मानव जीवन बाह्य उपलब्धि, सामाजिक मान्यता वा भौतिक सम्पन्नतामा सीमित छैन। जीवनको सबैभन्दा गहिरो र जटिल प्रश्न “म को हुँ?” भन्ने आत्मसमीक्षा हो। यही प्रश्नले मानिसलाई आत्मचेतनाको यात्रातर्फ प्रेरित गर्छ। आत्मचेतना भन्नाले ज्ञान वा शिक्षा होइन, बरु आफ्नो अन्तर्मनको अवस्था, चाहना, कमजोरी, शक्ति र जीवनको उद्देश्यबारे स्पष्ट बोध गर्नु हो।
बिज्ञापन
इतिहास र दर्शनशास्त्रका पानाहरू हेर्दा आत्मचेतनाको खोजलाई मानव सभ्यताको केन्द्रमा पाइन्छ। उपनिषद्ले “आत्मविद्या”लाई सर्वोच्च ज्ञान छ भने, बुद्धदर्शनले आत्मज्ञानमार्फत मुक्तिको बाटो देखाएको छ। पश्चिमी चिन्तनमा पनि आफैलाई चिन्नुहोस् भन्ने सूत्र जीवनदर्शनको आधार बनेको छ। यसरी पूर्वीय र पश्चिमी दुवै परम्परामा आत्मपरिचयलाई जीवनको सर्वोच्च उपलब्धि मानिएको पाइन्छ।
बिज्ञापन
तर आजको भौतिकतावादी युगमा मानिसले बाहिरी दौडधुपमा आफ्नो अन्तर्मनलाई बिर्सिएको छ। प्रतिस्पर्धा, प्रलोभन, सामाजिक दबाब र उपभोगतावादी सोचका कारण व्यक्तिको चेतना अस्वस्थ र अधुरो बनेको छ। भित्री संसारसँग जडान नभएसम्म मानसिक शान्ति, आत्मसन्तोष र जीवनको वास्तविक उद्देश्य प्राप्त गर्न सकिँदैन।यसैले “भित्री संसारको यात्रा” आध्यात्मिक अभ्यास मात्र होइन, जीवनलाई समग्र रूपमा बुझ्ने आवश्यक साधना हो। आत्मचेतनाले नै मानिसलाई विवेक, सहानुभूति र नैतिकता प्रदान गर्छ। यही चेतनाले बाह्य उपलब्धिलाई अर्थ दिन्छ र जीवनलाई पूर्णतामा पुर्याउँछ।
मनुष्यको जीवन प्रारम्भदेखि नै बाह्य अनुभव र दृश्य घटनाहरूमा केन्द्रित हुन्छ। प्रारम्भिक अवस्थाबाट हामी संसारलाई चर्मदृष्टि अर्थात सतही दृष्टिकोणबाट हेर्छौं—जसमा सबै कुरा बाह्य रूप, घटना, र प्रभावको आधारमा मूल्याङ्कन हुन्छ। बाह्य दृष्टिकोणले प्रारम्भमा आवश्यक छ, किनभने यसले मानिसलाई जीवनका आधारभूत कार्य, सामाजिक सम्बन्ध, र वातावरणसँग तालमेल गर्न सक्षम बनाउँछ। तर, यहीं सतही दृष्टिले दीर्घकालीन मानसिक सन्तुलन, गहिरो समझ, र आत्म-ज्ञानमा बाधा पुर्याउन सक्छ।
बिज्ञापन
बिस्तारै जब व्यक्ति जीवनका अनुभव र चुनौतीसँग सामना गर्छ, तब उसमा आन्तरिक चिन्तनको आवश्यकता उत्पन्न हुन्छ। आन्तरिक चिन्तन बाह्य घटनामा प्रतिक्रिया जनाउनु मात्र होइन; यसले व्यक्ति आफूभित्रको भाव, विचार, इच्छा, र मूल्यलाई आत्मसमीक्षा गर्ने प्रक्रिया समेट्छ। यस चरणमा व्यक्ति आफ्नो व्यवहार, निर्णय, र प्रतिक्रिया प्रति सचेत हुन्छ र सतही दृष्टिबाट परिपक्व आत्मदृष्टितर्फ उन्मुख हुन्छ।
