‘मन्त्री त के प्रधानमन्त्री नै आए पनि क्वार्टर मिलाउन सकिँदैन’ यस्तो रुखो जबाफ फर्काइदिए उपप्रधानसहित स्वास्थ्य मन्त्रालय सम्हालिरहेका उपेन्द्र यादवका सहयोगीलाई सहरीका कर्मचारीहरुले । आइतबार उपप्रधानसहित स्वास्थ्य मन्त्रीको शपथ लिए लगतै उपेन्द्रका सहयोगीहरुले पुल्चोकस्थित मन्त्रीक्वार्टारका अलवा विग ६ कार्यालयहरुको मर्मत सम्भार र व्यवस्थापनको काम हेर्दै आएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीलाई फोन घुमाउँदा यस्तो टर्राे जबाफ भेटेका हुन ।
बिज्ञापन
कर्मचारीको सकस कस्तो छ भने,त्यहाँ १९ वटा ब्लक छन्,क्याविनेटमा मन्त्रीका संख्या २१ । शुक्रवारसम्म रघुवीर महासेठभन्दा तल बसेर मन्त्री खाँदै खान्न भन्दै दल्काएका उपेन्द्र अन्तत मर्यादाक्रममा रवि लामिछानेभन्दा मुन्तिर हुनेगरी शपथ लिन पुगे । उनले मन्त्रीको शपथ लिँदा पुल्चोकस्थित क्वार्टरका १९ वटै व्लक भरिभराउ भइसकेका थिए । कर्मचारीहरुले कुनै मन्त्रीलाई निकालेर भए पनि उपप्रधानमन्त्रीलाई क्वार्टर व्यवस्थापन गर्न प्रयत्न नगरेका होइनन्,त्यो ढंगबाट छलफल पनि चल्यो । अघिल्लो मर्यादाक्रममा (२० औं नम्बर)पुच्छरमा थिए युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ,उनैलाई ए वान ब्लकबाट निकालेर त्यहाँ उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई व्यवस्थापन गर्ने खोजिएको पनि हो,संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीहरु छलफल चलाए तर, क्वार्टरमा बसिसकेका मन्त्रीलाई ‘तपाई निस्किएर जानुहोस’भन्ने आँट कुनै कर्मचारीले गर्न सकेनन् । १९ मन्त्री अटेका उक्त क्वार्टरमा उपप्रधानमन्त्री अटेनन् र अन्त्यमा उनका लागि भैसेपाटीमा बस्ने व्यवस्था मिलाइएको छ । उपप्रधानमन्त्री यादवका लागि भैसेपाटीमा मुख्यमन्त्रीहरुका लागि निर्माणाधिन क्वार्टरको व्यवस्थापन टुुंगो लागेको बताइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका लागि निर्माण गरिएको क्वार्टरमा उपप्रधानमन्त्री यादवलाई राख्ने व्यवस्था मिलाएको छ । जसपाबाटै वनमन्त्री बनेका नवलकिशोर सुडीलाई कहाँ राख्ने भन्ने बिषयले संघीय सचिवालयका कर्मचारीहरुलाई टाउको खान थालेको छ ।
बिज्ञापन
मन्त्रिक्वार्टरमा आकर्षक मानिएका डी ब्लकमा ५ वटा क्वार्टर छन् । सी र एक ब्लकमा ५/५ र बी ब्लकमा चार वटा । मन्त्री निवासमा रहेका १९ वटा ब्लकमध्ये १४ वटा पुराना र ५ वटा नयाँ ब्लक छन् । नयाँ र सुविधासम्पन मानिएका डी व्लकको १ मा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ,२ अर्थमन्त्री वर्षमान पुन,डी ३ शहरी विकास मन्त्री धनबहादुर बूढा,डी फोर रवि लामिछाने र डी ५ व्लक अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् ।
यस्तै सि वान व्लकमा सञ्चारमन्त्री रेखा शर्मा,सी टु ब्लकमा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, सि थ्रीमा कृषि मन्त्री ज्वालाकुमारी साह,सी फोर ब्लकमा उद्योगमन्त्री दामोदर भण्डारी र सी फाइभ व्लक चाहिँ रक्षा मन्त्री हरि उप्रेती बस्ने तय भएको छ । यस्तै बी वान व्लकमा पर्यटन मन्त्री हितमान तमाङ्ग,बी टु व्लकमा महिला बालबालिकामन्त्री भगवती चौधरी,बी थ्री व्लकमा भूमि मन्त्री बलराम अधिकारी र बी फोर व्लक उर्जामन्त्री शक्ति बहादुर बस्नेत,ए फाइभमा खानेपानी मन्त्री राजेन्द्र श्रेष्ठ,ए फोरमा श्रम मन्त्री डिबी अर्याल, ए थ्रीमा सुमना श्रेष्ठ, ए टु पदम गिरी, ए वान व्लकमा विराजभक्त श्रेष्ठ बस्ने गरी बुक भइसकेको थियो । यस अघि शिक्षा राज्यमन्त्री प्रमिला मन्त्री क्वार्टरमै बस्दै आएकी थिइन । राष्ट्रिय सभामा उनको पदावधि सकिएर पद गएको दुई साता बितिसक्दा समेत उनले मन्त्री क्वार्टर छाडेकी छैनन् ।