हरेक वर्षको फाल्गुण ७ मा प्रजातन्त्र दिवस मनाईन्छ र यो दिन राजा र जनता मिलेर गरिएको आन्दोलनले सफलता पाएको दिन, मुलुकले राणाको तानाशाहीबाट मुक्ति पाएको दिन, खोपीको देउताबाट मुलुकको राजा भएको दिन, नेपालीहरूले आफ्नो शासन आफैले गर्न पाएको दिन आजको दिन प्रजातन्त्रको दिन, यो दिन अमर रहोस् र यस देशमा कहिल्यै पनि एक दलीयता, निर्दलीयता वा कुनै पनि किसिमको अधिनायकवादिताको छायां नपरोस आजको दिनमा यही शुभकामना।
बिज्ञापन
यस संगै अलिकति स्वतन्त्रता दिवसको पनि कुरा गरी हालौ जुन हाम्रो देशले मनाउदैन, किन कि हामी जन्मजात स्वतन्त्र हौ र हामी कसैबाट स्वतन्त्र भएका हैनौ। स्वतन्त्रताको महत्व त्यसलाई मात्र थाहा हुन्छ जो बाह्य हस्तक्षेपमा परेको हुन्छ। सौभाग्यवस हामीलाई त्यस्तो स्वतन्त्रता दिवस मनाउन परेन र कहिल्यै नपरोस् पनि तर सोचौ त हामी कति स्वतन्त्र छौ? के हामीले हाम्रा नीति हामी आफै बनाउन सकेका छौ? हाम्रो सरकार निर्माण र काम गराईमा हामी कति स्वतन्त्र छौ? हाम्रा हरेक राजनीतिक परिवर्तनहरू हामी आफैले स्वतन्त्रता पूर्वक गरेका हौ? हाम्रा हरेक छनौट हामीले स्वतन्त्रता पूर्वक गरेका छौ? यसो सोचौ त हामी कति मात्रामा स्वतन्त्र हौला? हो, हामीले कसैको दाशता स्वीकार गर्नु परेन त्यसमा हामीलाई गर्व छ तर पनि हाम्रा नेताहरू विदेशीका दाश भएका हुनाले हामी उपर राजनीति गर्नेले हाम्रो मन बोल्न सकेका छैनन् । यिनीहरू हाम्रो लागि हैन अरू कसैको लागि कम्फर्टेवल हुन सरकारमा गएका हुन् ।उनीहरू हाम्रो देशको सरकारमा छन् तर आफू एक्लै काम गर्न स्वतन्त्र छैनन्।
बिज्ञापन
यिनीहरूले गर्ने हरेक कामको स्वीकृति बाहिरबाट लिनु पर्ने हुन्छ।उनीहरूलाई हामी मतदाताको आशिर्वाद चाहिने ठाऊमा विदेशीको आशिर्वाद लिन दूतावासमा लाईन लाग्नु पर्ने हुन्छ। हाम्रो संविधानले पनि हाम्रो आवश्यकता र भावना बोक्न सकेन, हाम्रो शिक्षा नीतिले नेपालको माटो र संस्कृति बोलेन,हाम्रो अर्थ नीतिले हामीलाई निर्यात मुखी बनाएको पाईएन। यो सबैको कारण हो हामी स्वतन्त्र रहेनछौ, हाम्रा नेता स्वतन्त्र रहेनछन् ।हो, कुनै पनि देश पूर्णरूपमा आत्म निर्भर हुदैन र यसले अन्य देशको सहयोग लिनु अनिवार्य हुन्छ तर विदेशी सहयोग लिने नाममा आफ्नो क्षमतालाई कमजोर बनाएर विदेशीको मुख ताक्नु किमार्थ राम्रो मानिदैन। अब त हुदा हुदा अन्तर्राष्ट्रिय विमान स्थल संचालन गर्ने जिम्मा पनि विदेशिलाई दिने रे! एउटा एयरपोर्ट चलाउन नसक्नेले देश चलाउछु भनेर किन जिम्मा लिएको?