जब मानिस आफ्नो बाह्य प्रतिक्रिया मात्र नभई आन्तरिक प्रेरणा, डर, मोह, र आवश्यकतालाई बुझ्न थाल्छ, तब वास्तविक बोधको अनुभव हुन्छ। यस प्रक्रियाले उसको निर्णय क्षमता, सहिष्णुता, र मानसिक स्थायित्वमा सुधार ल्याउँछ। उदाहरणका लागि, क्रोध वा ईर्ष्याको अवस्था बाह्य परिस्थितिले प्रेरित हुन्छ भन्ने सोचाइबाट व्यक्ति माथि उन्मुक्त हुन्छ र आफ्नो प्रतिक्रिया नियन्त्रण गर्न सक्षम हुन्छ।
सकारात्मक आन्तरिक चिन्तनले आत्मदृष्टिको विकास गर्छ। आत्मदृष्टि आफ्नो वास्तविकता, मूल्य, लक्ष्य, र जीवनको उद्देश्यबारे गहिरो समझ हो। जब व्यक्ति सतही दृश्यको प्रभावबाट टाढा भएर आत्मदृष्टिमा केन्द्रित हुन्छ, तब उसले जीवनका चुनौतीलाई अवसरको रूपमा हेर्छ, सम्बन्धहरूलाई गहिरो अर्थमा बुझ्छ, र निर्णयहरूमा विवेकपूर्णता अपनाउँछ। यसरी आत्मदृष्टि विकास गर्दा मानिसमा आत्मविश्वास, धैर्य, र मानसिक सन्तुलन उत्पन्न हुन्छ।
समकालीन समाजमा सौन्दर्यको व्याख्या अत्यन्त एकांगी र सतही बनाइएको छ, जहाँ अनुहार, नाक, आँखा र छालाको रङलाई सुन्दरताको प्रमुख मापदण्ड मानिन्छ। सामाजिक सञ्जालमा ‘पहिलो छाप’को संस्कारले अनुहारलाई मूल्यांकनको केन्द्र बिन्दु बनाइदिएको छ। तर, यो प्रवृत्ति मानव चेतनाको अवमूल्यन हो। मानिसको आत्मिक अस्तित्वलाई भौतिक आकृति वा चर्ममूलक दृष्टिले मात्रै हेर्नु भ्रान्तिको उपज हो।
मानव जीवनको मूलभूत खोज “म को हुँ?” भन्ने प्रश्नसँग सम्बन्धित छ। जन्मदेखि मृत्युमा पुग्दासम्म मानिसले अनगिन्ती ज्ञान, अनुभव, सम्पत्ति र सम्बन्धहरू संकलन गर्छ। तर यिनै बीचमा पनि अन्तर्मनबाट आउने आवाजलाई सुन्न नसक्ने हो भने आत्मचेतनाको यात्रा अपूर्ण रहन्छ। आत्मपरिचय बाहिरी संसारले तोकेका परिचय (नाम, जाति, धर्म, राष्ट्र, पेसा) भन्दा परको चेतनात्मक अवस्था हो, जसले व्यक्तिलाई आफ्नो वास्तविक स्वरूपसँग जडान गराउँछ।
आजको प्रतिस्पर्धात्मक समाजमा मानिसलाई बाह्य उपलब्धि (शिक्षा, धनीपना, पद, प्रतिष्ठा) बाट मात्र मूल्यांकन गरिन्छ। नतिजा स्वरूप, व्यक्तिले आफ्ना यथार्थ आवश्यकता, रुचि र चेतनालाई दबाएर, अरूको दृष्टिमा सफल देखिन खोज्छ।
यस प्रक्रियाले दुई प्रकारका समस्या सिर्जना गर्छ। पहिलो, आत्मविस्मृति – मानिसले आफ्नो भित्री स्वरूप, क्षमता र साँचो चाहना बिर्सिन्छ। दोस्रो, अस्तित्वगत असन्तोष – बाह्य सम्पत्ति र उपलब्धि भए पनि मानिसको मन अधुरो र अपूर्ण रहन्छ।यस्तो अवस्थामा अन्तर्मनको आवाजलाई सुन्ने अभ्यास—ध्यान, आत्मविश्लेषण, वा मौनताको अभ्यास—मार्फत आत्मपरिचयतर्फको यात्रा प्रारम्भ हुन्छ।
अन्तरआवाज भित्री चेतनाको त्यो स्वर हो, जसलाई प्रायः दैनिक कोलाहलले ढाक्छ। जब मानिस एकान्तमा बस्छ, ध्यान गर्छ वा जीवनका कठिन क्षणमा पुग्छ, त्यही आवाज स्पष्ट सुन्न थाल्छ। अन्तरआवाज आत्माको वास्तविक चाहना हो—त्यो सत्य जसलाई कुनै बाह्य शक्ति वा सामाजिक प्रलोभनले परिवर्तन गर्न सक्दैन। आत्मपरिचय यही अन्तरआवाजलाई निरन्तर सुनिराख्ने र त्यसको आधारमा जीवनयात्रा अघि बढाउने क्षमता हो।यसैले, बाहिरी उपलब्धि र चकाचौंधभन्दा पर, अन्तर्मनको आवाज सुन्न सक्ने बानी विकास गर्न आवश्यक छ। त्यो आवाज नै जीवनको कम्पास हो—जसले हामीलाई सही बाटोतर्फ डोर्याउँछ।
आजको किशोर पुस्ता, मिडिया, फेसन र सामाजिक सञ्जालको बाहिरी सौन्दर्य प्रतिस्पर्धामा फँसिरहेको छ। अनुहारको सौन्दर्यलाई आत्मसम्मानसँग गाँसिएको देखिन्छ, जसले आत्महीनता र मानसिक समस्याहरू जन्माइरहेको छ। यो यथार्थमा परिवर्तन ल्याउन हामीले सौन्दर्यको पुनःपरिभाषा गर्नुपर्छ — जुन अनुहारमा होइन, विचार, करुणा, विवेक र आचरणमा निहित हुन्छ। विद्यालय, नीति निर्माण तह र सामाजिक विमर्शहरूमा ‘विचार सौन्दर्य’लाई स्थापित गर्ने हो भने मात्र हामी आत्मदृष्टिको युगतर्फ उन्मुख हुन सक्छौं, जहाँ मानिसको मूल्य उसले बोकेको अनुहारले होइन, उसले दिने उज्यालो विचारले मापन गरिन्छ।
समकालीन समाजमा सौन्दर्यको परिभाषा एकांगी रूपमा अनुहारको बनोट, शरीरको आकार, र नाक-आँखा जस्ता चर्मदृष्टिगत सूचकहरूमा सीमित गरिँदै आएको छ। सामाजिक सञ्जालहरूको विस्फोटपछि ‘पहिलो छाप’को महत्त्व झनै बढेको छ। आजको प्रवृत्तिले अनुहार हेरेर मानिसको मूल्याङ्कन गर्ने प्रवृत्तिलाई अझ उत्प्रेरित गरेको छ। मानिसहरू आफ्नो तस्बिरलाई विभिन्न फिल्टर र मेकअप प्रविधिबाट सुन्दर देखाउन अनेक उपाय अपनाउँछन्। सौन्दर्य उद्योगको विश्वव्यापी बजार अरबौं डलरको बनिसकेको छ। तर के अनुहारकै सौन्दर्यले मानिसको मूल्य निर्धारण गर्न सकिन्छ त? यो प्रश्न गहिरो आत्मपरीक्षणको माग गर्छ।
