काग्रेस ठगहरुको पछि लागेको हो,सत्तामा खेलमा लागेको होइन

ओखलढुंगाबाट निर्वाचित कांग्रेस सांसद रामहरि खतिवडा संसदको सुशासन तथा राज्य व्यवस्था समितिका सभापति हुन् । गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणबारे शुरुमा कुरा उठाउने नै हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापामाथि लागेको अनियमितताको आरोप छानबिन प्रक्रिया अघि बढाउने पनि उनी नै थिए ।

बिज्ञापन

 गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने एकसूत्रीय माग सम्बोधन भएन भने सदनमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ?

बिज्ञापन

– देशको सबैभन्दा ‘फ्रड’ भनी चिनिएको मान्छेलाई जोगाउन, अपराध छिपाउन अहिले राज्यशक्ति दुरूपयोग गरिएको छ । गृह मन्त्रालयमा गएपछि उनी प्रहरी र प्रशासनलाई प्रयोग गरेर आफ्ना अपराध छुपाउनतिर केन्द्रित रहेको घटनाक्रम सार्वजनिक भइसकेका छन् । कहिले महान्यायाधिवक्ता, कहिले आइजी, कहिले पोखरामा कार्यरत प्रहरीदेखि संसदीय दललाई प्रयोग गर्ने, सरकारसँग बार्गेनिङ गर्नेमा उनी उत्तिकै सक्रिय छन् । कहिले ओलीसँग, कहिले प्रचण्डसँग बार्गेनिङ चलेकै छ ।

गिरिबन्धु टि इस्टेट र महेश बस्नेतको नाम लिएर ओलीसँग, पञ्चा सिंह, कृष्णबहादुर महरालगायतको मुद्दामा प्रधानमन्त्री प्रचण्डसँग बार्गेनिङ उत्तिकै छ । संवैधानिक निकायलाई समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि दुरूपयोग गरिँदैछ । सहकारी ठगी प्रकरणमा कांग्रेसले रवि लामिछाने दोषी भनेर कहीँ किटानसहित भनेको छ र ? यदि दोषी हैन, रकम लिएको छैन भने छानबिन समिति बनाउने, सर्वसाधारणलाई न्याय दिने कुराबाट किन भाग्ने ? हामीले सरकारी वकिल कार्यालय भैरहवा, र, प्रहरीको रिपोर्टको ७५ नम्बरमध्ये बुँदा ७ मा उनको नाम देख्यौं । उक्त सहकारीबाट २ करोड उनको खातामा आएको छ । त्यो रकम झिके झिकेनन् । रवि लामिछाने त्यही दाह्री पालेको मान्छे हो कि अर्काे हो ? गृहमन्त्री नै हो कि होइन ? यी यावत् विषयमा बोल्न र छानबिन गर्न के गाह्रो भयो ? हजारौं जनता जोडिएको विषय भएका कारण छानवीनै अगाडि बढाउनुपर्छ भन्ने हाम्रो धारणा छ । निश्पक्ष छानबिन हुनुपर्छ भन्दा नै आत्तिएपछि ‘दालमें कुछ काला हे’ भनेझैँ गलत त देखियो नि ! छानबिन समिति गठन भएन भने आउने जुनसुकै परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ ।

बिज्ञापन

 तपाईंहरूले संसद अवरोध गरिरहँदा सरकारले अध्यादेशबाट बजेट ल्यायो भने नि !

– यस्तो नालायकी कामको नेतृत्व गर्छ भने सरकारको के अर्थ रह्यो र ? आफ्नो स्वार्थका लागि संसदलाई बन्धक बनाउने, चलिरहेको अधिवेशनलाई हठात् अन्त्य गर्ने । हिजो पनि दुई–दुई पटक संदन विघटन गरेर भाग्ने । संसद भन्यो कि अल्मलिने, आत्तिने । कम्युनिष्टहरूले प्रजातन्त्रप्रति विश्वास गर्छन् भन्ने तर संसदीय व्यवस्थामा जनताका कुरा राख्ने थलोबाटै भाग्ने । संविधानमै जेठ १५ गते बजेट ल्याउने उल्लेख छ । त्यस अगाडि राष्ट्र प्रमुखले आएर नीति तथा कार्यक्रम पढ्ने । तर सत्तालाई व्यक्तिगत गुनकोमात्र असाध्य चिन्ता छ । कसरी रविलाई जोगाउने भन्ने एकसूत्रीय चिन्ता छ तर सहकारी पीडितलाई न्याय दिने, तिनलाई अझै पीडित नबनाउनेतिर ध्यान छैन ।

 रवि लामिछानेविरुद्धको यो लडाइँचाहिँ उनले कांग्रेसको प्रधानमन्त्रीको अफर पनि अस्वीकार गरेका कारण शुरु भएको हो भनिन्छ नि ? के हो वास्तविकता ?

