जेन जी आन्दोलनको दोस्रो दिन २४ भदौमा सिंहदरबारभित्रका मन्त्रालय तथा कार्यालयमा आगलागी हुँदा ५५० भन्दा बढी सवारी साधन खरानी भएका छन् । सरकारले सहसचिव र सचिवका लागि मापदण्ड अनुसार चार पांग्रे सवारी साधन उपलव्ध गराउँदै आएको छ ।
बिज्ञापन
यस्ता सवारी साधन दरबन्दी भन्दा बढी खरिद गरेर उपसचिव,शाखा अधिकृतमात्र होइन मामुली सुव्वा र खरिदार तहका कर्मचारी नेताहरुले समेत दुरुपयोग गर्दै आएका थिए ।
जस्तो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत मात्र ८४ वटा चारपांग्रे र १३५ वटा दुईपांग्रे गरी २१९ वटा सवारीसाधन रहेका थिए । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १ मन्त्री,५ सचिव,१० जना सहसचिव,पुलमा ५ गरी दरबन्दी अनुसार २१ वटा चार पांग्रे हुनुपर्ने हो । सो कार्यालयका ४७ वटा चारपांग्रे र ७५ वटा दुईपांग्रे गरी ११९ वटा सवारीसाधन जलेका छन्।
बिज्ञापन
मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत मात्र ११९६ वटा सरकारी सवारी साधन रहेका थिए । ती सवारी साधनका लागि इन्धनमा १ करोड ६५ लाख,मर्मतका नाममा ९४ लाख बजेट चालु आर्थिक बर्षका लागि छुट्टाइएको थियो । यसरी छुट्टाइएको सवारी साधनमा निर्देशिका विपरित एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष र महासचिवले दुरुपयोग गरिरहेको फेला परेको छ ।
सरकारले पछिल्लो समय जारी गरेको सवारी साधन प्रयोगसम्बन्धी मापदण्ड अर्थात निर्देशिकामा राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका पदाधिकारीहरूका लागि सवारीसाधन सुविधा, सवारी चालक, मर्मत र इन्धन व्यवस्थापनसम्बन्धी नियमहरू निर्धारण गरिएको छ। निर्देशिकाविपरित नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल र नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी (आरसी)ले सरकारी नम्बर प्लेटका सवारी साधन चढ्दै आएका थिए ।
बिज्ञापन
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार,उनलाई केपी शर्मा ओलीका नीजि सचिव रहेका विनोद कुँवरले त्यहाँबाट चार पाग्रे सवारी साधन उपलव्ध गराएका थिए,भवानीका लागि । तर यो बिषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव रविलाल शर्माले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘त्यसरी प्रधानमन्त्री कार्यालयबाट सवारी साधन उपलव्ध गराएको भए त मलाई जानकारी हुनुपर्ने हो,त्यस सम्बन्धमा मलाई कुनै जानकारी छैन’,शर्माले भने । उनले चढ्दै आएको सवारी साधन गत २४ भदौंमा ववरमहलस्थित नेपाल निजामती कर्मचारी संगठनको भवन अगाडि पार्किङ गरेर राखिएकोमा त्यही आगलागी भएको कर्मचारी संगठनका नेताहरुले बताउँछन् ।
उनीझैं,सो संगठनका महासचिव रहेका रामचन्द्र अधिकारी (आरसी)ले समेत मन्त्रालयका उपसचिवले चढ्दै आएको केही महिना अगाडि मात्र खरिद गरिएको ६८०४ नम्बरको चार पांग्रे सवारी साधन आरसीले चढ्दै आएका थिए । उनी सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी हुन,आन्तरिक शाखाका हर्ताकर्ता । मन्त्रालयमा १३ बर्षदेखि रजगज गर्दै आएका उनी आफूले चढ्ने गरेको सरकारी नम्बर प्लेटको गाडी भने संगठनको भवन अगाडि पार्किङ गराउने गर्दथें । जेनजीको विद्रोहका क्रममा पनि सो सवारी साधन संगठनकै भवन अगाडि पार्किङ गरेर राखिएको थियो ।
नेपाल निजामती कर्मचारी संगठनका केही पदाधिकारीहरु नै त्यसरी सरकारी गाडी संगठनको भवनमा पार्किङ गरेर नराखिएको भए भवन जोगाउन सकिने बताउन थालेका छन् । सरकारी नम्बर प्लेटको सवारी साधन पार्किङ्ग गरेर राखिएकै कारण झण्डै सात करोड खर्चेर बनाइएको ववरमहलस्थित नेपाल निजामती कर्मचारी संगठनमा आगलागी हुन पुगेको छ ।
जेनजीको विद्रोह पछि समेत ट्रेड युनियनकर्मी आरसीको दम्भमा कुनै कमी नआएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।