सौन्दर्यको मूल सन्दर्भ शारीरिक नापतौलमा होइन, मानिसको विचार, भावना, आचरण र विवेकमा हुन्छ। यसको पुष्टि गर्न हामी सुकरात, अष्टबक्र, गौतम बुद्ध, जर्ज बर्नाड शा जस्ता विचारशिल व्यक्तिहरूको उदाहरण पेस गर्न सक्छौं, जसले अनुहारको कुरूपता अथवा असामान्यताको बाबजुद मानव इतिहासमा महान योगदान दिएका छन्। यसरी हेर्दा, चर्मदृष्टिको सट्टा आत्मदृष्टिले मूल्याङ्कन गर्ने अभ्यास अझ आवश्यक देखिन्छ। अष्टबक्रको प्रसिद्ध भनाइ — “चर्मदृष्टिले हेर्ने अज्ञानी हो, आत्मदृष्टिले हेर्दा सबै सुन्दर देखिन्छ” — आज पनि उत्तिकै सान्दर्भिक छ।
समाजमा सौन्दर्यको आधारमा हुने विभेद र पूर्वधारणाले प्रतिभाशाली व्यक्तिहरूको आत्मविश्वास कुण्ठित बनाउँछ। अनुहारको तेज, कद–काठी वा शरीरको बनोट हेरेर मानिसको मूल्याङ्कन गर्नु सतही दृष्टिकोण हो, जसले विद्यालयको शिक्षक व्यवहारदेखि लिएर रोजगारीको अवसरसम्म अन्यायपूर्ण प्रभाव पार्छ। विशेष गरी महिलामाथि सामाजिक सौन्दर्यको दमनात्मक अपेक्षाले उनीहरूको आत्मसम्मान तहस–नहस बनाउँछ, किशोरावस्थामा ‘बडी डिस्मोर्फिया’ जस्ता मानसिक विकारको जन्म दिन्छ। यस्तो अस्वस्थ प्रतिस्पर्धाले शरीरको बनोट निर्माण गर्न सक्छ, तर चरित्रको सृजना गर्दैन।
विपरीत रूपमा, विचार र दर्शनको सौन्दर्यले समाजलाई नैतिक दिशा दिन्छ। सुकरातको जीवन यसकै सजीव प्रमाण हो। उनका अनुहारको कमी, होचो कद वा बाङ्गो हिँडाइले उनको प्रभावलाई कम गर्न सकेन; उनका अनुयायीहरू उनको शब्द र चिन्तनको गहिराइमा डुबेर शिक्षा ग्रहण गर्थे। प्लेटो र एरिस्टट जस्ता शिष्यहरूले मानव सभ्यताको बौद्धिक संरचना स्थापना गरे। सुकरातप्रतिको घृणा अनुहारको कारण नभई उनको क्रान्तिकारी चिन्तनको कारण थियो—सत्ता र समाजको पूर्वधारणालाई चुनौती दिने विवेकको कारण। यही विवेक नै शाश्वत सौन्दर्य हो, जसले समाजको रूपान्तरण गर्छ।
शारीरिक मोहको मोह त्यतिबेला पनि थियो जब गौतम बुद्धले दरबार त्यागे। बत्तीस लक्षणले युक्त राजकुमार सिद्धार्थले विलासी जीवन त्यागेर शान्तिको खोजी गरे। चर्मदृष्टि र भौतिक मोहको जञ्जाल चिर्दै उनले आत्मदृष्टिको मार्ग रोजे। आफ्ना अनुयायीलाई मृतकको वस्त्र धारण गराएर बाह्य रूपको मोहबाट मुक्ति पाउने अभ्यास सिकाए। यही मार्गले नन्दा जस्ती सुन्दरी दिदीलाई पनि सौन्दर्यको घमण्ड त्याग्न प्रेरित गर्यो।
बुद्धको शिक्षाले स्पष्ट देखाउँछ—सास फेर्दा मृत्यु नजिकिँदैछ; त्यसैले प्रत्येक क्रिया, प्रत्येक सास उपकार, करुणा र जीवनको सत्यतामा केन्द्रित हुनुपर्छ। यही चेतना नै आत्मदृष्टिको शाश्वत ज्योति हो, जसले अस्थायी चर्मदृष्टिलाई पराजित गर्दै मानव जीवनलाई अर्थपूर्ण बनाउँछ।
