लोमस आचार्यलाई स्टोर शाखा नै चाहिने, अधिकृत पाण्डेलाई भने स्टोरका लागि आचार्य नै चाहिने ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यतिबेला एउटा जोडीको चर्चा चुलिएको छ। कर्मचारीहरूका अनुसार नायब सुब्बा लोमस आचार्य जहाँ जान्छन्, त्यहाँ स्टोर शाखाकै जिम्मेवारी सम्हाल्ने गर्छन् भने शाखा अधिकृत टङ्कराज पाण्डे जहाँ हुन्छन्, त्यहाँ स्टोरको जिम्मेवारी आचार्यले नै पाउने गरेको संयोग बारम्बार दोहोरिएको छ। यही कारण मन्त्रालयभित्र “स्टोरका लागि लोमस आचार्य र लोमस आचार्यका लागि टङ्कराज पाण्डे” भन्ने चर्चा हुने गरेको कर्मचारीहरू बताउँछन्।

बिज्ञापन

कर्मचारीहरूका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्टोर शाखामा लामो समय सँगै काम गरेका यी दुई कर्मचारी अहिले फेरि एउटै मन्त्रालयमा स्टोर व्यवस्थापनसँग जोडिएका भूमिकामा देखिएका छन्। आचार्यलाई पुनः स्टोर शाखामै जिम्मेवारी दिइनु र त्यसमा पाण्डेको विशेष पहल रहेको दाबी कर्मचारीहरूले गर्दै आएका छन्।

बिज्ञापन

मन्त्रालयका केही कर्मचारी तथा स्रोतका अनुसार आन्तरिक प्रशासन शाखा र स्टोर शाखाबीच सरकारी सामान खरिद, जिन्सी व्यवस्थापन, स्टेशनरी आपूर्ति, इन्धन व्यवस्थापनलगायतका काममा निरन्तर समन्वय हुने भएकाले यी दुई शाखाबीच निकट सहकार्य आवश्यक हुन्छ। यही प्रक्रियाको आडमा सीमित व्यक्तिको प्रभाव बढेको र स्टोर शाखामा लोमस आचार्यलाई ल्याउन शाखा अधिकृत टङ्कराज पाण्डेले विशेष भूमिका खेलेको कर्मचारीहरूको दाबी छ। उनीहरूका अनुसार खरिद प्रक्रियामा प्रभाव कायम राख्न आचार्यलाई स्टोर शाखामा ल्याइएको हुन सक्ने आशंका मन्त्रालयभित्र व्यक्त हुने गरेको छ।

मन्त्रालय स्रोतका अनुसार लामो समय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्टोर शाखामा कार्यरत रहेका आचार्यलाई सरुवापछि पनि पुनः स्टोर शाखाकै जिम्मेवारी दिइएको छ। यसअघि उनी शहरी विकास मन्त्रालयअन्तर्गत संघीयता आयोजना कार्यान्वयन केन्द्रीय इकाइ, झापामा पनि दुई वर्षभन्दा बढी स्टोर शाखामै कार्यरत थिए। पटक–पटक स्टोर तथा सामग्री व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारीमै रहने गरेको विषयलाई लिएर कर्मचारीहरूले प्रश्न उठाएका छन्।

बिज्ञापन

केही कर्मचारीहरूका अनुसार अन्य कर्मचारीलाई उपत्यकाबाहिर सरुवा गरिँदा आचार्य भने अर्को प्रभावशाली केन्द्रीय मन्त्रालयको स्टोर शाखामा पुगेका छन्। “स्टोर शाखाबाहेक अन्य जिम्मेवारीमा उनी कहिल्यै नदेखिने अवस्था छ,” एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने।

मन्त्रालयभित्रका केही स्रोतहरूले आचार्यको सरुवामा शाखा अधिकृत टङ्कराज पाण्डेको सक्रिय भूमिका रहेको दाबी गरेका छन्। तर यस दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

कर्मचारीहरूका अनुसार पाण्डे आन्तरिक प्रशासनसँग सम्बन्धित धेरै काममा प्रभावशाली देखिन्छन्। विशेषगरी सरकारी सवारीसाधनका लागि इन्धन कुपन वितरणमा समेत उनले प्रत्यक्ष संलग्नता राख्ने गरेको आरोप कर्मचारीहरूले लगाएका छन्। उनीहरूका अनुसार यसअघि नायब सुब्बा तहबाट हुँदै आएको इन्धन कुपन वितरण प्रक्रिया अहिले शाखा अधिकृत स्तरबाट सञ्चालन भइरहेको छ।

केही कर्मचारीहरूले इन्धन वितरणमा समान मापदण्ड लागू नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार केही कर्मचारीले आवश्यकताभन्दा बढी इन्धन पाउने गरेका छन् भने कतिपयले आवश्यक परिमाणसमेत नपाएको गुनासो गरेका छन्। यद्यपि, यस सम्बन्धमा मन्त्रालयले कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

स्टेशनरी तथा अन्य जिन्सी सामग्री खरिद प्रक्रियामा समेत शाखा अधिकृत पाण्डेको प्रभाव रहेको कर्मचारीहरूको आरोप छ। खरिदसँग सम्बन्धित निर्णयहरूमा सीमित व्यक्तिको प्रभाव बढ्दै गएको र त्यसले पारदर्शितामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।

कर्मचारीहरूले मन्त्रालयभित्र प्रशासनिक निर्णय प्रक्रियामा समेत असन्तुष्टि व्यक्त गरेका छन्। केही कर्मचारीका अनुसार औपचारिक संरचना भए पनि व्यवहारमा धेरै निर्णय सीमित व्यक्तिहरूको प्रभावमा हुने गरेको अनुभूति हुने गरेको छ।

टङ्कराज पाण्डे यसअघि पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत थिए। मन्त्रालय स्रोतका अनुसार उनी तत्कालीन सचिव चन्द्रकला पौडेलको कार्यकालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएका थिए। कर्मचारीहरूबीच उनको प्रशासनिक प्रभावबारे विभिन्न चर्चा हुने गरे पनि ती दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसबारे शाखा अधिकृत टङ्कराज पाण्डे, नायब सुब्बा लोमस आचार्य तथा मन्त्रालयका जिम्मेवार अधिकारीसँग प्रतिक्रिया लिन प्रयास गर्दा समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेन। उहाँहरूको प्रतिक्रिया प्राप्त भएपछि समाचारलाई समावेश गरिनेछ।

कर्मचारी प्रशासन, सुशासन र पारदर्शिताको नीति निर्माण गर्ने मन्त्रालयभित्रै यस्ता प्रश्न उठ्न थालेपछि सम्बन्धित निकायले वस्तुनिष्ठ छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने माग कर्मचारीहरूबाट उठ्न थालेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

लोमस आचार्यलाई स्टोर शाखा नै चाहिने, अधिकृत पाण्डेलाई भने स्टोरका लागि आचार्य नै चाहिने ?

प्रकाशचन्द्र खतिवडाको कविता  :  कठपुतली सरकार

सरकारको चार महिना : २६ सचिव,८६ सह सचिवको सरुवा

सरकारी कार्यालय र नागरिकको धैर्य : सेवा लिन जाँदा किन सकिन्छ सहनशीलताको परीक्षा ?

कर्मचारीको फेरिएन कार्यशैली

७ सचिव र ४१ सहसचिवसहित किताबखानामा १,३३९ पद दर्ता

बिशेष