सार्वजनिक प्रशासन समाजको विश्वास र विकासको प्रमुख आधार हो। यसमा सकारात्मक परिवर्तन ल्याउन निष्ठा, नैतिक मूल्यमान्यता र अनुशासन अनिवार्य छन्। प्रशासनिक सुधार केवल नियम, प्रक्रिया वा संरचनामा सिमित हुँदैन; यसले कर्मचारीको आचार, मूल्य र व्यवहारसम्म प्रभाव पार्नुपर्छ। यदि कर्मचारी नैतिक र अनुशासित छन् भने उनीहरूको निर्णय पारदर्शी, जिम्मेवार र सेवाग्राहीमुखी हुन्छ।
बिज्ञापन
नैतिक मूल्यमान्यता भन्नाले प्रशासनिक कर्ममा सत्यनिष्ठा, निष्पक्षता, पारदर्शिता र सेवा भावको अवलम्बन हो। जब कर्मचारी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको भलाइ सोच्छन्, तब भ्रष्टाचार, द्वन्द्व र अन्याय कम हुन्छ। निष्ठावान प्रशासनले नीति र योजना कार्यान्वयनमा सही दिशा दिन्छ र दीर्घकालीन विश्वास सिर्जना गर्छ। उदाहरण स्वरूप, नेपालजस्ता लोकतान्त्रिक देशमा कर्मचारीले संवैधानिक र कानुनी जिम्मेवारी पालन गर्नुपर्ने बाध्यता हुन्छ; यसले निष्ठा र नैतिकताको अभ्यासलाई सुनिश्चित गर्छ।
बिज्ञापन
अनुशासन भनेको प्रशासनिक प्रक्रियामा नियम पालन, समयबद्ध कार्यसम्पादन, जिम्मेवारीको स्पष्टता र कार्यप्रणालीको नियमित अनुगमन हो। अनुशासित प्रणालीले अनियमितता, विलम्ब र कार्यकुशलता घटाउने प्रवृत्ति हटाउँछ। कर्मचारीले आफ्नो कार्यक्षेत्रमा स्पष्ट लक्ष्यअनुसार काम गर्दा परिणामस्वरूप नागरिक सन्तुष्टि बढ्छ र प्रशासनको प्रभावकारिता मजबुत हुन्छ।
प्रशासनिक प्रणालीको दिगो विकास र सुशासनको आधार नै निष्ठा र अनुशासनमा निहित हुन्छ। आधुनिक प्रशासनिक पुनर्जागरणमा यी दुई मूल्य आचारसंहिता वा नियम–कानुनको पालनामा मात्र सीमित छैनन्, बरु कार्यक्षमता, पारदर्शिता र जवाफदेहिताको प्रत्यक्ष स्रोत हुन्। निष्ठा र अनुशासनले प्रशासनिक संरचनामा नैतिक स्थिरता ल्याउँछ, जसले कर्मचारीलाई काम सम्पादन गर्न मात्र होइन, जिम्मेवारी र उत्तरदायित्वलाई सम्मान गर्न पनि प्रेरित गर्छ।
बिज्ञापन
सिद्धान्तको दृष्टिले, निष्ठा व्यक्तिको कर्तव्यप्रतिको अडिग प्रतिबद्धता, इमान्दारी र सार्वजनिक हितमा कर्म गर्न सक्ने मानसिकता बुझिन्छ। अनुशासन भनेको नियम, प्रक्रिया र कार्यपद्धतिमा दृढता, समयपालन, सहकार्य र कार्यान्वयनको सतत पालनाको माध्यम हो। यी दुई मूल्य बिना प्रशासनिक प्रणाली कागजी संरचना वा अधिकारको ढाँचा बन्न सीमित रहन्छ। जबसम्म कर्मचारी निष्ठापूर्ण र अनुशासित हुँदैनन्, नीति र योजना कार्यान्वयनमा प्रभावकारी परिणाम ल्याउन सक्दैन।
व्यवहारिक दृष्टिले, निष्ठा र अनुशासनलाई प्रशासनमा लागू गर्न विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ। कर्मचारी छनोट, प्रशिक्षण, मूल्याङ्कन प्रणाली, पुरस्कार–दण्डको उचित व्यवस्थापनले निष्ठा र अनुशासनलाई प्रवद्र्धन गर्छ। उदाहरणका लागि, नियमित कार्यअवलोकन, सेवा प्रदायक र सेवाग्राहीबीचको पारदर्शी अन्तरक्रिया, र समन्वयकारी टोली अभ्यासले प्रशासनिक कार्यप्रवाहमा अनुशासन र जिम्मेवारी सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
नेपालको सन्दर्भमा, विगतमा प्रशासनिक ढिलासुस्ती, अनियमितता र अनुत्तरदायित्वले सेवा प्रवाहमा चुनौतीहरू सिर्जना गरेका छन्। यस्ता समस्यालाई समाधान गर्न निष्ठा र अनुशासनमा आधारित सुधार अपरिहार्य छ। विशेषगरी सार्वजनिक निकायमा नीति निर्माणदेखि सेवा वितरणसम्म पारदर्शिता र उत्तरदायित्व कायम राख्न सकिँदा मात्र नागरिकको विश्वास र प्रशासनिक कार्यक्षमता दुवै सुदृढ हुन्छ।
नेपालमा प्रशासनिक प्रणाली राष्ट्रको विकास र समृद्धिको मेरुदण्ड हो। तर विगतदेखि वर्तमानसम्मको प्रशासनिक अभ्यासले देखाएको छ कि निष्ठा र अनुशासनको अभावले सरकारी योजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा ठुलो चुनौती प्रस्तुत गरेको छ। भ्रष्टाचार, अनियमितता, उत्तरदायित्वको कमी र सेवामा ढिलासुस्तीले नागरिकमा विश्वासको कमी निम्त्याएको छ। यस्ता असंरचित कार्यप्रवाहले विकास प्रक्रिया सुस्त बनाएको छ र सामाजिक न्यायको मार्गमा बाधक बनेको छ। संविधानले पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त प्रशासनको व्यवस्था गरे पनि व्यवहारमा यी मूल्यहरू कमजोर रहेका छन्। यसैले, निष्ठा र अनुशासनमा आधारित प्रशासनिक पुनर्निर्माण नेपालको वर्तमान आवश्यकता बन्न पुगेको छ।
प्रशासनिक सुधारको सफलता कर्मचारीको निष्ठा र अनुशासनमा निर्भर गर्छ। निष्ठा भन्नाले कर्मचारीको आफ्नो कर्तव्यप्रतिको पूर्ण समर्पण, इमानदारी र सार्वजनिक हितमा काम गर्ने प्रतिबद्धता जनाउँछ। अनुशासन भनेको नियम, प्रक्रिया, समयपालन, सहकार्य र कार्यान्वयनको सतत अभ्यास हो। यी मूल्यहरू अभावमा प्रशासनिक प्रणाली ढिलासुस्ती, असंगत निर्णय, अनियमितता र भ्रष्टाचारको जालमा फस्छ। यसको प्रत्यक्ष प्रभाव नागरिक र सरकारबीचको विश्वासको कमी, सेवा प्रवाहमा बाधा, र सामाजिक असमानता बढ्नुमा देखिन्छ।
नेपालको वर्तमान प्रशासनमा यस्ता कमजोरीहरू स्पष्ट छन्। कर्मचारीको व्यक्तिगत स्वार्थ, राजनीतिक दबाब र कम पारदर्शिता सेवाको गुणस्तरमा गिरावट ल्याउँछ। यस सन्दर्भमा निष्ठा र अनुशासन कायम गर्न पारदर्शिता, जवाफदेहिता र गुणस्तर सुधार अपरिहार्य हुन्छ। उदाहरण स्वरूप, कर्मचारी छनोटमा प्रतिस्पर्धात्मक परीक्षा, मूल्याङ्कन प्रणाली, र व्यावहारिक तालिमले योग्य, निष्ठावान र सक्षम व्यक्तिलाई मात्र प्रशासनमा प्रवेश सुनिश्चित गर्छ।
साथै, निरन्तर मूल्याङ्कन र निगरानी, कानुनी कारबाही, र उत्तरदायित्व प्रवर्द्धनले भ्रष्टाचार नियन्त्रण र अनुशासन कायम गर्न मद्दत गर्छ। कर्मचारीलाई केवल नियम पालन गर्ने बाध्यता मात्र नभई, सेवा भाव र पेशागत आचार–व्यवहारमा आन्तरिक प्रेरणा विकास गरिनु आवश्यक छ।