विचारको सौन्दर्य समयसापेक्ष, स्थायी र इतिहाससृजनशील हुन्छ। अनुहारको तेज क्षणिक हुन्छ, तर विचारको उज्यालो पुस्तौँसम्म फैलिन्छ। जर्ज बर्नाड शालेको संवादले यस सत्यलाई प्रष्ट चित्रण गर्छ: सुन्दरी महिलाले विवाह प्रस्ताव राख्दा, शालेको ठट्यौलो उत्तर—“यदि सन्तानले मेरो अनुहार र तिम्रो बुद्धि पाए भने?”—ले स्पष्ट पार्छ कि अनुहार भन्दा विचारको मूल्य असिमित र स्थायी छ। अनुहार ईश्वरको देन हो, तर विचार—सृजना, साधना, र नैतिक जीवनदृष्टिको उपज हो।
आजको युगमा ‘इन्फ्लुएन्सर’ संस्कृति अनुहार र शरीरको प्रदर्शनलाई प्रभावको मापदण्ड बनाइरहेको छ। यसले किशोर पुस्तालाई आत्महीनता, तुलनात्मक निराशा र सौन्दर्यको कृत्रिम परिभाषामा अल्झाएको छ। तर इतिहासका ठूला व्यक्तित्व—हेलन केलर, स्टेफेन हकिङ, अब्राहम लिंकन—को प्रभाव अनुहारको कारण होइन, विचारको कारण स्थायी रह्यो। यही कारणले आवश्यक छ—शिक्षा, सामाजिक मञ्च, मिडिया र नीतिगत तहमा विचारको सौन्दर्यलाई प्राथमिकता दिने दृष्टिकोण अपनाउने। अनुहार क्षणिक, तर विचार शाश्वत, प्रेरणादायी र इतिहास रच्ने शक्ति भएको हुन्छ।
सौन्दर्यको अर्थ अनुहार होइन, विचार हो। जसरी सुन्दर अनुहार बिना सुकरात, बुद्ध, अष्टबक्र, लिंकन, हकिङ आदि युगपुरुष बने, त्यसरी नै हामी पनि अनुहार होइन, विवेकलाई आधार बनाएर आत्मनिर्माण गर्न सक्दछौं। अनुहार बिग्रिन सक्छ, शरीर ढल्न सक्छ, तर विचार अमर हुन्छ। त्यसैले हामी पनि सौन्दर्यको खोजलाई चर्ममा होइन, चेतनामा गरौं। सुन्दर विचारले मात्र सुन्दर समाज सम्भव हुन्छ।
आन्तरिक चिन्तनको यात्रा सतही दृष्टिबाट आत्मदृष्टितर्फको संक्रमणले मात्र सम्पन्न हुन्छ। जीवनको प्रारम्भिक चरणमा बाह्य अनुभवले आवश्यक सिकाइ प्रदान गर्छ भने, आन्तरिक दृष्टिकोणले व्यक्तिलाई सशक्त, विवेकी, र आत्मसाक्षात्कारयुक्त बनाउँछ। यस यात्राले न व्यक्तिगत विकासलाई सुनिश्चित गर्छ, तर समाजमा दयालुता, सहिष्णुता, र समझदारीको प्रवाह पनि बढाउँछ।सतही दृष्टिबाट बाह्य प्रतिक्रिया मात्रै प्राप्त हुने अवस्था टाढा पारेर आन्तरिक चेतना र आत्मबोधमा केन्द्रित हुनाले व्यक्ति आफ्नो वास्तविक क्षमता, लक्ष्य, र जीवनको अर्थ बुझ्न सक्षम हुन्छ। यही यात्रा मानिसलाई अनुभव र ज्ञानको मात्र होइन, मानसिक सन्तुलन र आत्मसन्तुष्टिको मार्गतर्फ पनि लैजान्छ।


























