सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा भएको घटनामा सरकार र पीडित पक्षबीच सात बुँदे सम्झौता भएको छ । गत आइतबार भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच पीडितपक्षका माग सम्बोधन गर्ने विषयमा सात बुँदे सम्झौता भएको हो। घटनाको ५ दिनपछि घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग सहमति गरेका हुन् ।
बिज्ञापन
सहमतिअनुसार नेपाल सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ । यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ । सरकारले दुवै मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउनेछ। घटनाको अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू कानून अनुसार यथाशीघ्र कार्यान्वयन गरिनेछ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिस कानुनबमोजिम कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ ।
बिज्ञापन
यसैगरी, मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।
सम्झौतामा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकको तर्फबाट तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।

























