दर्शन मानव चेतनाको परम स्रोत हो, जसले जीवनका समस्त आयाम—व्यक्तिगत, सामाजिक, नैतिक र आध्यात्मिकतालाई अर्थपूर्ण बनाउँछ। यो व्यवहारमा विवेकपूर्ण, उत्तरदायी र सम्यक् निर्णय गर्ने मार्गदर्शक शास्त्र हो। पूर्वीय दर्शनले जीवनलाई कर्म, धर्म, मोक्ष र सामाजिक उत्तरदायित्वसँग जोड्ने दृष्टिकोण दिन्छ। यसले सार्वजनिक प्रशासनमा पनि नीतिगत निर्णय, सेवा प्रवाह र नागरिक सहभागितामा नैतिक आधार प्रदान गर्दछ।
बिज्ञापन
निर्वाचन लोकतन्त्र, नैतिक नेतृत्व र समाजको मूल्यमापनको परीक्षा हो। चुनावी आचार संहिता पालन, दिगो र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न पूर्वीय दर्शनका मूल्यहरूले मार्गदर्शन प्रदान गर्छ।निर्वाचनले लोकतन्त्रको मर्म र समाजको नैतिक स्तरको परीक्षा लिन्छ। जब नागरिक, उम्मेदवार र राजनीतिक दल सबैले आफ्नो कर्तव्यप्रति सचेत र जिम्मेवार हुन्छन्, तब मात्र निर्वाचन निष्पक्ष र पारदर्शी बन्न सक्छ।
पूर्वीय दर्शनले यही कुरामा मार्गदर्शन दिन्छ। यसको मूल शिक्षा सत्य, अहिंसा, स्वधर्म, आत्मसंयम र सेवा भावमा आधारित छ। गीता, उपनिषद् र बुद्धवाणीले काम, कर्म र कर्तव्यबोधमा निष्ठा राख्न सिकाउँछन्। जब उम्मेदवारले व्यक्तिगत लाभ होइन, जनकल्याणका लागि काम गर्छन्, तब मतदाता र समाज दुवैको विश्वास कायम रहन्छ।
निर्वाचनमा आचार संहिता पालन पूर्वीय मूल्यको प्रत्यक्ष अभ्यास हो। मतदातालाई प्रभावित पार्न प्रलोभन, डर वा भ्रान्तिको प्रयोग नगर्नु र सबै नागरिकलाई समान व्यवहार गर्नु धर्म र नैतिकताको पालन हो। बुद्धको अष्टाङ्गिक मार्गले सत्य बोल्न, करुणा देखाउन र हिंसा नफैलाउन सिकाउँछ। यही मूल्यले निर्वाचनको वातावरण शान्त, संयमित र निष्पक्ष बनाउँछ।
बिज्ञापन
पूर्वीय दर्शनले हामीलाई आत्मपरीक्षण र आत्मसंयममा जोड दिन्छ। उम्मेदवार, पार्टी र मतदाता सबैले आफ्नो आचरण निरन्तर मूल्याङ्कन गर्नु आवश्यक छ। स्वधर्मको पालनले निर्वाचनमा अनुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छ। यसले मतदातामा लोकतन्त्रप्रति भरोसा बढाउँछ।यसका अतिरिक्त, पूर्वीय मूल्यहरूले सामाजिक समावेशिता, समानता र दायित्वबोधलाई प्रोत्साहित गर्छ। जात, धर्म, क्षेत्र वा लिंगको आधारमा भेदभाव नगरी सबैको सहभागिता सुनिश्चित गर्दा निर्वाचन निष्पक्ष हुन्छ। नागरिकले अधिकारप्रति सजग रहँदा र जिम्मेवारीको अभ्यास गर्दा मात्र शासन प्रणाली दिगो र स्थिर रहन्छ।
पूर्वीय दर्शनले लोकतन्त्रलाई जीवन मूल्य र नैतिकता आधारित अभ्यास बनाउँछ। यसको अभ्यासले उम्मेदवार र मतदाताको आचार, नीति र व्यवहारमा सुधार ल्याउँछ। यही कारणले पूर्वीय मूल्यहरूको आत्मसातले मात्र निर्वाचन पारदर्शी, निष्पक्ष, सामाजिक न्यायमूलक र दीर्घकालीन स्थायित्वयुक्त बन्न सक्छ।
लोकतान्त्रिक अभ्यासमा चुनावी आचार संहिता पालन गर्नु आजको प्रमुख चुनौती हो। यसले उम्मेदवार, राजनीतिक दल र मतदाताबीच निष्पक्षता, पारदर्शिता र जवाफदेहिता कायम राख्छ। आचार संहितामा भ्रष्टाचार, लालच र दबाबविरुद्ध सतर्क रहनु, समान अवसर र समावेशी व्यवहार सुनिश्चित गर्नु, सामाजिक जिम्मेवारी पालन गर्नु र मतदातासँग पारदर्शी संवाद कायम गर्नु समावेश छन्। उम्मेदवारले व्यक्तिगत लाभका लागि मतदातालाई प्रलोभन दिन वा विभेदपूर्ण व्यवहार गर्न सक्दैनन्।
