प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका सबै मन्त्रालय र निकायसँग कर्मचारीसम्बन्धी विस्तृत विवरण माग गर्दै कडा निर्देशन जारी गरेको छ। प्रधानमन्त्री बालेन शाहको निर्देशनमा सिंहदरबारभित्र कार्यरत कर्मचारीहरूको अवस्था, दरबन्दी, करार कर्मचारीको संख्या तथा लामो समयदेखि एउटै अड्डामा बसेका कर्मचारीहरूको विवरण तत्काल उपलब्ध गराउन भनिएको हो।
प्रधानमन्त्री कार्यालयले विशेषगरी सिंहदरबारभित्रको दरबन्दी संरचना र वास्तविक कार्यरत कर्मचारीबीचको अवस्थाबारे स्पष्ट तथ्यांक संकलन गर्न यस्तो विवरण माग गरेको स्रोतले जनाएको छ। साथै, करार कर्मचारीहरूको बढ्दो संख्या र त्यसले निम्त्याएको अव्यवस्थित अवस्थाबारे समेत चासो देखाउँदै करारमा कार्यरत सबै कर्मचारीको पूर्ण विवरण पठाउन निर्देशन दिइएको छ।
बिज्ञापन
प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरूमा दुई वर्षभन्दा बढी समयदेखि एउटै अड्डामा कार्यरत कर्मचारीहरूको सूची छुट्टै रूपमा पठाउन भनेको छ। लामो समयदेखि एउटै स्थानमा जमेका कर्मचारीहरूको अवस्थाबारे सरकार गम्भीर रूपमा अध्ययन गर्न लागेको संकेत यसबाट मिलेको छ।
त्यसैगरी सिंहदरबारभित्र सञ्चालनमा रहेका क्यान्टिनहरूको विवरण पनि माग गरिएको छ। क्यान्टिनको संख्या, सञ्चालनको अवस्था, व्यवस्थापनको मोडालिटी तथा सेवा उपयोगको अवस्थाबारे पनि जानकारी पठाउन भनिएको छ।
प्रधानमन्त्री कार्यालयले माग गरेको सम्पूर्ण विवरण आजै बुझाउनुपर्ने गरी मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। छोटोसमयसीमासहितको यस्तो निर्देशन आएपछि मन्त्रालयहरूमा हतारहतार विवरण संकलन गर्ने काम भइरहेको स्रोतले जनाएको छ।
बिज्ञापन
सिंहदरबारभित्र कर्मचारी व्यवस्थापन, करार नियुक्ति र लामो समयदेखि एउटै स्थानमा बस्ने प्रवृत्तिबारे सरकारले कडाइ गर्ने संकेतका रूपमा यो कदमलाई हेरिएको छ। प्रधानमन्त्री कार्यालयले प्राप्त हुने विवरणका आधारमा कर्मचारी व्यवस्थापन, सरुवा प्रणाली तथा प्रशासनिक संरचनामा थप निर्णय लिन सक्ने संकेत समेत देखिएको छ।
