– कांग्रेसलाई बहुला कुकुरले टोकेको छ र ! प्रधानमन्त्री दिएको रहेछ भने त्यो नखाएर किन गृहमन्त्री खान गएको त ! कसैले प्रधानमन्त्रीको कुर्सी त्यागेर ‘नाइँ मलाई त्यही केटी चाहियो’ भनेझैँ गृहमन्त्री बन्न जान्छ ? पद र श्रमविनाको पैसा पाइने भएपछि अमेरिकामा २ चोटी श्रीमती र ३ वटा बच्चा त्यागेर आउने, गरिब जनता र पार्टीका मान्छेलाई वास्ता नगर्नेले प्रधानमन्त्री पद पाउँदा नखाँदो होला ? त्यस्ता अपरिपक्व, नेपाली राजनीतिमा देखिएका खहरे र भुल्कोलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दैन र गरेको पनि छैन । ती त सबै कुराको अडियो–भिडियो लुकाएर रेकर्ड गर्ने मान्छे हो । यदि त्यस्तो रेकर्ड छ भने अहिलेसम्म बाँकी राख्थे ! सात वटा टेलिभिजनका १८ ठाउँमा भुक्न लगाइसक्थे ।

 तपाईंहरूकै सांसद दिपक खड्काले रविलाई प्रधानमन्त्री बन्नुपर्छ भनेको चर्चा छ । त्यही आधारमा रविले कांग्रेसले अफर गरेको थियो भनेर प्रचार गरेको हैन र !

– यस्ता खहरेलाई बोक्ने पार्टीको आधिकारिक नीति होइन, त्यस्तो छँदा पनि छैन । कुनै खड्का, चड्कासँग हामीलाई मतलब छैन । यदि, प्रधानमन्त्रीको प्रस्ताव गरेको भए संसदीय दल, केन्द्रीय समितिमा छलफल हुन्थ्यो होला । यी दुईवटै ठाउँमा साधारण छलफलसम्म पनि नभएका बकम्फुस्से कुरा कसैले पत्याउँदैन । यो गलत कुरा गरेर रास्वपा कतिदिन हिँड्ने ?

 प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री ओली, आइजिपीदेखि महान्यायाधिवक्ता कार्यालयसम्मले रवि निर्दाेष भनिरहेका छन् । कांग्रेस चाहिँ ठाडो उनीमाथि खनिएको खनियै ।

– हुलाकबाट उजुरी परेको छ भने पनि छानबिन हुने प्रचलन छ । उसो हो भने उनी गृहमन्त्री पदमा बहाल हुञ्जेल कसैको छानबिन नहुने भनेर कानुन लागू गर्दिनोस् न त ! ठाडो उजुरी भए भैरहवाको सरकारी वकिल कार्यालयले किन मुद्दा चलायो ? पोखरा महानगरपालिकाले ३ हजार पृष्ठ लामो प्रतिवेदनमा नाम किन पोल्यो ? उजुरी छैन भने किन अत्तालिएको ? संसदीय छानबिन समिति बनाउन किन नदिएको ? आइजीले संसदमा पोखराको एसपी लिएर किन आएको ? आफूलाई मन नपरेको मान्छेलाई संसद चलिरहेको बेला सिआइबीलाई पत्र लेख्न लगाउन मिल्छ ? त्यस्तो गैरसंवैधानिक कार्य गर्दा हामी चुप लागेर बसेका छौँ । अरूलाई तर्साउने÷थर्काउने तर आफ्नोचाहिँ निवेदन छैन भन्ने ?

 चर्चामा आएझैं निर्वाचन आयोगले खारेज भइसकेको अध्यादेशमा टेकेर अशोक राईको पार्टी दर्ता गरी उपेन्द्र यादवको पार्टी फुटाएको हो र ?

– १२ सांसद रहेको पार्टीलाई ५ र ७ गरी दुईतिर किन हुनुपथ्र्याे ? काम केही गर्न नसक्ने अनि फुटाऊ र राज गर्ने ? हामी बढीभन्दा बढी पार्टी एकीकृत भएर जनताको माग पूरा भइदिए हुन्थ्यो भन्छौँ । योसम्बन्धी विधेयक संसदमा आइसकेको छैन । अहिले सरकारले ग्यापको फाइदा लिएर यस्तो काम गरेको छ । मुद्दा परिसकेको हुँदा यो विषयमा अब अदालतले नै थप व्याख्या गर्ला ।

 कांग्रेस एकीकृत समाजवादी र जसपालाई लिएर अर्काे गठबन्धन बनाउने खेलोमा लागेको चाल पाएपछि उपेन्द्र यादवको पार्टी फुटाइएको भन्छन् त !

