नेपालीमा एउटा पुरानो उखान छ– ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी ।’ अहिले नेपाली राजनीति यति दिशामा अगाडि बढिरहेको छ । पुराना कार्यकर्ताहरूको अहिले आएर योगदान भन्दापनि उनीहरूको योग्यता, क्षमता र पहिचानको कुरा नेताहरूले उठाउन थालेकाछन् ।
लामो समय एउटा पार्टीमा रहेर काम गरेका नेता तथा कार्यकताहरूमा पार्टी परिवर्तनको होड चलेको छ । कतै राजावादीहरू कांग्रेसमा प्रवेश गरेका छन् भने कतै कांग्रेसहरू कम्युनिस्टमा । अनि कतै कम्युनिस्टहरू कांग्रेसमा । यो परिवर्तन किन भइरहेको छ त भन्ने सवालमा नेताहरूको धारणा छ, यो सब हुनुको पछाडि–‘सत्ता र भत्ताको खेल छ ।’ अहिले नेकपाबाट फुट्दा माओवादीका केही नेता एमालेमा नै रहे । टुक्रिएर गएको नेकपा एकीकृतमा पनि यतिबेला बर्खामा भिजेको जमिन धस्कने क्रम जारी रहेजस्तै फेरि पुरानो घर फर्कने क्रम बढेको छ । नयाँ घरमा बस्न खानको राम्रो प्रवन्ध नभएको भन्दै फेरि नेताहरूले पुरानो घर रोजेको देखिन्छ । तर, तथानाम गरेर छुटिएका नेतालाई फेरि पुरानो परिवारले कसरी सम्बोधन गर्छ, त्यो भने हेर्न बाँकी नै रहेको छ ।
बिज्ञापन
माओवादीबाट एमालेमा आएकाले राम्रो भाग अहिले पनि पाइरहेको अवस्थामा पुरानो घर फर्किएकाहरूले पनि सम्मान पाउलान भन्नेमा विश्वास गर्न सकिने आधार सिर्जना गरेको छ । तर, बारम्बार किचलो र अवसरको खोजमात्र पार्टी परिवर्तनको नीति हो कि विकास र जनसेवा ? यो प्रश्न भने गम्भीर बन्दै गइरहेको छ ।
अवको दिनमा जनमतलाई कायम राख्ने हो भने नेताहरूले पोखेका विचार र पार्र्टीको नीतिलाई अंगिकार गर्न जरुरी छ । यदि त्यो भएन भने पार्टीको जनमत नयाँ र स्वतन्त्रतर्फ ढल्किन्छ भन्ने तथ्य पनि मौलाउँदै गएको छ । बालेन र हर्कहरूले यो तथ्यलाई बढाउन खोजिरहेको छन् । यसको अर्थ के हो भने अहिलेको निर्वाचनमा भन्दा आगामी निर्वाचनमा स्वन्तन्त्रको जमात झन् बढ्ने छ । नेताहरूले सत्ता र भत्ताको राजनीति गर्न थालेको बहुदल आएपछि नै हो । त्यो भन्दा अगाडिको समयका नेताहरूको आचरण र सम्पत्ति र अहिलेका नेताको तुलना गर्ने हो भने आकास जमिनको फरक देख्न सकिन्छ । पहिलेका नेतामा आचरण शुद्ध थियो र विचारमा स्पस्टता थियो । अहिलेका नेताहरूको आचरण र उनीहरूको रवाफलाई हेर्ने हो भने धेरै अग्रगामी छलाङ मारिसकेको छ ।
बिज्ञापन
साधारण रूपमा घरभाडा तिर्नलाई समस्या रहेका नेताहरू अहिले करोर्डौको महलमा बस्छन् । रैथाने र स्थानीयहरू भन्दा उनीहरू धेरै माथि पुगिसकेका छन् । उनीहरूको साननै बेग्लै छ । पुराना नेताहरूको तुलनामा नयाँ नेताहरूको सम्पत्तिको रफ्तार झन् धेरै रहेको तथ्याङ्क र अध्ययनले देखाउँछ । आखिर जागिर र व्यापार कुनै पेशा नअपनाएका नेतामा यत्रो सम्पत्ति कहाँबाट आयो त्यो खोजीको विषय हो । तर, त्यसको खोजी गर्ने कसले ? यहाँ सत्ता र भत्ताको सौन्दर्य नचाखेको कोही नभएपछि । हिजो को कुरा गर्ने हो सार्वजनिक यातायात चढ्न समेत खर्च नभएर पैदल यात्रा गर्ने नेता कार्यकर्ताहरू यतिबेला ४०÷५० लाख देखि करोड पर्ने गाडीमा सानले हिँडेको पाइन्छ । त्यसको स्रोत के हो ? त्यसबारेमा खोजी नहुनु एउटा आश्चर्यको विषय नै हो । त्यो गर्ने कुनै नेतामा दम छैन किनभने सत्ताको वरिपरि घुमेकाहरूलाई भत्ता प्राप्त भएपछि आफ्ना अन्न दाताप्रति उत्तरदायी हुने नै भए । अब कारबाही गर्ने निकायमा तिनिहरू नै पुगेपछि त्यसको खोजी हुने कुरा नै भएन । अनि त ‘तैँ चुप मै चुप’ हुने नै भयो ।
पुराना पञ्चको रुपमा नाम कहलिएका सूर्य बहादुर थापाका छोरा सुनिल थापा राप्रपा छोडेर कांग्रेसमा प्रवेश गरे । उनीसँगै राप्रपामा रहेका इन्जिनियर÷कलाकार समेत रहेका धर्मराज पोखरेल त कांग्रेस पार्टी प्रवेश गरी खोटाङका उपसभापति नै बने । यसको मुख्यकुरा भनेको सत्ता नै हो । बिभिन्न पार्टीबाट चुनाव लड्दै सधैं सत्ताको वरपर घुम्न रुचाउने ह्दयेश त्रिपाठीले पनि पछिल्लो समय सूर्य चिन्ह लिएर नै चुनाव लडे । अवसरवादीहरूले पार्टी परिवर्तन गर्दा इमान्दार नेताहरू मर्कामा पर्ने एक कम्युनिस्ट नेताको भनाइ छ । उनी भन्छन् –‘पद पाउनका लागि पार्टी प्रवेश गरेपछि प्रतिपक्षलाई राम्रै ठाउँ दिनुपर्यो । सकेसम्म राजनीतिक नियुक्ति पनि दिनुपर्यो । जसका कारण पुराना र अवसर पाउने चरणमा पुगेका नेता कार्यकर्ताहरू पछाडि पर्छन् र उनीहरूमा वितृष्णा पैदा हुन्छ । पार्टी परिवर्तन गर्ने मुख्य कारण यही हो । हत्या, अपराध र खिचातानी अहिलेको राजनीतिको मुख्य अस्त्र हो । त्यसैलाई आधार मानेर अरुलाई पित्तल र आफूलाई सुनमा प्रमाणित गर्नका लागि अग्र गतिमा चलिरहेको यो खेल कहाँ पुगेर अन्त्य हुने हो त्यसका लागि समय कुर्नुको कुनै विकल्प छैन । तथापी सद्भाव र राष्ट्र हितका लागि यो सधैं बाधक बनेको छ । यो नै सत्य हो ।
बिज्ञापन
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि सत्तारुढ दलको रूपमा रहेको नेकपा दुई खेमामा विभाजन भयो । एक खेमामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्कोतर्फ प्रचण्ड र माधव नेपाल गरी दुई खेमामा रूपान्तरित भएपछि यो समस्या आएको हो । प्रचण्ड पक्षमा लागेका नेताहरूले ओली पक्षका नेताहरूलाई कमजोर बनाउने र ओली पक्षका नेताले प्रचण्ड पक्षकालाई कमजोर देखाएर आफू बलियो हुने संघर्षमा लागेका कारण गर्माहट छायो । त्यसको प्राप्ती भनेको एउटा दल तीन भागमा विभक्त भयो । नेताहरू बजारमा हाँसोका फोहोरा पोखेर कुण्ठाको राजनीतिमा रमाइरहेका छन् । र, यही कुण्ठालाई व्यापारमा परिणत गर्ने कसरतमा एक अर्काका कमजोरीलाई हतियार बनाएर आफ्नो पक्ष बलियो बनाउने खेलमा लागेको छन् । कथाका पात्र जस्तै उनीहरूमा सामाजिक सद्भाव, आत्मियता र मानवताको बिस्तारै कमी महसुस गर्न थालिएको छ । नेताले दिएका अभिव्यक्ति र एक पक्षले अर्को पक्षलाई गर्ने जवाफी बाणले गर्दा यसो भएको हो । यसले तल्लो तहका नेतामा पनि यो आक्रोस सर्दै गएको छ । जसका कारण राजनीतिप्रतिको निष्ठा हराउँदै गएको बारे केही अग्रज नेताहरूले असन्तुष्टि जनाएका छन् ।