सांस्कृतिक र सामाजिक मूल्यहरू—इमानदारी, कर्तव्यपरायणता, सहिष्णुता—प्रशासनिक सुधारको आधार हुन्। नेपालको विविध जाति, भाषा र संस्कृतिमा यी मूल्यहरूको अभ्यासले मात्र संस्थागत विश्वास र सहकार्य प्रवर्द्धन हुन्छ। प्रेरणादायक नेतृत्व र सकारात्मक कार्यसंस्कृतिले निष्ठा र अनुशासन सुनिश्चित गर्छ। नेतृत्व स्वयं अनुशासित र निष्ठावान नभए, प्रणालीगत सुधार सम्भव हुँदैन।
सेवा प्रवाहमा ढिलासुस्ती र गैरजिम्मेवारीपन रोक्न सेवा अनुशासन ऐन, कार्यसञ्चालन निर्देशिका, अनुशासन समिति, सघन अनुगमन, र उजुरी व्यवस्थापन प्रणाली जस्ता संरचनात्मक उपाय आवश्यक छन्। डिजिटल प्रविधिले पारदर्शिता, गति, र नागरिक सहभागिता सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
निष्ठा र अनुशासन प्रशासनिक सुधारको मेरुदण्ड हुन्। जबसम्म यी मूल्यहरू प्रणालीगत रूपमा संस्थागत हुँदैनन्, तबसम्म सुशासन, प्रभावकारी सेवा प्रवाह, र जनविश्वासको पूर्ण सुनिश्चितता असम्भव छ। यी मूल्यहरूको अभ्यासले मात्र प्रशासनिक गुणस्तर सुधार, राष्ट्रको समृद्धि, सामाजिक न्याय र विकासका लक्ष्य प्राप्त गर्न सक्ने क्षमता प्रदान गर्छ।
निष्ठा वैयक्तिक सदाचार मात्र होइन, यो संस्थागत संस्कार पनि हो। यदि एउटा कार्यालयको वातावरण नै भ्रष्ट र अकर्मण्य छ भने, नयाँ आउने कर्मचारी पनि त्यसै प्रवृत्तिमा लिप्त हुने सम्भावना रहन्छ। त्यसैले, निष्ठालाई प्रणालीको आधार बनाउन विभागीय संस्कृति सुधार आवश्यक हुन्छ। कार्यालयहरूको काम गर्ने तरिका, रिपोर्टिङ पद्धति, निगरानी संयन्त्र र सार्वजनिक उत्तरदायित्वका मापदण्डमा व्यापक सुधार ल्याउनुपर्छ। इमानदार कर्मचारीलाई पुरस्कृत गर्ने र अनियमितता देखाउनेलाई सजाय दिने प्रणाली मजबुत हुनुपर्छ।
जनताको प्रशासनप्रतिको धारणा परिवर्तन गर्न सञ्चार, शिक्षा र जनचेतनाका अभियानहरू सञ्चालन गरिनुपर्छ। जनताको सेवा पाउने अधिकारबारे जानकारी, उजुरी गर्ने तरिका, अनुगमनमा जनसहभागिता र प्रशासनप्रतिको जनताको प्रतिक्रिया महत्वपूर्ण माध्यम हुन सक्छ। यसले प्रशासनमा जनउत्तरदायिता र पारदर्शिता बढाउँछ। साथै, जनप्रतिनिधिहरूले पनि प्रशासनसँग समन्वयमा जनचाहना अनुसारको सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेछ। जब जनताले आफ्ना सेवाहरू सहज, छिटो र निष्पक्ष रूपमा प्राप्त गर्न थाल्छन्, तब मात्र निष्ठा र अनुशासनको प्रभाव देखिन्छ।