– उहाँहरू आफैंमा एक अर्काेको विश्वास छैन । गृहमन्त्रीले जेबी राईलाई भगाउने अघिल्लो सरकारका प्रधानमन्त्री र गृहमन्त्री हो भनिदिनुभएको छ । यदि यो कुरा सत्य हो भने उहाँहरूलाई कारबाही गर्न गृहमन्त्री तयार हुनुपर्‍यो । होइन भने यस्तो बकम्फुसे गफ गर्नेलाई हटाउन प्रधानमन्त्री तयार हुनुपर्‍यो । उहाँहरूकै कारणले सरकार धेरै समय टिक्छ भन्ने लाग्दैन । बजेट पढ्न सक्नुभए पनि पारित गर्न सक्नुहुन्न । तपाईं हामीले भन्नै पर्दैन, उहाँहरूको क्रियाकलाप र प्रदेशको राजनीति त्यस्तै छ । आफू प्रधानमन्त्रीको कुर्सीमा टिक्ने नाममा प्रदेश अस्थिर बनाइदिनुभयो । अहिले सात वटा प्रदेशमा को– को मुख्यमन्त्री छन्, भन्न सक्ने अवस्था छैन । यस्तो अराजकतामा मुलुकलाई लैजानुहुन्छ ? रास्वपाको नेतृत्व नै उरेन्ठेउलो । भर्खर राजनीतिमा प्रवेश गरेका भाइ साथीहरू छन् त्यहाँ । पहिलो पटक संसदमा उपस्थित भएका छन्् । संसदीय ज्ञान, पद्धतिको अभाव छ । त्यस्तालाई उफारेर राजनीति लामो समय टिक्दैन ।

 तपाईंहरू हट्नुभएपछि एमाले–माओवादी–रास्वपाको गठबन्धन सरकार बनेको दुई महिना बित्न लाग्यो । कस्तो छ सरकारको काम ?

– अरु के काम भएको छ र ? हो, एउटा कामचाहिँ पक्कै भएको छ– ठगी गर्नेहरू ठूलो स्वरले कराउँदै हिँडेका छन् । नेपाल प्रहरीमा भद्रगोल छ । एआइजीको फुली नलगाई सरुवा गरिएको छ । प्रहरीलाई दुई महिना टिक्न दिएको छैन । प्रहरीलाई घरपालुवा जनावरजस्तो भुक्न लगाइएको छ । सुशासन होइन, दुई महिनामा कुशासन नै कुशासन मात्र छ ।

 तपाईं राज्यव्यवस्था समितिको सभापति, कार्यक्षेत्रबाहिर गएर सहकारी प्रकरणमा गृहमन्त्रीलाई डाक्नुभएकोबारे के भन्नुहुन्छ ?

– प्रधानमन्त्री, गृहमन्त्री, सचिव, आइजीहरूलाई बोलाएर छलफल गरेका छौँ । रक्षा, प्रधानसेनापतिलाई बोलाएका र फाष्ट्र ट्रयाकमा सहजीकरण गरिरहेका छौँ । एयरपोर्टमा सेटिङबाट मान्छे पठाउने, आपसी कुटाकुट गर्नेलगायत विषयलाई ट्रयाकमा लैजाने काम भएको छ । केही नियमावली पास गरेका छौँ । संवैधानिक परिषद्को काम, कर्तव्य अन्तिम चरणमा पुर्‍याएका छौँ । सहकारी ठगी राज्यव्यवस्था तथा सुशासन समितिकै कार्यक्षेत्रभित्र पर्ने विषय हो ।

 एमालेसँग मिलेर सरकार बनाउने कांग्रेसको प्रयास तुहिएको हो ?

– संविधान संशोधन गर्नुपर्छ । समानुपातिक पद्धति प्रतिनिधिसभा, प्रदेशसभाबाट हटाउनुपर्छ । राष्ट्रिय सभालाई समानुपातिक प्रतिनिधित्वको बनाउनुपर्छ । टालाटुली बटुलेर, धोखेबाज, चटकेहरूलाई राजनीति गर्न दिने, ठूला पार्टी बाहिर बस्ने पद्धतिका लागि पनि यो आवश्यक थियो र छ । तर केपी ओलीको दम्भ र अहंकारका कारण सम्भावना कम हुँदै गएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष