काठमाडौं । अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलिरहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियोग रहेको केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा उल्लेख पाइएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाका स्रोतका अनुसार, उनी कैद सजाय भुक्तान गर्न बाँकी अभियुक्तको सूचिमा रहेका छन्।
बिज्ञापन
बिज्ञापन
प्रहरी अभिलेख अनुसार, काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबारसम्बन्धी मुद्दामा सुनारविरुद्ध पक्राउ पुर्जी जारी भए पनि सो मुद्दा अद्यावधिक रूपमा फर्स्यौट भएको छैन। त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा समेत उनी पक्राउ पर्न बाँकी रहेका प्रहरी स्रोतले जनाएको छ।
बिज्ञापन
सुनारविरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन अवस्थामा रहेको छ। अधिवक्ता मनिषा गौतमले हालेको मानहानीसम्बन्धी मुद्दामा गत असोज ६ गते सुनुवाइको मिति तोकिए पनि सर्वोच्च अदालतमा आगलागीका कारण सो पेसी स्थगित भएको थियो।
उच्च अदालत सुर्खेतको फैसलाप्रति असन्तुष्ट सुनारले अदालत परिसरमै हुलदङ्गा र तोडफोड गरेको आरोप छ। उनले न्यायाधीशहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको र अदालतको गेटमै हुलहुज्जत मच्चाएको अभियोगमा अधिवक्ता गौतमले मानहानीको मुद्दा दर्ता गरेकी हुन्। सो मुद्दा गत वैशाख २१ गते दर्ता भएको रेकर्डमा उल्लेख छ।
सर्वोच्चले सोही घटनामा सुनारलाई उपस्थित हुन आदेश दिएको थियो। तर, आदेशपछिपनि उनले सामाजिक सञ्जालमा न्यायधीश सपना मल्ल प्रधान र अधिवक्ता गौतमविरुद्ध अपमानजनक पोस्टहरू लेखेका थिए। उनले गौतमको तस्बिर र फोन नम्बर सार्वजनिक गर्दै “तँ नेपाल बारकी होस् कि ठमेल बारकी?” भन्ने आपत्तिजनक स्टाटस लेखेका थिए।
गौतमले त्यसको स्क्रिनसटसहित साइबर ब्यूरोमा उजुरी दिइन्, तर ब्यूरोले मुद्दा दर्ता नगरी उनलाई “घर काभ्रे भएकाले त्यहाँको अदालत जानू” भन्दै फर्काएको बताइएको छ।
यसबीचमा, मन्त्री बन्ने सूचीमा नाम चलिरहेका सुनारको यसरी फरार अभियुक्तको रूपमा नाम देखिनुले सरकार गठनअघि नै नयाँ विवाद खडा गरेको छ।



























