मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले साता दिन पछि हुन लागेको निर्वाचनका लागि कर्मचारी खटन पटन गर्दा फेरि दलीय कर्मचारीहरु नै राखेको पाइएको छ । यस अघि राजनीतिक दलमा आवद्ध भएका कर्मचारीलाई निर्वाचनमा परिचालन गरिएको बिषयमा कर्मचारी प्रेसले समाचार प्रकाशन गरेसँगै विवरण संशोधन गरी कार्यालयले दोस्रो अद्यावद्यिक विवरण सार्वजनिक गरेको थियो । जसमा समेत अझैं एक दर्जन कर्मचारी ट्रेड युनियनमा आवद्ध रहेको पाइएको छ ।
बिज्ञापन
एक मात्र निर्वाचन क्षेत्र रहेका रसुवाका ५७ वटा निर्वाचन केन्द्रका लागि कूल ३ सय ४८ जना कर्मचारी खटाइदैं छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार,५९ जना मतदान अधिकृत, ५९ जना सहायक मतदान अधिकृत, १७१ जना सहायक कर्मचारी र ५९ जना सहयोगी कर्मचारी खटाइनेछन्। प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी ६ जना कर्मचारी खटाएको छ । पाँच गाउँपालिकामध्ये उत्तरगया गाउँपालिकामा ११, कालिका गाउँपालिकामा १२, नौकुण्ड गाउँपालिकामा १५ र गोसाइँकुण्ड गाउँपालिकामा १० मतदान केन्द्रमा कर्मचारी खटाइदा केन्द्रीय निर्वाचन आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२ विपरित कर्मचारी ट्रेड युनियनमा आवद्ध कर्मचारी खटन पटन गरिएको पाइएको हो ।
जस अनुसार,केशवराज विष्ट,कृष्ण भण्डारी,बुद्धीनाथ न्यौपाने,हर्क बहादुर तमाङ,कृष्ण बहादुर विक,सुदिप कुमार न्यौपाने,सुरज कुमार प्याकुरेल,कमल प्रसाद पौडेल,ईश्वरी पौडेल,विजय राना तमाङ,तारापति विसी विभिन्न दल निकट कर्मचारी संगठनमा आवद्ध रहेका ती संघ संघठनको जिल्लाका पदाधिकारी रहेको विवरणहरु प्राप्त भएका छन् ।
जसमध्ये राष्ट्रिय कर्मचरी संगठन,नेपाल निजामती कर्मचारी युनियन र निजामती कर्मचारी संगठनमा जिल्ला तहका केही उपाध्यक्ष,सदस्य,पालिका सदस्यको जिम्मेवारीमा रहेको खुलेको छ ।
प्राप्त विवरण अनुसार,वडा कार्यालय चित्तिमा सहायक मतदान अधिकृतका रुपमा खटाइएका कृष्ण भण्डारी,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति रसुवाका उपाध्यक्ष हुन । यस्तै,नव जीवन प्रावि यार्साका सहायक कर्माचारीका रुपमा खटाइएका केशव राज विष्ट राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति रसुवाका सदस्य हुन । प्राप्त विवरण अनुसार,गोसाइकुण्ड मावि सरस्यूमा मतदान अधिकृतका रुपमा खटाइएका बुद्धिनाथ न्यौपाने निजामती कर्मचारी संगठन कालिका गाउँपालिका कार्यसमिति रसुवाका अध्यक्ष हुन ।
बिज्ञापन
हाकु माविको मतदान अधिकृतको जिम्मेवारी पाएका हर्कबहादुर तमाङ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति रसुवाका उपसचिवको जिम्मेवारीमा रहेको खुलेको छ । भूमिदेवी माविमा मतदान अधिकृतको जिम्मेवारी पाएका कृष्ण बहादुर विक राकस,जिल्ला कार्यसमिति रसुवाको उपाध्यक्ष रहेको बताइएको छ । सिमबन्दी माविको सहायक कर्मचारीका रुपमा खटाइएका सुदिप कुमार न्यौपाने कर्मचारी युनियन जिल्ला कमिटि सदस्य,सोही युनियनमा आवद्ध रहेका सुरज प्याकुरेललाई समेत निर्वाचनमा खटाइएको रसुवाका कर्मचारीहरुले जनाएका छन् ।
यस्तै,ग्रे प्राविका सहायक मतदान अधिकृत कमल प्रसाद पौडेल कर्मचारी युनियन जिल्ला कमिटि सदस्य रहेका छन् भने चिप्लेटी प्राविमा सहयोगीका रुपमा खटाइएका ईश्वरी पौडेल एमाले निकट निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति रसुवा सदस्य र त्यहीँ खटिएका विजय राना समेत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति रसुवाका सदस्य रहेको विवरण रसुवाका कर्मचारीहरुले तयार पारेका छन् । यस बिषयमा रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीसँग जिज्ञासा राख्दा यो बिषयलाई आफूले नोट गरेको बताएका छन् । यसलाई प्रमाणीत गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने उनले जनाएका छन् ।
जबकी केन्द्रीय निर्वाचन आयोगले आगामी निर्वाचनमा कर्मचारी ट्रेड युनियनमा आवद्ध कर्मचारीहरुलाई मतदानमा नखटाउने स्पष्ट नीति लिएको छ । निर्वाचन आयोगद्वारा जारी जनशक्ति व्यवस्थापनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२’ मा यस्तो व्यवस्था गरिएको भए । निर्देशिकाको दफा २२ अनुसार निजामती कर्मचारी, शिक्षक वा अन्य सरकारी निकायमा कार्यरत राष्ट्रियस्तरको ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनको काममा निषेध गरेको छ । मतदानलाई निष्पक्ष र पारदर्शी बनाउनका लागि भन्दै यस पटक यस्तो व्यवस्था राखिएको छ । तर दोस्रो पटकको संशोधनमा समेत उस्तै गडबडी गरेको विवरण कर्मचारी प्रेसले हात पारेको छ ।
निर्वाचन आयोगका अनुसार,जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वमा ‘जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समिति’ रहने छ । यस समितिमा जिल्ला समन्वय अधिकारी, कोष नियन्त्रक र जिल्ला प्रहरी प्रमुख सदस्य रहनेछन् भने निर्वाचन अधिकारी सदस्य–सचिव रहनेछन् । यो समितिले जिल्ला भित्रका सरकारी कर्मचारी र शिक्षकको विवरण अद्यावधिक गर्ने र मतदान केन्द्रमा आवश्यक पर्ने जनशक्तिको सूची तयार पार्ने काम गर्दछ ।
रसुवा जिल्लामा यस अघि उमेद्धारकै आफन्तलाई मतदान अधिकृत बनाएर खटाइएको बिषयमा कर्मचारी प्रेसले समाचार प्रकाशन गरेको थियो । यस्तै,एक दर्जन कर्मचारीहरु दलगत ट्रेड युनियनमा आवद्ध रहेको समाचार प्रकाशन पछि सूची संशोधन गरेको थियो । तर दोश्रो पटक संशोधन सहित सूची प्रकाशन गर्दा समेत उस्तै गडबडी भएको भेटिएको हो ।
































