प्रजातान्त्रिक शासन प्रणाली जनताद्वारा जनताको लागि सञ्चालन गरिने शासन हो। यसले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्न, राज्य सञ्चालनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जनाउन, सरकारलाई जवाफदेही बनाउने र समान अवसरको आधारमा विकासमा सहभागी हुने वातावरण प्रदान गर्छ। पारदर्शिता, जवाफदेहिता, समावेशिता र कानूनी राज्यको अभ्यास प्रजातान्त्रिक शासनलाई बलियो बनाउँछ।
बिज्ञापन
राजनीतिक दलहरू प्रजातन्त्रको मेरुदण्ड हुन्। तिनीहरूले जनताको आवश्यकता, अपेक्षा र विचारलाई नीतिगत एजेन्डामा रूपान्तरण गर्ने कार्य गर्छन्। चुनावमा उम्मेदवार प्रस्तुत गर्ने, सरकार बनाउन वा प्रतिपक्षमा बसेर सरकारको जवाफदेहिता सुनिश्चित गर्ने, नीति निर्माणमा बहस र छलफललाई प्रोत्साहन गर्ने जस्ता कार्य दलहरूद्वारा सम्पन्न हुन्छन्। स्वस्थ प्रतिस्पर्धा, समावेशिता र जनताको आवाजलाई प्रतिनिधित्व गर्ने कार्य दलहरूको मुख्य योगदान हो।
बिज्ञापन
तर पछिल्लो समय केही दलका शीर्ष नेताहरू र यसका नजीकका व्यक्तिहरु व्यक्तिगत वा गुटगत स्वार्थमा बढी केन्द्रित भएका विषयले चर्चा पाइरहेको छ । सत्तासंघर्ष र पदको बाँडफाँटमा ध्यान दिनाले पारदर्शिता, जवाफदेहिता र सुशासन कमजोर भएका छन्। संस्थागत सुधार र दीर्घकालीन नीति निर्माणभन्दा तत्कालिक राजनीतिक लाभलाई प्राथमिकता दिँदा जनताको विश्वास घटेको छ। यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरू कमजोर पार्ने र राजनीतिक दलप्रतिको आस्था घटाउने काम गरेको छ।
दलका नेतृत्वमा प्रजातान्त्रिक आचरण र नैतिकता क्रमशः क्षय भएको अवस्था पनि चिन्ताजनक छ। एकै नेताले दशकौँसम्म पार्टीको शीर्ष जिम्मेवारी ओगटिरहने प्रवृत्तिले आन्तरिक लोकतन्त्रलाई निष्प्रभाव मात्र बनाएको छैन, नयाँ पुस्ताको नेतृत्वमा जाने सम्भावनालाई पनि अवरुध्द गरेको छ।शीर्ष जिम्मेवारी ओगटिरहने प्रवृत्ति मौलाउने तर नवप्रवर्तन र सुधारका कार्यले खासै गति समाएको देखिएन। सत्तामा पुग्ने लोभमा विचारधारा, नीति र सिद्धान्तलाई बिर्सेर जस्तो प्रकारको पनि गठबन्धन गर्नेसम्मको प्रवृत्ति बढ्दा दलहरू अल्पकालीन लाभप्रति आकर्षित बनेका छन्। यसले प्रजातान्त्रिक मूल्यहरू विस्थापित भएका छन् र जनतामा निराशा, संस्थागत कमजोरी तथा सरकार परिवर्तन गर्ने लालसाले राजनीतिक अस्थिरता बढेको छ।
नेपालमा मतदाताको पारम्परिक झुकाव र दलप्रतिको स्वतः समर्थनले पनि लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको छ। मतदाता प्रायः जातीय, क्षेत्रीय, पारिवारिक वा पुराना सम्बन्धको आधारमा दललाई समर्थन गर्छन्। यसले दलहरूलाई मत त सुनिश्चित गर्न सजिलो भएको छ, तर वास्तविक रूपमा सुशासन, पारदर्शिता र जनताको लाभ वितरणमा उत्तरदायी हुन बाध्य बनाएको छैन। चुनावी लोकप्रियता र शासनको गुणस्तरबीचको दूरी स्पष्ट देखिन्छ। दलका कार्यकर्ताहरु विवेकी मतदाता पनि बन्न सक्नुपर्दछ । उनीहरुमा केवल मत दिने अधिकार मात्र रहदैन यो अधिकारलाई विवेकपूर्ण प्रयोग गर्न सक्ने क्षमता पनि हुनुपर्छ। जसले दलविशेषको गुण दोषको गहिरो मूल्याङ्कन गरेर मात्र निर्णय लिनुपर्छ। मत भनेको एक दिनको कार्य होइन, बरु देशको भविष्य निर्माण गर्ने जिम्मेवारी हो। त्यसैले कार्यकर्ताहरुले आफूलाई मन परेको दलले सही काम गरेसम्म समर्थन दिनुपर्छ, तर यदि त्यस दलले गलत कदम चाल्यो वा सार्वजनिक विश्वासमा आँच पुर्यायो भने नेतृत्वलाई सुधार्न दवाव दिन सक्नुपर्दछ नेतृत्व सुध्रिएन भने अर्को निर्वाचनमा मत परिवर्तन गर्ने साहस र सामर्थ्य पनि राख्नुपर्छ। यस्तै अभ्यासले मात्र लोकतन्त्रलाई स्वस्थ, जवाफदेही र जनमुखी बनाउन सक्छ।
