काठमाडौं – देशभर फैलिएको जेन जेड आन्दोलन थप उग्र बन्दै जाँदा प्रमुख राजनीतिक दलका नेताहरूको घर-निवासहरूमा आगजनी भएका छन्। आन्दोलनकारीहरूले राजधानीदेखि विभिन्न जिल्लामा रहेका नेताहरूका घरहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि ठूलो क्षति भएको छ।
बिज्ञापन
एमाले नेताहरू प्रभावित
बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमको पुर्ख्यौंली घर, झापास्थित निवास र भक्तपुर बालकोटको घरमा आगजनी भएको छ। त्यस्तै, पार्टीका नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णुप्रसाद पौडेल, पदम गिरी, सुरेन्द्र पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, रघुवीर महासेठ, योगेश भट्टराई, कोमल वली र सूर्य थापाको घर पनि आन्दोलनकारीले जलाएका छन्।
नेपाली काँग्रेस नेताहरू लक्षित
बिज्ञापन
पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन्। त्यसैगरी, आरजु देउवाको कञ्चनपुरको घर, राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा समेत क्षति भएको छ। पार्टी नेताहरू पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, दिपक खड्का, रमेश लेखक र विश्व पौडेलको निवास पनि जलाइएका छन्।
माओवादी केन्द्र नेताहरू प्रभावित
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको शिवनगरस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन्। प्रचण्डकी छोरी गंगा दाहालको घरमा समेत आक्रमण भएको छ। त्यसैगरी, नेताहरू नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, माधव सापकोटा (सुवोध) र अधिवक्ता रामनारायण बिडारीको घर समेत जलेका छन्।
अन्य दलका नेताहरू पनि अछुतो रहेनन्
लोसपाका शरदसिंह भण्डारीको निवासमा समेत क्षति पुगेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता प्रदीप यादवको घरमा समेत आगजनी भएको पुष्टि भएको छ।
अवस्था नियन्त्रणमा कठिन
आन्दोलनकारीहरूले योजनाबद्धरूपमा नेताहरूका घर-निवासलाई लक्षित गरेका कारण सुरक्षा निकायलाई नियन्त्रणमा लिन कठिनाइ भएको छ। राजधानीसहित विभिन्न जिल्लामा कर्फ्यु जारी रहे पनि समूहगत रूपमा उत्रिएका युवाहरूले ठूलो संख्यामा घरहरूमा आगजनी गरेका छन्।
यस घटनाले मुलुकको राजनीतिक स्थिरता र शान्ति सुरक्षाप्रति थप गम्भीर प्रश्न उठाएको छ।