निजामती सेवाको राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदको प्रतिस्पर्धात्मक परीक्षामा नेपाल प्रशासन सेवाको राजश्व समूहतर्फको खुला प्रतियोगितात्मक परीक्षाबाट सिफारिस हुनुभएका उम्मेदवार श्री खगेन्द्र बर्देवासँग लिइएको अन्तर्वार्ताः
बिज्ञापन
बिज्ञापन
१. सर्वप्रथम त निजामती सेवाको प्रशासन सेवा. राजश्व समूहको राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट छनौट हुनु भएकोमा तपाईंलाई हार्दिक बधाई छ। लोक सेवा आयोगले संचालन गर्ने प्रतिस्पर्धात्मक परीक्षामा छनौट हुन पाठ्यक्रममा निर्दिष्ट गरिएका र अन्य सान्दर्भिक विषयवस्तुहरुको अध्ययन तथा तयारी कसरी गर्नुभएको थियो ?
बिज्ञापन
मलाई लोक सेवा तयारी गर्दा कहिल्यै पनि धेरै पुस्तक किनेर पढ्ने बानी परेन। पाठ्यक्रम केन्द्रित भई तयार गरिएको मलाई उपयुक्त लागेको बजारको एउटै मात्र पाठ्यपुस्तकलाई मुख्य आधार पुस्तक बनाएर तयारी गर्ने रणनीति अवलम्बन गरेको थिएँ। यसका अतिरिक्त पाठ्यक्रममा आधारित निजामती सेवा पत्रिका, प्रशासन, कामाद लगायतका जर्नलका लेख रचनाहरु, नेपाल सरकारका आवधिक योजना, बजेट, आर्थिक सर्वेक्षण, मौद्रिक नीति लगायतका आधिकारिक दस्तावेजका आफूलाई महत्वपूर्ण लागेका विषयवस्तुलाई छानेर पढ्ने गरेको थिएँ। तर खासगरी मलाई पाठ्यक्रम सम्वद्ध अन्तराष्ट्रिय जर्नलका सान्दर्भिक विषयहरु चाहिँ खोजेरै अध्ययन गर्न असाध्यै रुची लाग्दथ्यो। उपसचिवको तयारी गर्दा मैले यसलाई अलि बढी प्राथमिकता दिएको थिएँ। परीक्षाको तयारी गर्दा पाठ्यक्रमसँग मेल खाने समालोचनायुक्त लेखहरु र नेपालको शासकीय प्रवन्ध, परराष्ट्र मामिला तथा अर्थव्यवस्थासँग सम्बन्धित एक दुई वटा सन्दर्भ पुस्तकहरु समेत अध्ययन गरेको थिएँ ।
२. परीक्षाको समयमा प्रश्नहरुको उत्तर कसरी लेख्ख उपयुक्त हुन्छ ? आफ्नो अनुभवको आधारमा लोक सेवा आयोगको तयारीमा रहेका उम्मेदवारहरुलाई के सुझाव दिनुहुन्छ ?
लोक सेवा तयारी गर्ने अधिकांशमा धेरै पढ्नुपर्छ भन्ने धारणा रहिआएको पाईन्छ। तर कुनै पनि उम्मेदवार विषयवस्तुमा जतिसुकै तीक्ष्ण भए पनि परीक्षकले उम्मेदवारको क्षमता जाँच गर्ने भनेको उसको लेखन कत्तिको दमदार, वजनदार र स्तरीय छ भन्ने आधारमा हो। परीक्षकलाई तपाईले दैनिक कति घण्टा पढ्नुभयो, तपाईंमा विषयको कति गहिरो ज्ञान छ वा तपाईंले कति बुझ्नुभएको छ भन्ने कुरा थाहा नै हुँदैन, जबसम्म तपाईंले आफ्नो ज्ञानलाई कलात्मक र सिलसिलेवार अनि अरु भन्दा केही पृथक रुपमा प्रस्तुत गरी आफूलाई उक्त विषयमा राम्रो दख्खल रहेको अनुभूत गराउन गर्न सक्नु हुन्न। त्यसैले मैले चाहिँ लोक सेवा तयारी गर्दा यो कुरालाई सदैव केन्द्रमा राखेर प्रस्तुत हुन्छु, जसले मैले लेखेका अधिकांश परीक्षामा मलाई सफल बनाएको हो कि जस्तो पनि लाग्छ। लेखनमा Thesis Statements. Supporting details, Coherence तथा Cohesion जस्ता Technicla Part लाई ध्यान दिँदै सुरुदेखि नै लेखनलाई स्तरीय बनाउने अभ्यास गर्न सकियो भने त्यसबाट लेखनलाई थप वजनदार र आकर्षक बनाउन सकिन्छ।
