भ्रष्टाचार भगाउने बौद्धिक बल

भ्रष्टाचार राष्ट्रको रगतमै बिस्तारिएको कर्कटक रोग हो, जसले न्यायको नसा नलीलाई बन्द गरेर सामाजिक चेतनालाई शिथिल बनाउँछ। यो “लोभको लहर” हो, जसले विवेकको वृक्षलाई बगाउँछ र मूल्यको माटोलाई बगरमा बदल्छ। यस्तो कुटिल प्रवृत्तिलाई भगाउने एकमात्र उपाय “बौद्धिक बल” हो, जुन सत्यका सौर्य किरणले आन्तरिक अन्धकारलाई हटाउँछ, नैतिकताको निर्झरले आत्मालाई शुद्ध पार्छ र विवेकको वटवृक्षलाई पुनः हरियाली बनाउँछ। जब राष्ट्र, समाज र राष्ट्रसेवकले भ्रष्टाचारको कालो बादललाई च्यात्न बौद्धिक बलको बिजुली चम्काउँछन्, तब मात्रै देशमा समृद्धि र सुशासनको स्वर्ण प्रभात उदाउँछ।

बिज्ञापन

भ्रष्टाचार भगाउने बौद्धिक बल भनेको साधारण शिक्षाले जन्माउने ज्ञान नभई, न्यायप्रतिको अनवरत निष्ठा, नैतिकताको अटूट आस्था र सामाजिक उत्तरदायित्वप्रतिको अग्निज्वाला हो। यस बलले लोभ र लालचका तुफानसँग लड्ने साहस दिन्छ, जसरी वज्रले कुसुमलाई रक्षा गर्छ, त्यसरी नै बौद्धिक बलले राष्ट्रको मूल्य र मर्यादालाई सुरक्षा प्रदान गर्छ। यो बल बिना राष्ट्रसेवकहरू निर्णयको नोकमा कमजोर हुन्छन्, परिवार र समाजको प्रलोभनमा फस्छन र सत्ताको स्वादमा भ्रान्त भएर आफ्नो पदीय पवित्रता गुमाउँछन्। जब बौद्धिक बलले लोभको लप्कालाई लखेट्छ, तब मात्र भ्रष्टाचार भगाउने विवेकको वज्रवर्षा हुँदै अन्यायको अन्धकार हटाएर न्यायको नयाँ प्रभात उदाउँछ।

बिज्ञापन

जसरी सूर्यको स्फटिक किरणले अन्धकारलाई छिन्न-भिन्न पार्छ, बौद्धिक बलले भ्रष्टाचारको कुहिरोलाई परास्त गर्छ। यसको जग नै सत्यनिष्ठा, पारदर्शिता, निष्पक्षता र जवाफदेहितामा हुन्छ। बौद्धिक बलले भ्रष्टाचार भगाउने अभियानलाई नीति निर्माणदेखि कार्यान्वयनसम्म एकीकृत गर्छ, जसले संस्थागत निष्ठालाई पुनर्जीवित गर्छ र प्रशासनिक आचरणमा अनुशासनको उज्यालो छर्छ। जब बौद्धिक बलले भ्रष्टाचार भगाउँछ, तब राष्ट्रले प्रगतिको पदयात्रा प्रारम्भ गर्छ, न्यायको ज्योति फैलिन्छ र समाज शान्ति, स्थिरता र समृद्धिको स्पर्श पाउँछ। “भ्रष्टाचार भगाउने बौद्धिक बल” राष्ट्रको नवउदित शौर्य हो, जसले सच्चा लोकतन्त्र र सुशासनको आधारभूत मेरुदण्डलाई स्थायी बनाउँछ।

आर्थिक सदाचार आत्माको आलोक हो, जसले मानव चेतनाको चिरस्थायी उज्यालो बनाउँछ। मनुस्मृतिमा उद्घोष गरिएको “सर्वेषामेव शौचानामर्थशौचं परं स्मृतम्” भन्ने दिव्य घोषवाणीले शुद्धताको सर्वोच्चताको पुनरुच्चार गर्दै न्यायसंगत आर्जनको आलोकमा आध्यात्मिक उन्नतिको मार्ग प्रशस्त गर्दछ। शुद्धता कुनै कर्मकाण्डीय जल स्नान वा बाहिरी अनुष्ठानमा सीमित नभएर न्यायोचित आर्जनबाट स्फुरित हुने अन्तरात्माको निर्मल उजास हो। अन्यायपूर्वक कमाइएको धन, फलामका तनमा बस्ने खियाजस्तै, पितृपरम्पराको पवित्र वृक्षलाई सुकाउँछ, संस्कारको स्पन्दनलाई शिथिल बनाउँछ र वंशवाटिकालाई उजाड पार्छ। यस्तो अपवित्र अर्थको अशुद्धता जल, वायु र माटोका पवित्रताले समेत शुद्ध गर्न नसक्ने भएकाले यसको परित्याग नै मोक्षमार्ग र समष्टिगत कल्याणको एकमात्र चिरस्थायी पथ हुन्छ।

