स्थायी सरकार मानिएका व्युरोक्रेसी माथि व्यवसायीहरु कसरी हावी हुँदैछन् ? राजनीतिक संरक्षणमा समानान्तर सत्ता चलाइरहेको एउटा व्यवसायीको स्वार्थ विपरित काम गर्दा केही महिना अगाडि सरुवामा परे एक जना सहसचिव । समानान्तर निर्माण सेवाका नाममा समानान्तर सत्ता चलाइरहेका अच्युत खरेलको स्वार्थ विपरित काम गर्दा सहसचिव प्रभात कुमार झा मन्त्रालयमा तानिएका हुन । त्यस अघि झा,सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुखको भूमिकामा थिए ।
बिज्ञापन
ग्वार्कोमा निर्माणधीन फ्वाइओभरको काम गुणस्तरहिन भएको र गुणस्तरीय काम गर्न भन्दै पत्राचार गर्दा उनी त्यहाँबाट खेदाइमा परे । फ्लाइओभर निर्माणका क्रममा निर्माण कम्पनीले स्ल्याभहरु मापदण्डविपरित राखेका, विभिन्न पार्टको डिजाइन सडक विभागमा उपलब्ध नगराएपछि त्यसमा कैफियत रहेको कारण सुधार गर्ने निर्देशन दिँदा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भए । उनलाई अहिले मन्त्रालयको सडक ट्राफिक हेर्ने गरी जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले त्यहाँ निर्देशकको रुपमा महिना दिन अगाडि दिप वराहीलाई पठाएको छ । त्यही ग्वार्काे फ्लाइ ओभरमा कच्चा काम भएको कारण यही चैत्र महिनाभित्र सक्ने योजना बनाइएको काम फेरि पर धकेलिएको छ ।
फ्लाइ ओभरका ८२ प्रतिशत काम सकिँदा निर्माण गुणस्तरहीन भएको कारण फेरि भत्काइएको छ । समानान्तर निर्माण सेवाल निर्माण गरेको उक्त फ्लाई ओभरमा लगाएको प्रिकास्ट प्यानल भत्काइएको हो । दुई महिना दिन अगाडिमात्र निर्देशक प्रभात कुमार झाले उक्त गुणस्तहीन काम सच्याउन पत्र काट्दा उनलाई दबाबका आधारमा मन्त्रालयमा तानिएको थियो । तर अहिले सोही र्खाल आफैँ चर्किन थालेपछि पुन भत्काउन निर्देशन दिइएको छ ।
बिज्ञापन
२०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी फ्लाइओभर निर्माणको काम थालिएको हो । तर अहिलेसम्म सकिएको छैन । बरु यही बीचमा कहिले ठेकेदार भाग्ने, कहिले कमसल काम गरेका कारण भत्काएर काम अगाडि बढाउनुपर्ने अबस्था आइरहेको छ । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने थियो । तर सो समयमा ठेकेदारले काम नसकेपछि ०८१ असारसम्मका लागि म्याद थपियो । त्यहाँबाट पनि म्याद थपियो पुस ९ सम्मका लागि । उक्त समयभित्र काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो । यो बीचमा फेरि गुणस्तरहीन काम गरेको भेटिएसँगै समानान्तर झमेलामा परिरहेको हो ।
फ्लाइओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभीले गरिरहेको छ । उसो त समानान्तरले कतिसम्म कच्ची काम गर्दछ भन्ने केही उदाहरण हेरौं,रामशाहपथस्थित महान्यायधिवक्ताको कार्यालय,गोदावरीको सभाहल,सडक विभागको कार्यालय । १ अर्ब ३३ करोड हाराहारी अनुमानित बजेट रहेको उक्त कार्यालयको बोलपत्र खुल्दा सबैभन्दा कम रकम ७१ करोडमा बोल कबोल गरी सार्वजनिक खरिद ऐनअनुसार, उनै अच्युतप्रसाद खरेलकै कम्पनीले ठेक्का पाएको थियो तर, अग्नी खरेलले उद्घाटन गरेको ५ महिनामै सो भवनबाट पानी चुहिएको थियो भने फल्स सिलिङ खस्यो, लिफ्ट नै नचल्ने अवस्थामा पुग्यो । त्यही कम्पनीले ८१ करोड ६ लाख ४ सय ३ रूपैयाँमा देशकै ठूलो सभाहल (गोदावरी) को ठेक्का हात पारेको थियो । ०७८ वैशाख ३१ गते केपी शर्मा ओलीले सो सभाहलको उद्घाटन गरे । दुई साता नबित्दै छत चुहिएको थियो । यस्तै घटना सडक विभागको कार्यालयदेखि ग्वार्काे फ्लाइ ओभरसम्म देखिएको छ ।
बिज्ञापन
लो बिड’ (कम मूल्य कबुल) गरेका भरमा ठेक्का पार्ने र यनीहरुबाट कुस्त कमिसन लिने धन्दा पछिल्लो समय कर्मचारीहरुबीच व्याप्त छ । पछिल्लो समय यस्ता बदनाम कमाएका निर्माण व्यवसायीहरुले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिन्छन् र प्रतिस्पर्धा नै नहुने अवस्था सिर्जना गरेर अर्बौंको ठेक्का हात पार्दै आएका छन । ठूला ठेक्कामा ‘फिक्सिङ’ गर्नेमा अग्रपक्तिमा नाम आउँछ समानान्तर निर्माण सेवाको ।