स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश अन्तर्गतको आपूर्ति ब्यवस्थापन शाखाबाट उपकरण खरिदमा भएको अनियमिमतता प्रकरण अहिले चर्चामा छ । मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ६ करोड पर्ने सीटी स्क्यान मेसिन १० करोडमा खरिद गर्न लागेको पाइएको छ । आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि सीटी स्क्यान मेसिन खरिद गर्न लागेको हो । सामान्यतया चलनचल्तीको मूल्यमा एउटा सीटी स्क्यान मेसिनको बजार मूल्य ६ करोड रुपैयाँसम्म पर्ने भए पनि एउटा मात्र कम्पनीले किन्न पाउने गरी टेन्डर आह्वान गरेर १०(१० करोडका दुईवटा उपकरण खरिद गर्न खोजिएको व्यवसायीहरुको दाबी छ ।
बिज्ञापन
केन्द्रले काठमाडौंस्थित ‘हस्पिटेक’ कम्पनीले मात्रै भर्न मिल्ने गरी टेन्डर आह्वान गरेको भन्दै अन्य आपूर्ति कम्पनीले आपत्ति जनाएका छन् । उनीहरुले मुख्यमन्त्रीको कार्यालय तथा सार्वजनिक लेखा समितिमा निवेदन दर्ता गराउँदै टेन्डरको छानबिन र कारबाहीका लागि माग गरेका छन् । मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहकै निर्देशनमा सर्लाही र सिरहामा ‘रुमसहितको सिटी स्क्यान’ जडानका लागि टेण्डर भएको छ । टेण्डर कसलाई पार्ने भनेर पहिले नै सेटिङ मिलाइ सकिएको खुलासा भएको ।
बिज्ञापन
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधाममा स्थायी बायोमेड इञ्जिनियर थिए शैलेन्द्र यादव । यिनै यादवलाई अन्यत्र सरुवा गरिएको छ । कारण हो, आफूलाई मन लागेको ठेकेदारलाई काम दिन सेटिङ मिलाउनु । यसका लागि प्रयोग भएकी छिन् करारमा कार्यरत बायोमेड इन्जिनियर बन्दना मिश्र । दरबन्दीका स्थायी कर्मचारी सरुवा गरेर करारमा कर्मचारी नियुक्ति के का लागि भन्ने रहस्यको उत्तर पनि केन्द्रले हालै सर्लाही र सिरहाका लागि आह्वान गरेको टेण्डरले छताछुल्ल पारिदिएको छ ।
मिश्रले तयार पारेको परियोजनाका आधारमा २० करोड रुपैयाँको सिटी स्क्यान मेसिन खरिदका लागि रुमसहित मेशिनका लागि स्पेक गरिएको छ । केन्द्रले तयार पारेको मापदण्डमा काठमाडौँस्थित ‘हस्पिटेक’ कम्पनीले मात्रै टेण्डर भर्न मिल्ने गरी टेण्डर गरिएको भन्दै अन्य सप्लाइ कम्पनीहरुले आपत्ति जनाएका छन् । केहीदिन अघिमात्रै व्यापक र चरम असन्तुष्टिबीच तेस्रोपटक विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रिमण्डल हेरफेरमा कुनै पनि बेला फालिन सक्ने अवस्थाका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहलाई औषधी कम्पनीका प्रतिनिधिहरुले ‘हाकाहाकी’ बदमासी र अपराध भयो भन्दै चुप लागेर नबस्ने चेतावनी दिइसकेका छन् । दुई जिल्लामा रुमसहित सिटी स्क्यान मेसिनका लागि भएको स्पेकमा हस्पिटेकले मात्रै टेण्डर भर्न सक्ने गरी बदमासी भएपछि चौतर्फी विरोध भएको छ ।
बिज्ञापन
स्वास्थ्यमन्त्रीसँग परामर्शविना आपूर्ति केन्द्रका निमित्त निर्देशकले कुनै पनि हालतमा २० करोड रुपैयाँको टेण्डर गर्नै सक्दैनन् । सेटिङमै बहाल कर्मचारी सरुवा गरेर करारका कर्मचारी भर्ती गरेर भनिएको कम्पनीलाई टेण्डर दिलाउन भएको स्पेकले यतिखेर मधेशमा मन्त्रीहरु कुनै पनि हालतमा कमाउ धन्दामा कोही भन्दा कम देखिन्नन् भन्ने पुष्टि गरेको छ । यसरी सेटिङ मिलाएर टेण्डर गर्नका लागि विशाल पण्डितको हस्पिटेक कम्पनीमै कार्यरत रहिसकेका कर्मचारी बन्दना मिश्रलाई केन्द्रमा करारमा नियुक्ति गरिएको हो । मिश्र हस्पिटेकका पूर्वकर्मचारी हुन् । भएको कर्मचारी सरुवा गरेर करारमा कर्मचारी नियुक्ति किन भयो भन्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिज्ञासा पनि स्वास्थ्यमन्त्री सिंहले आपूर्ति केन्द्रका निमित्त निर्देशक डा. मनीष पाण्डेलाई प्रयोग गरेर खुलासा गरिदिएका छन् ।
स्वास्थ्य उपकरण वितरण गर्ने कम्पनीहरुका अनुसार, स्वास्थ्यमन्त्री सिंहको निर्देशनमा जडान हुन लागेको सिटी स्क्यान मेसिनको बजार मूल्य ८ करोडदेखि १२ करोड रुपैयाँसम्म पर्न सक्छ । तर एउटा मात्र कम्पनीले किन्न पाउने गरी सेटिङमा गरिएको टेण्डरमा १०–१० करोडका दुई वटा उपकरण खरिदको प्रस्ताव गरिएको छ । यसरी हाकाहाकी दुई वटा मेसिनमा कम्तीमा ८ करोड रुपैयाँ घोटाला गर्न सक्ने गरी कर्मचारीसहित सेटिङमा टेण्डर खुलेपछि उपकरण व्यवसायीले मुख्यमन्त्री यादव, स्वास्थ्यमन्त्री सिंह र निमित्त निर्देशक पाण्डेलाई ‘विशाल पण्डितले मोटो कमिसन दिए भन्दैमा १२ वर्ष पुरानो सामान जोडेर सरकारको धन र जनताको स्वास्थ्यमा खेलवाड गर्ने’ भन्दै प्रश्न गरेका छन् । उनीहरुले अरु पनि प्रतिस्पर्धी कम्पनीले सस्तोमा उपकरण दिनसक्ने गरी फेरि टेण्डर आह्वान गर्न मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई अनुरोध पनि गरेका छन् ।