यस्तो पर निर्भरताले त्यो देश उपर आर्थिक तथा औद्योगिक औपनिवेशिता सृजना गरेको छ जसबाट हामी स्वतन्त्र भएको अनुभूति गर्न पाएका छैनौ। अब प्रजातन्त्रको कुरा गरौ।हामीले वर्षेनी प्रजातन्त्र दिवस मनाउदै आएका छौ। यही शब्दलाई भज्याएर नेताहरू सत्तामा पुगेका छन् तर बिडम्बना के छ भने यिनीहरू आफैमा प्रजातान्त्रिक संस्कार छैन। प्रजातान्त्रिक संस्कारलाई उनीहरू कमजोरी ठान्छन्। अरूबाट प्रजातान्त्रिक संस्कार चाहनेले आफूले त्यो संस्कार देखाउन किन खोज्दैनन्? कि प्रजातन्त्रको अर्थ नबुझी नबुझी प्रजातान्त्रिक सत्तामा गएका हुन् त! प्रजातन्त्रलाई यसरी परिभाषित गरिएको पाईन्छ-, Full democracies are nations where civil liberties and fundamental political freedoms are not only respected but also reinforced by a political culture conducive to the thriving of democratic principles. यसैले प्रजातन्त्र भनेको नागरिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता मात्र नभएर राजनीतिक संस्कार पनि हो।
बिज्ञापन
हाम्रा नेताहरूमा राजनीतिक संस्कारको खडेरी परेको पाईन्छ। आफै राजनीतिक तवरले स्वतन्त्र देखाउन नसक्नेहरूबाट यो दिवसको सार्थकता पाईन्छ भन्नु बेकार हो। अहिले हामी प्रजातन्त्रबाट पनि अगाडि बढेर गणतन्त्रमा पुगी सकेका छौ। अहिले हामी राजा र प्रजा बीच हुने विभेद समेतबाट मुक्त छौ। हामीले हामी उपर शासन गर्ने शासक पनि हामीबाट नै छान्ने ब्यबस्था ल्याएका छौ। यस अर्थ हामी हाम्रो शासन हामी आफै गर्न सक्षम छौ भनेर सैद्धान्तिक तवरले पुष्टी गरेका छौ तर ब्यबहारले हामी परामुखापेक्षी भएका छौ। हाम्रा ब्यबहारहरू परिवर्तन गर्न हामीले अरूलाई सोध्ने बानी बसालेका छौ।
हामी आफै केही गर्ने आंट गर्न सक्दैनौ, अरूले बस भन्दा बस्छौ र उठ भन्दा उठ्छौ। यी स्वतन्त्र भएर काम गर्न नसकेका नेता र आफू भित्र प्रजातान्त्रिक संस्कारलाई आत्मसात गर्न नसक्नेहरू प्रजातन्त्र दिवसमा कुर्लनुको कुनै अर्थ छैन। हामीहरू अरूको आदेश मै धर्म निरपेक्षित भयौ, संघीय भयौ, गणतान्त्रिक मुलुकका बासिन्दा भयौ, हामी सनातनीलाई अफीम भन्छौ तर होली वाईन पाउदा तनतनी पार्दिन्छौ। पहिचानको नाममा हुदा खादाको समाज र संस्कृतिलाई विकृत बनाउछौ। यही हो हाम्रो स्वाभिमान? हाम्रा नेताको यस्तै काम गराईले निरन्तरता पाई रह्यो भने हामी अरूको उपनिवेश मात्र हुन पुग्छौ, त्यसैले अब हामीले हाम्रो सच्चा नेता हामीले नै चुन्न सक्नु पर्यो। हाम्रो राजनीतिमा हाम्रै सोच र भावना देखिनु पर्यो। हामीलाई लामो समय देखि विदेशीले दुरूपयोग गर्दै आएका छन्। उनीहरू जहिले पनि यहां अस्थिरता चाहन्छन् र आज सम्म उनीहरू सफल पनि भएका छन्।
अब यो देशको जिम्मा हामीले मन र तनका यूवा, आदर्श र विचारले यूवा, सोच र चिन्तनले यूवा भएकालाई दिनु पर्छ। यसरी मनबाट देशको चिन्ता लिनेलाई देश सुम्पिन सके मात्र सच्चा रूपमा प्रजातन्त्र दिवस मानेको ठहर्छ।