पूर्वीय दर्शनले यी मूल्यहरूको पालनमा मार्गदर्शन दिन्छ। बुद्धको अष्टाङ्गिक मार्गले सत्य बोल्ने, करुणा र अहिंसा पालना गर्ने, सहकार्य र संयम कायम राख्ने शिक्षा दिन्छ। गीता कर्मयोगले कर्ममा निष्ठा राख्न, फलप्रति आसक्ति नगर्न र जनहितमा समर्पित हुन सिकाउँछ। स्वधर्मले उम्मेदवार र पार्टीलाई आफ्नो कर्तव्यप्रति ईमानदार र उत्तरदायी रहन प्रेरित गर्छ।यसरी, चुनावी आचार संहिता कानुनी दायित्व नभई पूर्वीय दर्शनमा आधारित नैतिक अभ्यास पनि हो। यसको पालनले मात्र निर्वाचन निष्पक्ष, पारदर्शी र दिगो बन्न सक्छ। मतदाता र उम्मेदवार दुवैले आफ्नो आचरण मूल्याङ्कन गर्दै जिम्मेवारीपूर्वक काम गर्दा लोकतन्त्र बलियो र समाज स्थिर रहन्छ।
पूर्वीय दर्शनले समाज र शासन प्रणालीमा प्रभाव पार्छ। निर्वाचन प्रक्रियामा यसको अभ्यासले उम्मेदवार, दल र मतदाता सबैको आचरणमा सकारात्मक परिवर्तन ल्याउँछ।सर्वप्रथम, पारदर्शिता र निष्पक्षता सुनिश्चित हुन्छ। उम्मेदवार र चुनावी टिमले सबै नागरिकसँग समान व्यवहार गर्छन्, कुनै भेदभाव वा प्रलोभन प्रयोग गर्दैनन्। यसले मतदाताको विश्वास बढाउँछ र निर्वाचन प्रक्रिया सुशासित बनाउँछ।
पूर्वीय मूल्यहरूको अभ्यासले भ्रष्टाचारलाई कम गर्छ। लाभ, प्रभाव वा दबाबको माध्यमबाट मत प्राप्त गर्ने प्रयासलाई निरुत्साहित गरिन्छ। गीता र बुद्धका शिक्षाले कर्ममा निष्ठा र अहिंसात्मक दृष्टिकोणको महत्व सिकाउँछन्, जसले निर्वाचनको नैतिक आधार मजबुत बनाउँछ।यसले नागरिक उत्तरदायित्व प्रबर्द्धन गर्छ। मतदाताले विवेकपूर्ण निर्णय लिन प्रेरित हुन्छन् र व्यक्तिगत स्वार्थभन्दा पर समाजको हितमा सोच्छन्। सामाजिक समावेशिताको भावना बलियो हुन्छ, जसले सबै समुदायको समान सहभागिता सुनिश्चित गर्छ।
दीर्घकालीन दृष्टिले, पूर्वीय दर्शनले मूल्य–आधारित शासन प्रणाली र लोकतन्त्रप्रतिको विश्वास कायम राख्छ। यसले निर्वाचन प्रक्रियालाई केवल राजनीतिक क्रिया नभई नैतिक र सामाजिक अभ्यास बनाउँछ। परिणामस्वरूप, लोकतन्त्र दिगो, स्थिर र समावेशी हुन्छ।
२०७८–८२ प्रतिनिधि सभा निर्वाचनले नेपाललाई दिगो लोकतन्त्र र समाजिक न्यायको बाटोमा अगाडि बढाउने अवसर प्रस्तुत गरेको छ। यसका लागि आवश्यक छ कि उम्मेदवार, राजनीतिक दल र मतदाता सबैले पूर्वीय दर्शनका मूल्यहरू—सत्य, अहिंसा, स्वधर्म, सहिष्णुता र सेवा भाव—आत्मसात् गरून्।
यदि लोकतन्त्र, निर्वाचन र सार्वजनिक प्रशासनलाई आध्यात्मिक चेतना र नैतिक विवेकको माध्यम बनाएर हेरियो भने मात्र नेपाली समाज पारदर्शी, समावेशी र न्यायपूर्ण बन्न सक्छ।पूर्वीय दर्शन र पाश्चात्य वैज्ञानिक चेतनाको समन्वय प्रयोग गरी, वर्तमान निर्वाचन र भविष्यको शासन प्रणालीमा नैतिकता, दायित्व र जनकल्याण सुनिश्चित गर्न सकिन्छ। प्रत्येक नागरिक, उम्मेदवार र शासकले आत्मसंयम, सेवा भाव र सचेतनाको अभ्यास गर्दा मात्र लोकतन्त्रको वास्तविक मूल्य प्रकट हुन्छ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)


























