लामो समयदेखि सम्पत्ति विवरण नबुझाउने १,३७३ र विभिन्न बिदा उपयोग गर्ने ६,९३४ कर्मचारीको विवरण सार्वजनिक
बिज्ञापन
काठमाडौँ — निजामती सेवा सम्बन्धी अभिलेख व्यवस्थापनको प्रमुख निकाय राष्ट्रिय किताबखानाले ‘अभिलेख अद्यावधिक तथा शुद्धीकरण अभियान’ सुरु गरेको छ। निजामती कर्मचारीको वैयक्तिक तथा सेवा सम्बन्धी विवरण अद्यावधिक गर्न, सेवा सुविधाको व्यवस्थापन सहज बनाउन, सम्पत्ति विवरण व्यवस्थापन गर्न तथा केन्द्रीय कर्मचारी सूचना बैंकको भूमिकालाई सुदृढ बनाउन अभियान सुरु गरिएको हो।
बिज्ञापन
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार विभागले आफ्नो मूल कार्यक्षेत्र (core function) अन्तर्गत रहेका अभिलेख अद्यावधिक तथा शुद्धीकरण (update & purification) लाई अभियानकै रूपमा अघि बढाएको छ।
महानिर्देशक पोखरेलका अनुसार पहिलो चरणमा १० वर्ष वा सोभन्दा बढी समयदेखि सम्पत्ति विवरण नबुझाएका १,३७३ जना कर्मचारी र तलबसहित तथा तलबबिनाको बिदा उपयोग गरेका ६,९३४ कर्मचारीको अभिलेखलाई अद्यावधिक तथा शुद्धीकरण गर्ने प्राथमिकताका साथ काम थालिएको छ।
बिज्ञापन
“अभियान अन्तर्गत सार्वजनिक सूचना सहितको विस्तृत विवरण विभागको वेबसाइटमा प्रकाशित गरिएको छ,” पोखरेलले बताए, “यसले सम्बन्धित कर्मचारी र नियमन गर्ने सरोकारवाला निकाय तथा पदाधिकारीहरूलाई सूचना पहुँचमा सहजता मिलाउनुका साथै कानुनी दायित्वप्रति गम्भीरता बढ्ने विश्वास लिएको छ।”
दुई समूहका कर्मचारीको नामावलीसहितको विवरण वेबसाइटमा राखिएको छ। यसबाट सम्बन्धित कर्मचारी आफैं र तिनीहरूको नियमन गर्ने निकाय सक्रिय भएमा अभिलेख स्वतः शुद्ध हुँदै जाने अपेक्षा विभागको छ।
पोखरेलले अभियानबाट त्रुटिपूर्ण अभिलेख सच्यिन गइ विभागले उत्पादन गर्ने सूचना गुणस्तरीय, विश्वासिलो र वैधानिक हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय किताबखानाको यो अभियान निजामती प्रशासन प्रणालीलाई पारदर्शी, उत्तरदायी र तथ्यमा आधारित बनाउने दिशामा एक महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।