अर्कोतर्फ मेरो अनुभवमा परीक्षामा प्रत्रको उत्तर लेख्दा सबैभन्दा पहिले प्रश्नलाई ध्यानपूर्वक बुझ्न आवश्यक हुन्छ। प्रवले के मागेको हो परिभाषा, व्याख्या वा विश्लेषण वा अन्य विषय। त्यो पहिल्यै छुट्याउनु उपयुक्त हुन्छ। त्यसपछि उत्तरलाई उचित ढाँचामा लेखुपर्छ । जसमा सुरुवातमा छोटकरीमा परिचय, वीचमा मुख्य विषय वा बुँदाहरु क्रमबद्ध र सिलसिलेवार रूपमा र अन्त्यमा छोटकरी निष्कर्ष राख्नाले उत्तर पूर्ण देखिन्छ। उत्तर लेख्दा कतिपय तथ्य तथ्यांक र उदाहरण समावेश गर्दा त्यसले उत्तरलाई थप वस्तुगत बनाउँछ। तर कतिपय उम्मेदवारहरुले अनावश्यक र अत्याधिक बढी तथ्यांक र उदाहरण राखेर उत्तरलाई भद्धा बनाएको पनि देखेको छु, जुन त्यति राम्रो होइन जस्तो लाग्छ। यसैगरी उत्तर लेख्दा अधिकृतस्तर भन्दा तलका परीक्षामा विषयवस्तुलाई प्रत्रले माग गरेका विषयको सिधा उत्तर लेख सकिन्छ। तर अधिकृतस्तरका पदमा भने अलि विष्लेषणात्मक र प्रत्रले मागेका विषयमा आफ्नो धारणाहरु समेत समेटेर उत्तर लेखपर्ने हुन्छ।
मैले अनुभव गरेको अर्को महत्त्वपूर्ण पक्ष भनेको समय व्यवस्थापन हो। हरेक प्रत्रको अंक अनुसार समय विभाजन गरी लेख्दा सम्पूर्ण प्रत्रलाई निर्धारित समयमै हल गर्न सकिन्छ। तर समयभित्र लेखे अभ्यास भने परीक्षा अगावैतयारी कक्षाका समयबाटै सुरु गर्नुपर्दछ। साथै उत्तरलाई स्पष्ट, सरल भाषामा र सुसंगत ढंगबाट उदाहरणसहित प्रस्तुत गर्दा परीक्षकलाई बुझ्न सजिलो हुन्छ ।
लोक सेवा आयोगको तयारीमा रहेका साथीहरूलाई मेरो सुझाव भनेको निरन्तर लेखन अभ्यास गर्ने, पुराना प्रश्नपत्रहरू हल गर्ने हो। उत्तरलाई अनावश्यक रूपमा लामो नबनाउने, तर आवश्यक र प्रत्रले मागेका कुराहरुलाई अनिवार्य रुपमा उल्लेख गर्ने हो। यसले परीक्षार्थीको उत्तरलाई प्रक्षकेन्द्रित हुन, समय व्यवस्थापन गर्न र आत्मविश्वास कायम गर्न मद्दत गर्दछ।
मेरो निजामती सेवामा विभिन्न ४ वटा तहमा पाएको सफलतासहितको अनुभवले के भन्छ भने लोक सेवामा सफलताका लागि मुख्य चारवटा कुराको आवश्यकता हुन्छः उच्च मनोबल, निरन्तरको प्रयास, दृढ संकल्प र योजनावद्ध अभ्यास। लोक सेवामा होस् वा अन्य जुनसुकै क्षेत्रमा सफलता प्राप्तिको लागि मूल मन्त्र भनेको नै यही हो जस्तो लाग्छ। यद्धपि अरुभन्दा केही फरक क्षमता छ भने ठीकै मेहनतमा पनि सहज रुपमा सफलता हासिल गर्न सकिन्छ। तर यदि तपाईंसँग लोक सेवा लड्न साहै न्यूनतम क्षमता पनि छैन भने त्यो पदमा प्रयास गर्नु केवल वालुवामा पानी पनि हुन सक्दछ। जस्तैः गणितमा एकदमै कमजोर उम्मेद्वारले अहिलेको खरिदार वा सो सरहको परीक्षा पास गर्नु फलामको चिउरा नै हुन सक्छ। त्यसैले पाठ्यक्रमको गहन अध्ययन गरी आफ्नो क्षमता सुहाउँदो पदको मात्र निरन्तर तयारी गर्न सकेमा त्यसले सफलता प्राप्त गर्न केही सजिलो हुन्छ। अर्कोतर्फ लोक सेवाको परीक्षा दिन आउने भनेको अप्सन वा विकल्प राखेर होइन। एक दुई वर्ष लोक सेवा तयारी गर्छु, भएन भने विदेश जान्छु भन्ने जस्ता विकल्प राखेर पढ्नेलाई सफलता प्राप्त गर्न कठिन हुन्छ। वरु दुई वर्षभित्र जसरी पनि सफल हुन्छु