नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) द्वारा सञ्चालित ५३औँ पर्वतारोहण टोलीसँग खटिने सम्पर्क अधिकृत लियाजो अफिसरको अनुस्थापन तालिम सम्पन्न भएको छ। यस वर्ष नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सम्पर्क अधिकृत बन्न ३०० जना सरकारी कर्मचारीलाई तालिम प्रदान गरेको जनाएको छ । नाथमले नायब सुव्वा तहदेखि राजपत्र अंकित द्धीतिय श्रेणीसम्मका र नेपाली सेना गरी ३ सयलाई यस प्रकारको तालिम दिएको जनाएको छ । ६ दिनको सैद्धान्तिक र एक दिन प्राटिकल गरी सात दिने तालिममा सहभागी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
बिज्ञापन
तर, सम्पर्क अधिकृत खटाउने व्यवस्थाको औचित्य र विशेषगरी छनौट प्रक्रियाको पारदर्शितामाथि विगतदेखि नै प्रश्न उठ्दै आएको छ। पर्यटन मन्त्रालयबाट खटाइने सम्पर्क अधिकृतको छनौटका लागि स्पष्ट र न्यायोचित मापदण्डको अभाव रहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्या घटिरहेको छ तर लियाजो अफिसर (सम्पर्क अधिकृत) बनेर जानका लागि हाकिमका आफन्त,दलगत कर्मचारी ट्रेड युनियनकर्मीहरुकै बोलबोला रहेको भेटिएको छ । बिगतको खटन पटनमा दलगत कर्मचारी ट्रेड युनियन,मन्त्री,सचिव निकटका आफन्तहरुका् बोलबोला हुँदै आएको थियो । मन्त्री, सचिवदेखि ट्रेड युनियनको आडमा हिमाल गएर आधार शिविरसम्म नपुगी फर्कने रोग उस्तै छ । अघिल्लो आर्थिक वर्ष ११५ जना अफिसर गएमध्ये केही त बीचबाटै फर्किएका पर्यटन विभागकै अभिलेख छ ।
नेपाल सरकारको प्रतिनिधिको रूपमा पर्वतारोहण टोलीसँग खटाइने सम्पर्क अधिकृतको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले सरकारी निकाय र आरोही टोलीबीच समन्वय, नियमको पालना तथा आपतकालीन अवस्थाको व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँछ। सरकारले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणमा जाने टोलीसँग सरकारी कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाउँदै आएको छ । यसरी खटिएका सम्पर्क अधिकृतले हिमाल आरोहण टोलीको सरकारी कामकाजदेखि तिनले हिमालमा गर्ने गतिविधि, सफल आरोहण गरे वा नगरेको रेकर्ड राख्नेलगायत काम गर्ने गर्छन् । साथै, एकातिर आफ्नो नियमित जागिरमा तलबी बिदा पाइने, अर्कोतर्फ भत्ता सुविधा र घुमफिरसमेत गर्न पाइने हुँदा सम्पर्क अधिकृतमा कर्मचारीहरुको आकर्षण धेरै देखिन्छ । एकातर्फ आफ्नो नियमित जागिरमा तलबी बिदा पाइने, अर्कोतर्फ भत्ता सुविधा र घुमफिरसमेत हुने गरी आकर्षक काम । सोहीकारण हरेक वर्ष सरकारी कर्मचारीबीच पर्वतारोहण टोलीको सम्पर्क अधिकृत बन्न तीव्र प्रतिस्पर्धा नै चल्छ । तर, यसरी सम्पर्क अधिकृत बन्न विना तालिम भने सम्भव छैन । विभागलाई खटाएको स्थानमा पुगेको कागजात, फोटो भिडियो बुझाउनुपर्छ पनि भनिएको छ । कुनै पनि विदेशीले आरोहण गरेको वा नगरेको प्रमाणित गर्ने अधिकार जियाजो अफिसरलाई हुन्छ । तर, विडम्बना जसले हिमाल आरोहण गरेको भनी प्रमाणित गर्छ, ऊ आफैँचाहिँ हिमाल चढ्दैन ।
अझैं विगतका विवरणहरू हेर्दा केही व्यक्तिहरूले अनुस्थापन तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेपछि १०–१२ वर्षसम्म अवसरको प्रतीक्षामा बस्नुपरेको देखिन्छ। यसको विपरीत, केही व्यक्तिहरू भने एउटै व्यक्तिलाई ७–८ पटकसम्म सम्पर्क अधिकृतको रूपमा खटाइएको अभिलेखहरूमा भेटिन्छन्। यसले छनौट प्रक्रिया दक्षता र योग्यताका आधारमा गरिएको हो वा शक्ति, पहुँच तथा आर्थिक स्वार्थको प्रभावमा परेको हो भन्ने गम्भीर प्रश्न खडा गरेको छ।
बिज्ञापन
सम्पर्क अधिकृत पर्वतारोहण क्षेत्रको सुशासन, पारदर्शिता र अन्तर्राष्ट्रिय छवि कायम राख्न महत्वपूर्ण कडी मानिन्छ। यस्तो जिम्मेवारीपूर्ण पदमा हुने असमान र अपारदर्शी नियुक्तिले सामाजिक न्याय तथा सुशासनको सिद्धान्तमाथि नै प्रश्न उठाउने देखिन्छ। सुशासन र भ्रष्टाचार निवारणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै जनताबाट जनादेश प्राप्त वर्तमान सरकारबाट भने निष्पक्ष, पारदर्शी र समावेशी छनौट प्रक्रियाको अपेक्षा गरिएको छ। सरोकारवालाहरूले स्पष्ट, वस्तुनिष्ठ र मापनयोग्य मापदण्ड निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका छन्।
अब सम्पर्क अधिकृत छनौट प्रक्रिया विगतकै जस्तो अन्यायपूर्ण अभ्यासको निरन्तरता हुन्छ वा सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई आत्मसात गर्दै सुधारको दिशामा अघि बढ्छ भन्ने कुरा सरकारको आगामी कदमबाट स्पष्ट हुनेछ। यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ।
