बिज्ञापन
जेनजी वा नयाँ पुस्ता यस परम्परागत प्रवत्तिमा परिवर्तन हुनु पर्ने माग राखेका छन् । उनीहरू परिवर्तन, नवप्रवर्तन र परिणाममुखी शासनका संवाहक हुन्। प्रविधिमैत्री, विश्व दृष्टिकोणमा आधारित र स्वतन्त्र विचारमा दृढ, जेनजी पारदर्शिता, जवाफदेहिता र अवसरसहितको शासनको पक्षमा देखिन्छन्। उनीहरूले भ्रष्टाचार, अवसरवाद र विचौलियाको जालोलाई चुनौती दिँदै सामाजिक सञ्जाल र प्रत्यक्ष सरोकारमार्फत राजनीतिक जवाफदेहिता मागेका छन्। यसले पुरानो पुस्तामा दबाब सिर्जना गरेको छ र प्रजातान्त्रिक मूल्य र मान्यताको सुधार मूलत दल र यसका नेतृत्वबाट हुनु पर्ने मागलाई बलियो बनाएको छ।
प्रजातान्त्रिक शासन प्रणाली सबल बनाउन दलहरू समयअनुरूप परिमार्जन गर्नु पर्नेमाग दलभित्र उठे पनि त्यति सशक्त बन्न सकिरहेको छैन किनकी नेतृत्वको दीर्घकालीन निरन्तरताको वातावरणले नयाँ पुस्ताले नेतृत्व लिने अवसर अवरुद्ध गरेको छ । पुस्तान्तरण नभए दलहरू जनतासँगको सम्बन्ध कमजोर हुँदै जान्छ र नयाँ पुस्ताले चाहेको पारदर्शी, जवाफदेही र परिणाममुखी राजनीतिक अभ्यास सम्भव हुँदैन । रूपान्तरण भन्नाले दलहरूले आफ्नो कार्यशैली, संगठनात्मक ढाँचा, नीति तथा कार्यक्रमलाई वर्तमान पुस्ताको सोच, प्रविधिमैत्रीपन र विश्व परिप्रेक्ष्यसँग मेल खाने गरी सुधार्नु आवश्यक छ । पुस्तान्तरण भन्नाले नयाँ पुस्तालाई नेतृत्वमा आउन अवसर दिने, संस्थागत व्यवस्थामा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र जिम्मेवारी हस्तान्तरण गर्ने संस्कृतिलाई स्थापित गर्नुपर्ने हुन्छ । जेनजी वा वर्तमान पुस्ताको सक्रियता, ऊर्जा र नवप्रवर्तनशील सोचलाई आत्मसात गर्न नसक्ने दलहरू क्रमशः अप्रासंगिक बन्दै जाने सम्भावना प्रबल छ । त्यसैले दलहरूले रूपान्तरण र पुस्तान्तरणको अवधारणालाई तत्काल आत्मसात गरि कार्यान्वयनमा ल्याउनु अपरिहार्य बनेको छ ।
राजनीतिक दलहरू र प्रजातान्त्रिक प्रणालीमा रूपान्तरण भन्नाले समय, परिस्थिति र जनताको अपेक्षाअनुसार संगठन, कार्यशैली, नीति र कार्यक्रमलाई सुधार गर्नु हो। रूपान्तरणको मूल उद्देश्य दललाई परम्परागत ढाँचाबाट मुक्त गर्दै पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउनु हो। यसले नयाँ पुस्ताको सोच, प्रविधिमैत्रीपन र विश्व दृष्टिकोणलाई संस्थागत रूपमा समावेश गर्ने अवसर दिन्छ। रूपान्तरणका क्रममा दलले व्यक्तिवादी निर्णय प्रक्रियाको सट्टा आन्तरिक लोकतन्त्र सुदृढ पार्नुपर्छ, नीति निर्माणमा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ र नेतृत्व चयनमा निष्पक्ष प्रतिस्पर्धा प्रवर्द्धन गर्नुपर्छ। रूपान्तरणले दललाई समाजसँगको सम्बन्ध बलियो बनाउन, जनविश्वास बढाउन र प्रजातन्त्रको दीर्घकालीन सबलीकरणमा योगदान पुर्याउँछ। यदि रूपान्तरण नगरेको खण्डमा दलहरू अप्रासंगिक बन्दै जाने, जनतासँगको सम्बन्ध कमजोर हुने र राजनीतिक स्थिरता संकटमा पर्ने खतरा रहन्छ।