भन्ने उद्देश्य राखेर सफलताका लागि Hard Work Strategic Preparations गर्न सकेमा मात्र सफलता प्राप्त गर्न सकिन्छ। माथिल्ला पदका परीक्षाहरुमा अध्ययन मात्र नभई चिन्तन मनन र विषयको गहन विश्लेषण समेत अनिवार्य हुन्छ भने तल्ला तहमा विषयवस्तुको पूर्ण ज्ञान आवश्यक हुन्छ। सुरुवाती तयारी गर्नेहरुलाई लागि कोचिङ्ग सेन्टरहरुको कक्षा र आफूभन्दा पहिला र निरन्तर रुपमा सबै तहमा सफल भईरहेका व्यक्तिहरुको मार्गदर्शन समेत उपयोगी हुन सक्दछ। सुन्दर अक्षर, ओजयुक्त शब्दचयन, कलात्मक र मिठासयुक्त लेखनशैली र अरुको भन्दा केही विशेष फरकपन, समालोचनायुक्त, Logical र पृथक लेखाईले सफलतालाई अवश्य सहयोग गर्छ। लोक सेवाको परीक्षामा सफलता प्राप्त गर्नु मात्रै जीवन सफल हुनु भन्ने होइन। छनौट भई कार्यस्थलमा गईसकेपछि सेवा प्रवाहमा समेत अब्बलता प्रदर्शन गर्न सक्ने गरी आफ्नो क्षमतालाई निखार्न सकेमा मात्र सार्वजनिक जीवनमा समेत सफल हुन सकिन्छ ।
Work Life Balance अझ बढी महत्वपूर्ण हुन्छ। आफू, आफ्नो परिवार र उनीहरुको समयलाई बेचेर जागिर खाने कैयौं मानिस सार्वजनिक जीवनमा त सफल देखिएलान् तर भित्रभित्रै आफ्नै समस्यासँग पिल्सिएर विक्षिप्त र निराशायुक्त जीवन बाँचिरहेका समेत कैयौ उदाहरणहरु छन्। त्यसैलै लोक सेवाको परीक्षामा सफल हुनु वा चाँडै उच्च तहमा पुग्नुलाई मात्र सफलताको मानक नमानी Work Life Balance गर्दै आफू समेत खुशी रहँदै देश र जनतालाई खुशी बनाउन सकेमा मात्र जीवन सार्थक र सफल हुन्छ भन्ने मर्मलाई विर्सनु हुँदैन। अकर्कोतर्फ लोक सेवा तयारी गर्ने शतप्रतिशत मानिस सफल नै हुन्छन् भन्ने हुँदैन। धेरैजसो कतै न कतै नाम निकाल्न सफल हुन्छन् तर कतिपय असफल हुन पनि सक्छन्। सबै सफल हुनुहोस्, शुभकामना छ, तर प्रयास गर्दा गर्दै सफल भईएन भने पनि अहिलेको समयमा संसारभर अन्य थुप्रै राम्रा अवसरहरुले कुरिरहेका हुन्छन् भनी यसलाई सामान्य रुपमा लिन सक्नुपर्दछ । ‘आफ्नो साथी कहाँ पुगिसक्यो म जहाँको तहीं भए’ भन्ने जस्ता निराशावादी विचार पाल्नु हुँदैन। दुखःको समयमा आफ्नो तुलना कहिल्यै पनि आफूभन्दा माथिकासँग होइन, बरु आफूभन्दा तलकासँग गर्नुपर्दछ। म भन्दा तल वा मैले भन्दा कम प्रगति गरेका मेरा अझ धेरै साथीभाई छन्, वरु मैले यति भए पनि गरेको छु भनी स्वीकार्न सक्नुपर्दछ। समयभन्दा अघि र भाग्यभन्दा बढी कसैले पाउँदैन भनी स्वीकार गर्नुपर्दछ। लोक सेवामा हार्नु भनेको जीवन हार्नु भन्ने होइन भन्ने तथ्यलाई आम युवावर्गले हृदयंगमगर्न जरुरी छ। तर उच्च मनोबल, निरन्तरको प्रयास, दृढ संकल्प र योजनावद्ध अभ्यास सफलताका कडी हुन् भनी निरन्तर प्रयास गर्ने व्यक्ति सफलताको हकदार हुन्छ भनी आशावादी रहन भने सक्नुपर्दछ ।३. प्रतिस्पर्धात्मक परीक्षामा तपाईंले आफूलाई सबैभन्दा अब्बल सावित गर्नका लागि गर्नुभएका प्रयासहरुको बारेमा छोटो जानकारी दिनुहोस्। तपाईंलाई यस प्रकारको सफलता प्राप्त गर्न के-कस्ता कुराहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए यस सम्बन्धमा केही बताईदिनुहुन्छ कि ?
