स्वाभाविक र नियमित प्रक्रियालाई अवरुद्ध गर्ने क्रम बैकुण्ठ अर्याललाई टिप्दा पनि देखिएको छ ।
अहिले निजामतीका सर्वाेच्च पदमा पुगेका बैकुण्ठ अर्याल उपर पाँच वटा उजुरीमा अख्तियारले अनुसन्धान गर्दै छ । राजीनामा दिएर मार्गप्रशष्त गर्ने अख्तियारदेखि प्रधानमन्त्रीकै तहबाट निर्देशन भए पनि न त अर्यालले राजीनामा दिएका छन्,न त बिदामा नै बसेका छन् । ‘स्थिर’, माथि अस्थिर चाला, ‘को कतिबेला आउला, को कहिले जाला’ भनेजस्तो छ । ‘स्थिर सरकार’ भनिने कर्मचारीतन्त्रको सर्वोच्च पद मुख्य सचिवका हकमा यस्तो भएको हो । राजनीति अस्थिर भएसँगै त्यसले प्रशासनलाई स्थिर हुन दिएन । प्रशासन सेवाका थुप्रै दावेदार हुँदाहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले परराष्ट्र सेवाका शंकरदास बैरागीलाई मुख्यसचिव बनाउनुभयो । तर, त्यसअघि र पछि पनि सर्वस्वीकार्य हुनुपर्ने उक्त पदका निम्ति गम्भीर खेलबाड चल्दै आयो । सक्नेले केसम्म गर्छन् भन्ने कुरा लोकदर्शन रेग्मीबाट बुझ्न सकिन्छ । एमालेकालमा पहिला विष्णु पौडेलले काँध हाल्दा अर्थदेखि गृह सचिवसम्म पुगेका उनी कांग्रेसकालमा बेलायतको राजदूत भइदिए ।

बिज्ञापन

नेपालको प्रशासनिक अभ्यासअनुसार मुख्यसचिव भन्ने संस्थामाथि राजनीतिक हस्तक्षेप नहुँदासम्म एउटै व्याचमा अधिकृतबाट सेवा प्रवेश गरेका सचिवमध्येबाट मुख्य सचिव बनाइन्थ्यो । तर, विमल कोइराला, भोजराज घिमिरेको पालाबाटै त्यसमा राजनीति घुस्यो र प्रकारान्तरमा त्यसले विसंगत रूप धारण गरेको प्रशासकहरु बताउँछन ।

बिज्ञापन

सोमलाल पछि धनबहादुर तमाङलाई मुख्य सचिव बनाइएको भए लोकदर्शन रेग्मीको मौका आउने थिएन । सचिवको पदावधि लागेर अवकाश भइसकेका हुन्थे । राजेन्द्रलाई बनाउँदा उनी ६ महिनामा घर जाने, त्यसपछि लोकदर्शन सिनियर हुँदै मुख्यसचिव हुने हिसाब गरियो । त्यसपछि प्रशासनको मान्छे छोडेर परराष्ट्रबाट शंकरदास बैरागीलाई ल्याइयो । फेरि बैरागीको कार्यकाल चार महिना बाँकी हुँदै उनलाई राजीनामा दिन लगाएर भोलिपल्ट घर जान ठिक्क परेका वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइयो । अब वैकुण्ठको कार्यकाल एक वर्ष पुगेपछि उदय सापकोटाका लागि उनले मुख्य सचिव छोड्ने तरखर रहेको चर्चा सिंहदरबारमा छ । अर्थात्, जुनसुकै सरकार आए पनि ‘माफिया’ ले ‘लाइन क्लियर’ गरिसकेको हुन्छ । र, नियमित किसिमले बनाउनुपर्ने मुख्य सचिव कसरी हुन्छन् भन्ने कुरा उक्त पदका दावेदारले नै चाल नपाउने अवस्था छ । फलतः हुन्छु भनेर ढुक्क भएका कर्मचारी रुँदैरुँदै घर फर्किएका अनगिन्ती उदाहरण छन् ।

उता गृह मात्र हैन, दक्षिणको तिखो नजर पर्ने जलस्रोत मन्त्रालयमा पनि त्यसरी नै मन्त्री तोकियो । लीलामणि पौडेललाई मुख्यसचिव बनाउने कुरामा डा.बाबुराम भट्टराईले निरन्तर अडान नलिएको भए उनी हुने पनि थिएनन् । फलतः कर्मचारी सरकारमा उनकै व्याचका सचिव शंकर कोइरालाहरू मन्त्री भएर आइदिए । लीलामणि तिब्बतको महावाणिज्यदूत हुँदै चीनपरस्त भएको बुझाई थियो । त्यसमाथि मुख्यसचिवबाट अवकास भएपछि उनै चीनका राजदूत भएर गए ।

बिज्ञापन

अदृश्य शक्तिको खेलोमा तीर्थमान शाक्य पनि मुख्यसचिव भए । त्यसबेला कानुन सचिव थिए । जागिरबाट भोलिजस्तोमा घर जाँदै थिए, आजजस्तोमा स्वाट्ट ‘मुख्यसचिव’ बनाइए । त्यसबेला कांग्रेसका हर्ताकर्ता ओमकार श्रेष्ठ पर्यटन मन्त्री थिए । कुपण्डोल घर भएका ओमकारले पाटनकै बासिन्दा तीर्थमानलाई रोज्ने नै भए ।  अर्थ सचिवबाट विमल कोइराला मुख्यसचिव हुन पुगे । नत्र, शम्भु खनाल हुनुपर्ने थियो । त्यही व्याचमा श्रीकान्त रेग्मी पनि थिए । अन्यायमा परेपछि शम्भुले राजीनामा दिए । राजाको प्रत्यक्ष शासनमा लोकमानसिंह कार्कीलाई मुख्यसचिव बनाइँदा तत्कालिन अर्थसचिव भानुप्रसाद आचार्य, टीकादत्त निरौला, चण्डीप्रसाद श्रेष्ठहरू अन्यायमा परे । उनीहरू लोकमानभन्दा माथिका थिए ।

सोमलालले आफ्नो कार्यकाल पूरा खाएको भए मधु रेग्मीसहित सबै सिष्टमका मुख्यसचिव आउने थिए । सोमलालले सिष्टम बिगारिदिँदा रामशरण पुडासैनीसहित भविष्यको मुख्यसचिव भनिएकाहरू सहसचिवबाटै घर गए ।

अर्कातिर, देशकै राजनीतिक दलको नेतृत्वले कसलाई, कहाँ र कसरी प्रयोग गर्ने भन्ने हिसाबले पनि मुख्यसचिवसहितका विभिन्न पदाधिकारी ल्याउने गरेका छन् । यसलाई स्वार्थको मिलान पनि भन्न सकिन्छ । भए सजिलै, नभए तलदेखि माथिसम्म फड्किने प्रवृत्ति छ । कुनै स्वाभिमानी र देशभक्त कर्मचरी आउने भयो भने उसलाई तलतिरै थला पारिन्छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।