सकारात्मक राजनीतिक सुधार र दलको दीर्घकालीन सबलीकरणका लागि रूपान्तरण अपरिहार्य छ। तर कुनै दल वा नेतृत्व समय, परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्न असमर्थ भए, उनीहरूको जिम्मेवारी अब बहिर्गमनमार्फत पूरा हुनुपर्छ। बहिर्गमन भन्नाले उमेर र विचारको दृष्टिले पुरानो हुदै गएको नेतृत्वलाई नयाँ पुस्ताले नेतृत्व लिन सक्ने अवसर दिनु हो।नयाँ पुस्ता उमेरको दृष्टिले मात्र युवा पुस्तामा पर्दैन उ विचारको दृष्टिले पनि युवा हुनु आवश्यक हुन्छ । यस क्रममा पुराना नेतृत्वहरूले पूर्णरूपमा हट्नु पर्ने भने होइनस बरु उनीहरूले संरक्षकत्व वा अभिभावकत्वको भूमिकामा बसेर मार्गदर्शन र अनुभवको योगदान दिने वातावरण तयार गर्नुपर्छ। किनकी पुरानो पुस्ता अनुभवले समृध्द हुन्छ जसको उपयोग नयां पुस्तालाई उपयोगी हुन्छ। वास्तवमा, बहिर्गमन आफैंमा रूपान्तरणको अर्को रूप पनि हो जहाँ नेतृत्वले सत्ता र निर्णयको केन्द्रबाट एक कदम पछि हटेर नयाँ पुस्तालाई जिम्मेवारी बहन गर्ने अवसर दिन्छ। यसले आन्तरिक लोकतन्त्र बलियो बनाउँछ, नयाँ विचार र नवप्रवर्तनलाई प्रोत्साहित गर्छ र दलको स्थिरता तथा जनविश्वास कायम राख्न मद्दत गर्दछ।
राजनीतिक दल र नेतृत्वको जीवनचक्रमा रूपान्तरण र बहिर्गमन अनिवार्य प्रक्रिया हुन्। यदि नेतृत्व समय, परिस्थितिका अनुसार रूपान्तरण गर्न वा नयाँ पुस्तालाई जिम्मेवारी दिन असमर्थ हुन्छ, उनीहरूको अस्तित्व दलको लागि बोझ बन्न थाल्छ। यसलाई “डेट एक्सपायर औषधि” सँग पनि तुलना गर्न सकिन्छ जहाँ समय नाघेका औषधि केवल निस्प्रभावी मात्र हुँदैनन्, तिनीहरुको प्रयोगले गर्दा गलत परिणाम पनि आउन सक्दछ। यसले दल र प्रजातन्त्र दुबैलाई हानि पुग्न सक्दछ ।यो अवधारणा डार्विनको अनुकुलन सिधान्तसँग मेल खान्छ। जसरी प्रकृतिमा अनुकुलन हुन नसक्ने जीवजन्तु लोप हुन्छन्स त्यसरी नै राजनीतिक जीवनमा पनि अनुकुलन हुन असमर्थ नेतृत्व क्रमशः अप्रासंगिक बन्ने, जनताको विश्वास गुमाउने र अन्ततः राजनीतिक परिदृश्यबाट बहिष्करण हुने नियति राख्छन्।यो कुरा विश्व इतिहासबाट पनि प्रमाणित भैसकेको छ।
रूपान्तरण, बहिर्गमन र बहिष्करण यी तीनै प्रक्रिया दल र नेतृत्वको जीवनचक्रका अपरिहार्य अंग हुन्। समयसापेक्ष रूपान्तरणले दललाई सक्रिय, उत्तरदायी र नयाँ पुस्तासँग अनुकूल बनाउँछ। स्वरूपान्तरणकर्ताहरुलाई नयां परिवशले पनि स्वीकार्दछ । रूपान्तरणमा असफल नेतृत्वले बहिर्गमनमार्फत नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छस यसलाई संरक्षकत्व वा मार्गदर्शनको भूमिकामा सीमित गरेर दल र प्रजातन्त्र दुवैलाई लाभ पुग्ने वातावरण तयार गर्न सकिन्छ। रुपान्तरण सहितको बहिर्गमन अझै राम्रो प्रणाली हो । रुपान्तरण र बहिर्गमन नहनेको लागि बाध्यात्मक बाटो बहिष्करण नै हो । बहिष्करण भनेको रुपान्तरण र बहिर्गमन नचाही यथास्थितिमै सक्रियतापूर्क रम्ने चाहना पूरा नभै समयको छालले रिङ्ग बाटै आउट गरिदिन्छ उ सदैको लागि आउटडेटेड हुन जान्छ । रूपान्तरण र बहिर्गमनमा ढिलाइ गर्नेहरु “डेट एक्सपायर” हुन गै अस्तित्व गुमाउन पुग्नु पर्ने हुन्छ । त्यसैले, समय, परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार राजनीतिक दलहरूमा रूपान्तरण र बहिर्गमनको नीति अवलम्बन अनिवार्य छ यसले मात्र दललाई सशक्त, लोकतन्त्रलाई सबल र राष्ट्रलाई दीर्घकालीन प्रगतिशील मार्गमा अघि बढाउन सकिन्छ।
(डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुनुहुन्छ)