“धन्यवाद, प्रतिस्पर्धात्मक परीक्षामा आफूलाई अब्बल सावित गर्नका लागि मैले निरन्तरता र अनुशासनलाई सबैभन्दा महत्वपूर्ण मानें। उपसचिव पद उत्तीर्ण गर्न मैले करिब ४ महिनाको दैनिक करिब ३ घण्टाको formal reading र अन्य समयको Informal Reading र अघिल्ला वर्षको पढाई र विषयवस्तुमा त्यसभन्दा तल्ला तहमा सिकेका जानेका कुराहरुले समेत काम गरेको हो। निजामती सेवाको एक दशकको अनुभव, तल्ला पदको तयारीका सन्दर्भमा सिकेका कुराहरु, विभिन्न विधामा मैल विगतमा चलाएका कलमले पनि प्रभावकारी र स्तरीय लेखन निर्माण ठूलो काम गर्यो जस्तो लाग्छ। केही समयको योजनावद्ध अभ्यास तर प्रभाबकारी पठनशैली, परीक्षाको समयमा जटिल प्रत्रलाई समेत नहडबाई रणनीनिक ढंगबाट समाधान गर्ने प्रयास र नमूना उत्तर लेखनका माध्यमबाट लेखनशैलीमा निखारता ल्याउन गरेको प्रयासले चाहिँ अझ सहयोग गरेको अनभूति भएको छ।
मैले नियमित अध्ययन तालिका बनाएर नै अध्ययन गर्न त त्यति पाईन। कार्यालयको कामको व्यस्तता, घरपरिवारलाई दिनुपर्ने समय आदिले ठ्याक्कै नियमित र योजनाबद्ध रुपमा पढाईलाई अगाडि बढाउन सकिएन। तर मोबाइल चलाउँदा होस् या कार्यालयमा केही समय खाली हुँदा र अन्यत्र जतिवेला जहाँ रहँदा पनि पढाइसँग विषय मिल्ने जे कुरा जतिबेला जे भेटिन्छ, त्यसलाई त्यतिबेलै त्यसलाई अध्ययनको विषयवस्तुसँग जोडेर हेर्ने मेरो बानी थियो। त्यसलाई कडाइका साथ पालना गरें। पुराना प्रत्रपत्रहरूको अभ्यास र अध्ययनसँगै लेखन अभ्यासलाई निरन्तरता दिनु मेरो प्रमुख रणनीति थियो। त्यसका अतिरिक्त, समय व्यवस्थापन, आत्मअनुशासन र आत्मविश्वासले पनि ठूलो भूमिका खेले। नोट नै बनाएर तयारी गर्ने चाहिँ समय अभावले पनि होला, गर्न सकिएन। मैले लोक सेवा आयोगको परीक्षा दिन सुरु गरेदेखि नै जहिल्यै पनि परीक्षालाई केवल ‘ज्ञानको परीक्षण’ मात्र नभई ‘धैर्य र मनोवलको परीक्षा’ पनि ठान्थे। यसरी निरन्तर मेहनत, नियमितता, आत्मविश्वास र सकारात्मक सोच नै मलाई सफल हुन प्रेरणा दिने प्रमुख आधारहरू बनेजस्तो लाग्छ।
४. सार्वजनिक सेवा प्रवाह निष्पक्ष र जनकेन्द्रित हुन सकेको छैन भन्ने जनगुनासो सुनिने गरेको छ। सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन विद्यमान कार्यप्रणाली र व्यवहारमा कस्तो सुधारको आवश्यकता देखुहुन्छ ?
