काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जी पुस्ताको मागअनुसार बन्ने सरकारसँग सहकार्य गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट पारे ।
बिज्ञापन
बिज्ञापन
अर्यालका अनुसार मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेका छन् । उनले राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको जानकारी दिए । “हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौँ । खानेपानी, विद्युत्, टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छौँ,” उनले भने ।
बिज्ञापन
मुख्यसचिवले हाल सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अवस्था सामान्यतर्फ उन्मुख भइरहेको बताए । उनका अनुसार मन्त्रालयका सचिवहरूसँग भर्चुअल छलफलमार्फत आवश्यक निर्देशन दिइसकिएको छ ।
सिंहदरबारस्थित पूर्वाधार निरीक्षणका क्रममा उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार तथा सवारीसाधनको क्षतिबारे छिट्टै प्राविधिक मूल्याङ्कन हुने जानकारी पनि दिए ।
उनले थपे, “अब जेनजी पुस्ताको मागअनुसार सरकार बनोस् । नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ । सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका विषयमा छलफल भइसकेको छ ।”