पहिले माले र एमाले विभाजन हुँदा पनि यो समस्या आएको थियो । त्यसबाट शिक्षा लिएर नेताहरूले पार्टी विभाजनमा कसैले दिलचस्मी नदिने भनेर त्यो बेला भाषण दिएपनि अहिले आएर आफ्नो जनमत पाएको पार्टी आन्तिरिक कारणलाई मिलाउन नसकेर विभाजन सत्य हो । नेताहरूको भाषणमा पनि परिपक्कता र विवेकको प्रयोग भएको पाइदैन । एक नेताले अर्कोलाई तुच्छतापूर्ण तरिकाले गाली गरेको देखिन्छ । यस्तो निम्नस्तरको गालीको परिणाम भोलि कस्तो हुने हो ? यदी यस्को आँकलन गर्ने हो भने यस्ता गालीहरू सुन्नु नपर्ने हो । बच्चाको झगडाको उपमा दिदै राजनीतिक क्षेत्रका प्राध्यापकहरूले यसलाई निम्नस्तरको अभिव्यक्तिको संज्ञा दिदै आएका छन् ।
हरेक कुराको सीमा हुन्छ । त्यो भन्दा पर पुगियो भने अनगिन्ति समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । तर, यहाँ निस्फिक्रि तरिकाले एकले अर्कालाई आक्षेप लगाइएको छ । कुर्सि र देश लुट्ने भन्दा ज्यादा नागरिकका लागि के गरे भनेर कहिल्यै छातीमा हात राखेको भए यो समस्या आज आउने थिएन । देश यति जर्जर हुँदा यिनीहरू कसरी मोटाए ! नागरिकले प्रश्न उठाउन थालेका छन् । अहिलेका नागरिक सचेत नागरिक हुन । यो कुरा नेताले भुल्दै गएका छन । अबको चुनावमा नो भोटको नारा गुञ्जियो भने के हुन्छ ? नेताले त्यता सोचेका छन् कि छैनन् ?
एउटा दल यो गर्छु भनेर सत्तामा पुग्छ र त्यहाँ बसेर उसले आफ्नो परिवारको लागि मात्र काम गर्छ भने त्यसलाई त्यहाँ पुर्याएवापत जनताले के पाए त ? प्रतिपक्षमा बसेर हिसाब किताब र विरोध गर्ने भन्दा । त्यसो हुनाले नागरिकमा वितृष्णा बढ्नु स्वाभाविक हो यसलाई अन्यथा लिनु पनि बेकार छ । विदेश पयालयन भएका लाखौँ युवा सिप लिएर स्वदेश फर्कन नचाहनु पनि नेपालको अस्थिर राजनीति नै हो । राजनीतिले अब त केही नयाँ परिवर्तन ल्याउला भनेर पर्खेका नागरिकको आँखामा झन् तुवाँलो छायो । पूर्वको लालिमामा उनीहरूको कहिल्यै आँखा गएन । अभिशप्त देशमा हराएको यात्रीको कल्पना यही हो । यो कहिल्यै पूरा भएन कारण यस्तै पार्टीका आन्तरिक लुछाचुडी नै रहे । नेताहरूले पद, पैसा र मान पाए र नागरिकले मात्र गुनासो । उनीहरूले मतदान गर्ने भन्दा बाहेक अरु कुनै अधिकार पाएनन् । जुन नागरिकका अधिकार भनेर संविधानमा लेखिएका थिए ।
जनतालाई साम्यवादमा पुर्याउने लक्ष्य कता हरायो ? कि ती आफैले श्रेष्ठता हासिल गरेपछि पर्दाका पछाडि छोपिए ? कुनै नेताप्रति जनताको भरोसा देखिएन कारण सबै उस्तै देखिए । आगोको सानो झिल्कोलाई यो केही होइन भनेर वेवास्ता गर्दा पूरा जंगल खरानीमा परिणत भएको हामीले देखेका छाँै । नेतामा यो चेत खै ! त ?
अव नेताले बोकेको कलुषताहरूलाई पखाल्नु पर्छ । तर, यस्तो ठाउँमा पखालौं जुन स्थानबाट बगेर त्यो फोहोर हामीले पिउने पानीमा नपरोस्, नत्र त्यसले शरीरमा विभिन्न किसिमका खराबी परिणाम देखाउँछ । त्यसतर्फ पनि नेताहरूले ध्यान दिने हो कि ? कि जनतालाई गुमराहमा राखेर सधैं सत्ता लिप्सामा रमाइरहने, यो जवाफ नेताबाट नपाए जनताले नै दिनेछन् ।