धन्यवाद ! सार्वजनिक सेवा प्रवाहमा निष्पक्षता र नागरिक केन्द्रित सेवाभावको अभाव भएको भन्ने जनगुनासो निकै महत्वपूर्ण छ। मेरो विचारमा यसमा सुधार ल्याउनका लागि तीनवटा पक्षमा ध्यान दिन आवश्यक देखिन्छ। पहिलो, प्रक्रियागत सुधारः सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ। दोस्रो, व्यवहारगत सुधारः कर्मचारीले जनतालाई ग्राहक वा सामान्य सेवाग्राहीको रूपमा मात्र नहेरी सार्वभौम शक्ति सम्पन्न नागरिकको रुपमा हेर्ने संस्कार विकास गर्दै सार्वजनिक प्रशासनमा संलग्न कर्मचारीको जवाफदेहिताको स्तर अधिकतम बनाउनुपर्दछ। शिष्टाचार, विनम्रता र जवाफदेहिताले मात्र जनविश्वास बढाउँछ। तेस्रो, उत्तरदायित्व र निगरानीः सेवाप्रवाहमा ढिलासुस्ती, पक्षपात वा भ्रष्टाचारलाई शून्य सहनशीलताका साथ नियन्त्रण गर्नुपर्ने हुन्छ। यसरी प्रक्रियागत, व्यवहारगत र संस्थागत सुधार एकसाथ कार्यान्वयन गर्न सके सार्वजनिक सेवा प्रवाह निष्पक्ष र जनकेन्द्रित बनाउन सकिन्छ भन्ने मेरो धारणा छ। यसका अतिरिक्त राजनीति र प्रशासनबीचको सम्बन्ध र सीमा स्पष्ट गर्दै एक अर्काका बाधक नभई परिपुरकका रुपमा स्थापित गर्दै हार्दिकतापूर्ण सम्बन्ध स्थापित गर्न जरुरी छ।
५. रोजगार बजारमा रहेका अब्बल जनशक्तिलाई सार्वजनिक सेवातर्फ आकर्षित गर्न के-कस्ता कदमहरू चाल्न उपयुक्त हुने देखुहुन्छ
रोजगार बजारमा रहेका अव्वल जनशक्तिलाई सार्वजनिक सेवातर्फ आकर्षित गर्न केही महत्वपूर्ण कुराको आवश्यकता रहेको देख्छु। पहिलो, मौद्रक र गैरमौद्रक दुबै किसिमका सेवा सुविधा पर्याप्त र जीवनयापनलाई सहज हुने गरिको हुनुपर्दछ यसैगरी वृत्तिपथ अनुमानयोग्य र सुनिश्चित हुनुपर्छ र पुरानो प्रणालीमा सुधार गर्नुपर्छ। जबसम्म कुनै कर्मचारीले आफ्नो स्तर अनुसारको र आफू अनि आफ्नो न्यूनतम गाँस, बास र कपासको आफैले व्यवस्थापन गर्न सक्दैन, उ यो सेवामा आकर्षित हुन सक्दैन । यसैगरी उसले आफु र आफ्नो परिवारलाई गम्भीर रोग लागेमाजीवनभर बचत गरेको रकमबाट परिवारको उपचार सम्म पनि गर्न सक्ने स्थितिमा रहँदैन भने पनि उ सेवामा आउन चाहँदैन। त्यसैले कम्तीमा दुई सन्तानसम्मको विद्यालय तहसम्मको शिक्षा र उच्च शिक्षामा विशेष छात्रवृत्ति.