निष्ठा र अनुशासन प्रशासनको आत्मा हुन्। निष्ठा बिना कुनै पनि कर्मचारीबाट निष्पक्ष, जनउत्तरदायी र प्रभावकारी सेवा अपेक्षा गर्न सकिँदैन। निष्ठाले कर्मचारीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सेवामा समर्पित बनाउँछ। त्यस्तै, अनुशासन प्रशासनको आधारशिला हो, जसले नियमअनुसार काम गर्ने, समयपालन गर्ने र जिम्मेवारी निर्वाह गर्ने संस्कार प्रदान गर्छ। यी दुबै मूल्यहरू प्रशासनमा स्थापित भएमा मात्र जनताको विश्वास बढ्छ, सेवा प्रवाह प्रभावकारी हुन्छ र सुशासन सम्भव हुन्छ।
जब निष्ठा र अनुशासन हराउँछ, तब अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारले प्रशासनलाई खोक्रो बनाउँछ, जसले राष्ट्रको विकास अवरुद्ध पार्छ। ती बिना नीति, योजना र विकासका हरेक प्रयास खोक्रा सावित हुन्छन्। प्रशासनिक पुनर्निर्माण भनेको संरचनात्मक सुधार मात्र होइन, त्यो नैतिक रूपान्तरण हो। यसमा निष्ठा र अनुशासनले दिशा देखाउने पथप्रदर्शकको भूमिका खेल्दछन्। सशक्त र नैतिक प्रशासन विकासको मेरुदण्ड बन्न सक्दछ, यदि त्यसले जनतालाई केन्द्रमा राखेर पारदर्शी, जवाफदेही र अनुशासित कार्यसंस्कृति अंगाल्न सकेमा। निष्ठा र अनुशासनले मात्र प्रशासनलाई सुचारू र गुणस्तरीय बनाउँदैन, यसले संस्थागत संस्कृति पनि स्थायी बनाउँछ। कर्मचारीहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको लक्ष्य र जनताको हितमा काम गर्न सिक्छन्। यसले प्रशासनिक निर्णयहरूमा न्याय, समानता र दिगो विकासको सुनिश्चितता ल्याउँछ।
निष्ठा र अनुशासनमा आधारित प्रशासनिक सुधार शासनको नैतिक र व्यावहारिक आधारको पुनर्स्थापना हो। जब प्रशासनिक संरचना नैतिक मूल्य, कर्तव्य–बोध र अनुशासनमा आधारित हुन्छ, तब मात्र दिगो सुशासन, प्रभावकारी सेवा प्रवाह र नागरिक सन्तुष्टि सुनिश्चित गर्न सकिन्छ।
सकारात्मक प्रशासनिक परिवर्तनका लागि निष्ठा र अनुशासनको सहकार्य आवश्यक छ। केवल नियम पालन मात्र पर्याप्त हुँदैन; कर्मचारीको आन्तरिक प्रेरणा, मूल्य र जिम्मेवारीबोधले नै सुधारलाई स्थायित्व दिन्छ। यसका लागि प्रशिक्षण, मूल्य अभिवृद्धि कार्यक्रम, नैतिक पाठ्यक्रम, स्पष्ट कार्यविवरण र निष्पक्ष मूल्यांकन प्रणाली विकास गर्नुपर्छ। यस्तो संरचनाले भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र व्यक्तिगत स्वार्थबाट हुने विकृति कम गर्न सहयोग गर्छ।
सकारात्मक प्रशासनिक परिवर्तन स्थायी हुनको लागि निष्ठा, नैतिक मूल्यमान्यता र अनुशासन अनिवार्य पक्ष हुन्। यी गुणहरूले प्रशासनिक प्रणालीलाई पारदर्शी, उत्तरदायी र सेवाग्राहीमुखी बनाउँछन्। जब कर्मचारी मूल्यवान्, अनुशासित र जिम्मेवार हुन्छन्, तब मात्र नीति, योजना र सेवा प्रवाह प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ। दीर्घकालीन विकास, विश्वास र समाजको स्थायित्व सुनिश्चित गर्न नैतिक मूल्यमान्यता र अनुशासनको अभ्यस्त अभ्यास अत्यावश्यक छ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)