‘जेन जेड पुस्ता’को आन्दोलनका क्रममा मंगलबार राजधानीका विभिन्न सरकारी संरचनामा आगजनी हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको भवन जलेर सखाप भएको छ ।
बिज्ञापन
बिज्ञापन
मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार मन्त्रालयको मुख्य भवनमा भने खासै क्षति नभए पनि मातहतका यी दुई महत्त्वपूर्ण विभाग पूरै जलेका छन् । “अहिले पनि भवनभित्र आगो बलिरहेको छ,” उनले भने, “ललितपुर महानगरपालिकाको दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ । भवन मात्रै होइन, गाडीहरू समेत जलेका छन् ।”
बिज्ञापन
उनका अनुसार भवन र सवारीसाधनमा भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन । “छिट्टै क्षतिको तथ्यांक संकलन हुनेछ,” प्रवक्ता अधिकारीले जानकारी दिए ।
आगलागीका कारण सिंहदरबारका ऐतिहासिक तथा कलात्मक प्रशासनिक भवनहरू समेत खरानीमा परिणत भएका छन् । मंगलबारै प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका विभिन्न मुख्य सरकारी संरचनामा समेत आगजनी गरेका थिए ।
आगलागी नियन्त्रणका लागि विभिन्न स्थानीय तहका दमकल परिचालन गरिएका छन् । यता, सिंहदरबार पुगेका कर्मचारीले जलेका संरचनाको सरसफाइ सुरु गरेका छन् ।