आफू, श्रीमान वा श्रीमती र आश्रित परिवारलाई असाध्य रोग लागेमा उपचारमा अधिकतम सहुलियत र घर जग्गा खरिदमा न्यून ब्याजदरमा Loan उपलब्ध गराउने जस्ता कार्य गर्न सकेमा अहिलेमा बजारमा रहेका उम्दा जनशक्तिलाई समेत सेवामा आकर्षित गर्न सकिन्छ। बरु यसका लागि सरकारले Contributary Insuranse वा कर्मचारीको मासिक तलबबाटै कट्टा गरी विशेष कोष निर्माण गर्न पहल गर्नुपर्दछ। अर्कोतर्फ कतिपय कर्मचारीहरु मौद्रिक तत्व भन्दा बढी आफ्नो वृत्ति विकासलाई हेरेर पनि सेवामा आउन चाहन्छन्। उनीहरुका लागि वृत्तिपथलाई अनुमानयोग्य (Predictable) बनाउनुपर्दछ ।
यसरी समग्रमा निजामती सेवाको तलब, सुविधा र प्रोत्साहन प्रणाली समयानुकुल र आवश्यकतामा आधारित हुनुपर्छ, ताकि दक्ष जनशक्तिले निजी क्षेत्र र विदेशमा मात्र होइन, सार्वजनिक सेवामा आफ्नो पनि भविष्य देख सकोस्। साथै, Career development पनि पारदर्शी र व्यक्तिको योग्यता क्षमतामा आधारित हुनुपर्छ।
दोस्रो, कार्य वातावरणलाई सुधार गरी आकर्षक बनाउनुपर्छ। सार्वजनिक सेवामा अझै पनि ढिलासुस्ती, निरुत्साहनयुक्त व्यवहार र अनौपचारिक संस्कृति हावी रहेको आरोप लाग्ने गरेको पाइन्छ। त्यसैले व्यवसायिक, प्रोत्साहनमुखी, पारदर्शी र सम्मानजनक कार्य संस्कृति विकास गर्न जरुरी छ। यदि कर्मचारीले आफ्नो दक्षता अनुसार काम गर्ने मौका पाउँछन् भने उनीहरूलाई प्रेरणा मिल्छ। अहिले उचित कार्यवातावरण र प्रोत्साहन संस्कृति अभावका कारण आकर्षक भनिएका सेवाबाट समेत मेधावी जनशक्ति जागिरबाट राजिनामा दिई वाहिर जाने गरेका फाट्टफुट्ट घटनाहरु देखिएका सुनिएका छन्। यसले त्यस्ता मेधावी र अनुभवी जनशक्तिलाई Retain गर्न सजिलो हुने गर्दछ।
तेस्रो, छनौट तथा प्रवेश प्रणालीलाई सुधार गर्नुपर्छ। नेपालमा निजामती सेवामा प्रवेशमा लोक सेवा आयोग जस्तो स्वच्छ, निष्पक्ष तथा विश्वसनीय संस्थाबाट छनौट गर्ने गरिएको छ र पूर्णतया मेरिटमा आधारित छ। तर छनौट प्रक्रियालाई अझ छरितो, प्राविधिमैत्री र समसामयिक बनाउनुपर्छ। सामयिक पाठ्यक्रममा आधारित भई स्वच्छता र निष्पक्षतालाई र आधुनिक प्रविधि प्रयोग गरेर गरिने प्रतिस्पर्धा र छनौट प्रणालीले योग्य जनशक्तिलाई थप आकर्षित गर्छ।
चौथो, अनुसन्धान, नवप्रवर्तन र प्रविधि प्रयोगलाई प्राथमिकता दिनुपर्छ। अव्वल जनशक्ति प्रायः सिर्जनात्मक र नवप्रवर्तनशील हुन्छन्। तिनीहरूलाई नीतिगत अनुसन्धान, ई-गर्भनन्सको अभ्यास गर्न सक्ने क्षमता, डिजिटल ट्रान्सफर्मेसनप्रतिको लगाव र जनमैत्री सेवा प्रवाहमा आफ्नो दक्षता प्रयोग गर्ने अवसर दिन सक्ने हो भने उनीहरूलाई सार्वजनिक सेवामा आउन प्रोत्साहन मिल्छ। पदका आधारमा कुनै व्यक्ति योग्य हुने भन्ने पदीय विज्ञताको संस्कृति र भ्रमवाट अब मुक्त हुन जरुरी छ। कतिपय क्षेत्रमा तल्लो दर्जाको कर्मचारी पनि माथिल्लो दर्जाको कर्मचारीजत्तिको वा अझ दक्ष हुनसक्छन्। यो मर्मलाई बुझेर हाम्रो कार्यसंस्कृतिमा सुधार ल्याउन जरुरी छ।
पाँचौ, सामाजिक मान प्रतिष्ठा र राष्ट्रसेवाको भावना उजागर गर्नुपर्छ। निजामती सेवा केवल रोजगारी मात्र होइन, राष्ट्र निर्माण र सामाजिक योगदानको माध्यम पनि हो। यसलाई युवा जशक्तिको चेतनामा पर्ने गरी बलियोसँग प्रस्तुत गर्दा राष्ट्रसेवामा योगदान गर्न चाहने अब्बल जनशक्ति आकर्षित हुन्छन्। यसैगरी दक्ष जनशक्ति पाउन कठिन हुने कतिपय प्राविधिक पदहरुमा जनशक्ति भित्र्याउन नयाँ मोडेल पनि अपनाउन सकिन्छ। उदाहरणका लागि, विशेषज्ञ पदहरूमा र दरखास्त कम पर्ने पदहरुमा सेवा सुविधा बढाघ सीमित प्रतिस्पर्धाबाट छड्के प्रवेशमार्फत् उच्चस्तरीय प्राविधिक दक्षता भएको जनशक्ति ल्याउने व्यवस्था गर्न सकिन्छ। यसले सरकारी सेवालाई अझ लचकदार र आकर्षक बनाउँछ।
यसरी सेवासुविधा, उचित कार्य वातावरण, वैज्ञानिक छनौट प्रक्रिया, नवप्रवर्तनमुखी कार्य अभ्यासको अवसर, सामाजिक प्रतिष्ठा जस्ता पक्षलाई समेटेर कदम चाल्न सकेमा रोजगार बजारमा रहेका अव्वल र मेधावी जनशक्तिलाई सार्वजनिक सेवातर्फ आकर्षित गर्न सकिनेमा म पूर्ण विश्वस्त छु।
६. राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदको विद्यमान पाठ्यक्रममा केही सुधार गर्नुपर्ने देख्नु भएको छ कि ?
म आफै पनि केही समय शाखा अधिकृत पदमा लोक सेवा आयोगमा बसेर काम गर्ने मौका पाएँ। लोकसेवा आयोगको परीक्षा प्रणालीमा सुधारका विषयमा थुप्रै विषयहरुमा आयोगले थुप्रै प्रयासहरु गरेको पनि देखें। तर बाहिरबसेर सोचेजस्तो पाठ्यक्रमलाई पुरै युटर्न गर्न कठिन हुने र विभिन्न हिसावले निकै चुनौतीपूर्ण नै रहेछ। सीमित स्रोतसाधनका बीच आयोगले पाठ्यक्रम सुधारका लागि गरेको प्रयास सराहनीय छ। नवीन परीक्षण विधिका रुपमा Computer Skill Test. सामुहिक छलफल, उपसचिवमा इन-बास्केट एक्सरसाइज र सहसचिवमा मामिला तयारी र प्रस्तुतीकरण जस्ता नवीन परीक्षणका अभ्यासहरु गरिएका छन्। संगठित संस्थातर्फ एकीकृत पूर्व योग्यता परीक्षा सञ्चालन गर्ने नीति तय गरिएको छ। विगतको तुलनामा थुप्रै सुधारहरु गरिएको भएतापनि अझै पनि सुधारका कैयौं ठाउँहरु रहेका छन्। जस्तैः प्राविधिक पदहरुमा Practical Exam समेत गराई उम्मेद्वारको प्रयोगात्मक सीपको परीक्षण गर्ने, माथिल्लो तहका पदहरुमा उम्मेदवारको वास्तविक नैतिकताको स्तर परीक्षण गर्ने, विषयविज्ञहरुलाई नियमित रुपमा अभिमुखीकरण गर्ने, Positive Recruitment System को अवलम्बन गरी मेधावी उम्मेद्वारहरुलाई सेवामा आकर्षण गर्ने जस्ता परीक्षा र छनौट प्रणाली सुधारका कार्यहरुलाई स्थापित गर्न सकिएको छैन। यीमध्ये कतिपय विषयमा आयोगको ध्यान पुगेतापनि स्रोत, साधन र हाम्रो प्रणालीगत सक्षमताले साथ दिन नसकिरहेको आभाष हुन्छ। हालको पाठ्यक्रमबाट कस्ता उम्मेद्वारहरु छनौट भइरहेका छन्, कार्यस्थलमा तिनीहरुको Performance र Result कस्तो छ, देश विदेशका प्रतिष्ठित विद्यालय/ विश्विद्यालयहरुमा अध्ययन गरी निजामती सेवा प्रवेश गर्न चाहने मेधावी विद्यार्थीहरु छनौट हुन सकिरहेका छन् या छैनन् र विद्यालय / विश्विद्यालयहरुका नयाँ पाठ्यक्रमसँग लोक सेवाको पाठ्यक्रमलाई कति हदसम्म तादात्म्यता कायम गर्न सकिन्छ भन्ने विषयमा व्यापक अध्ययनको खाँचो भने रहेको छ। यसका लागि लोक सेवा आयोगलाई पर्याप्त स्रोत साधन उपलब्ध गराई यसको संस्थागत क्षमता विकास गर्दै लैजानुपर्ने देखिन्छ। लोक सेवा आयोग विश्वासको धरोहर हो र हामी सबैको गौरव हो । यसमाथिको विश्वासलाई कायमै राखी यो पवित्र संस्थालाई थप मलजल र यसको श्रीवृद्धिमा योगदान गर्नु हामी सबैको कर्तव्य हो ।
७. छनौट प्रणालीलाई विश्वसनीय तुल्याउन र वैज्ञानिक बनाउन तथा लोक सेवा आयोगप्रतिको भरोसालाई अझ वृद्धि गर्न के-कस्ता कुरामा थप सुधार गर्नुपर्ने देखुहुन्छ ? सुझाव दिनुहोस् ।
लोक सेवा आयोग नेपालको सर्वाधिक विश्वसनीय तथा स्वतन्त्र संवैधानिक निकाय मानिन्छ र यो नेपालकै सर्वाधिक विश्वसनीय संस्था हो भन्नेमा कुनै शंका समेत छैन। यद्दपि बदलिँदो परिवेश अनुसार यसको छनौट प्रणालीमा केही सुधार भने आवश्यक देखिन्छ। पहिलो कुरा प्रविधिको अधिकतम प्रयोगलाई थप अवलम्बन गर्नुपर्दछ। आवेदन संकलन (खुला र बढुवा दुवैतर्फका।, परीक्षा संचालनदेखि नतिजा तयारी र प्रकाशनसम्म सबै प्रक्रियामा डिजिटल प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्दै लैजानुपर्दछ। दोस्रो, पाठ्यक्रम र प्रत्र निर्माण प्रणालीलाई समयानुकूल अद्यावधिक गर्न जरुरी छ। अब केवल घोकन्ते ज्ञान भन्दा बढी विश्लेषणात्मक सोच, समस्या समाधान गर्ने क्षमता र व्यावहारिक ज्ञान परीक्षण गर्ने खालको प्रत्र हुनु पर्ने देखिन्छ।
तेस्रो, मूल्याङ्कन प्रणालीलाई अझ अनुसन्धानमा आधारित बनाउँदै लैजानुपर्छ। नतिजाले छानेको व्यक्ति फिल्डमा काम गर्न सक्षम छ भन्ने कुराको सुनिश्चित पनि छनौट प्रणालीले गर्नुपर्छ। यसैगरी निरन्तर सुधार र प्रतिपुष्टि प्रणालीको अवलम्वन गर्नुपर्दछ। बजारका जनशक्ति, परीक्षार्थी, विज्ञ तथा विशेषज्ञ र सरोकारवालाको पृष्ठपोषण निरन्तर संकलन गर्ने र सो को वैज्ञानिक विश्लेषणका आधारमा छनौट प्रणालीलाई निरन्तर सुधार गर्दै लैजानुपर्दछ। बजारबाट कस्ता व्यक्तिहरु छनौट भैरहेका छन् त्यसको थप मुल्यांकन गर्ने र कतै स्वदेशी तथा विदेशी प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका तर हाम्रो छनौट प्रणालीका कारण त्यस्ता मेधावी जनशक्तिहरु सेवा प्रवेश गर्न नसकिरहेका पो छन् कि ? त्यसको समेत अध्ययन गरी त्यस्ता उम्मेद्वारलाई समेत सेवामा भित्र्याउन प्रयास गरिनुपर्दछ । यसैगरी आयोगले अन्य सम्बन्धित निकायहरुसँग समेत समन्वय गरी क्रमशः सकारात्मक भर्ना प्रणालीलाई अवलम्बन गर्दै लैजानुपर्दछ ।लोक सेवा आयोगद्वारा प्रकाशित त्रैमासिक समाचारपत्रमा प्रकाशित ।


