बिज्ञापन

सदाचार आत्माको सूर्य हो, जसको किरणहरूले व्यक्तित्वलाई प्रकाशित पार्दछ र समृद्धिको सुषमा छर्छ। अन्यायपूर्वक आर्जित धन कालो बादलजस्तै हो, जसले सूर्यको उज्यालोलाई छेक्दछ र आत्माको अन्तरतनमा अन्धकारको बादल मडार्दछ। आर्थिक सदाचार जीवनको सुगन्धित सुवास हो, जसले परिवार, समाज र राष्ट्रको बगैंचामा सद्गुणका फूलहरू फुलाउँछ। जब न्यायसंगत अर्थशुद्धि नाश हुन्छ, आत्मस्वार्थको आँधीले परिवार र समाजको फुलबारी उजाड पार्दछ, सन्तानको श्रीवृद्धि सुक्खा रुखको पात झर्ने गतिमा ओइलिन्छ। न्यायको जलले सिंचित धन, अन्तरात्माको प्यास मेटाउने गङ्गाजल हो, जबकि अन्यायको कुटिलतामा कमाइएको धन मरुभूमिको मरीचिकाजस्तो हो, जसले न त प्यास मेटाउँछ, न त आत्मालाई शान्ति दिन्छ। जसरी सूर्यको किरणले अन्धकारलाई पराजित गर्दछ, त्यसरी नै सदाचारले लोभ, लालच र बेइमानीका विकारहरूलाई परास्त गर्दछ, र न्यायको अमृतको निर्झर उत्पन्न गर्दछ। जसरी गन्धकको आगोमा अशुद्ध धातु पग्लिएर शुद्ध सुन निस्कन्छ, सदाचारको तापमा लोभ र अधर्म पग्लेर जीवनमा शान्ति, सम्मान र समृद्धिको सुवर्णता प्रकट हुन्छ।

यदि राष्ट्र, समाज र परिवारले आर्थिक सदाचारलाई जीवनको धर्म, कर्तव्य र कर्मको मूलमन्त्रका रूपमा अंगीकार गर्दैनन् भने, भ्रष्टाचारको विषवृक्षले समाजको शिरमाथि घना छायाँ गर्नेछ, राष्ट्रिय चरित्रको पवित्र पानी प्रदूषित पार्नेछ र आत्मसम्मानको अभेद्य किल्लामा प्वाल पार्नेछ। जब आर्थिक सदाचार आत्मसात् गरिन्छ, न्यायको नदि निर्बाध बग्न थाल्छ, नैतिकताको निर्झर फूट्छर आत्मा, परिवार र राष्ट्र समृद्धिको पुष्पगन्धले सुवासित हुन्छ। आर्थिक सदाचार बिना आत्मसम्मानको आकाश छुन सकिन्न, शान्तिको समुद्र तर्न सकिन्न र समृद्धिको शिखर चुम्न सकिन्न। मनुस्मृतिको वाणीको आत्मा यही हो कि न्यायसंगत आर्जन नै सत्य, शुद्धता र मुक्तिको मूल हो, र अन्यायपूर्वक आर्जित सम्पत्ति विनाश, वंशविनाश र विवेकविनाशको कारण मात्र हो। तसर्थ, न्यायोद्धत अर्थ नै आत्मोद्धत अस्तित्वको आधार हो, अन्यायोद्धत सम्पत्ति नै पतनको पथ र शोकको स्रोत हो, भन्ने सत्यमार्गलाई अंगीकार गर्दै आर्थिक सदाचारमा आधारित राष्ट्र, समाज र व्यक्तित्व निर्माण गर्नेतर्फ हाम्रो यात्रा अडिग र अभिमुख हुनुपर्दछ।

पौरस्त्य दर्शनको पुष्पित पथमा सदाचारको सुवासले सशक्त रूपमा सन्देश दिन्छ कि साँचो समृद्धि नम्रताबाट उत्पन्न हुन्छ। “फलदायी वृक्ष निहुरिन्छ” भन्ने पौरस्त्य मूल्य वाक्यले नम्रता, भद्रता र सकारात्मक सोचलाई व्यक्तित्वको सुगन्धित उचाइको सूचक मानेको छ। सुक्खा काठजस्तै अभिमानी र मूर्ख कहिल्यै झुक्दैनन्, जसरी लोभ र दम्भको दरबारमा विवेक कैदी हुन्छ। जब सार्वजनिक पद, शक्ति र अधिकारको मदले व्यक्ति अन्धकारको अकडमा बाँधिन्छ, तब उसको आत्मा मूक बन्छ र राज्यकोषमा हात हाल्ने दुस्साहस गर्छ। यस्ता भ्रष्ट आचरणलाई अर्ती उपदेशले होइन, ऐन, कानून र दण्डको त्रासले मात्र तह लगाउन सकिन्छ। कानुनी कठोरता भनेको शासनको शुद्धि प्रक्रिया हो, जसरी सुनलाई आगोले शुद्ध पार्छ, त्यसरी नै कानुनी दण्डले समाजलाई भ्रष्टाचारमुक्त पार्छ। सदाचार कुनै सीमित संकल्प होइन, यो राष्ट्रहित, लोककल्याण र सार्वजनिक हितमा आधारित समग्र आचरणको शिखर शुद्धता हो, जसमा सत्यनिष्ठा, पारदर्शिता, निष्पक्षता र नैतिक प्रतिबद्धताको समिश्रणले व्यक्तित्वलाई अमूल्य बनाउँछ।

आर्थिक सदाचार र भ्रष्टाचार एउटै नदीका दुई किनाराजस्ता हुन्, जसमा एउटा किनारामा न्यायको निर्झर बग्दछ भने अर्को किनारामा अन्यायको आँधी बर्बराउँछ। भ्रष्टाचार व्यक्तिगत लोभ, लालच, नीतिगत कमजोरी र सामाजिक दबाबको संयुक्त विषफल हो, जसले आत्माको आकाशलाई अन्धकारको कालो बादलले ढाकिदिन्छ। भ्रष्टाचारको बाटोमा हिँड्नेहरू साँघुरो स्वार्थको साँघुरो गल्लीमा फस्छन्, जसरी पत्थरले पुरिएको मूल फुट्दैन, त्यसरी नै भ्रष्टात्माले विवेकको जललाई प्रवाहित गर्न सक्दैन। दार्शनिक सुकरातको वाणीमा सुनिन्छ—“एउटा समय आउनेछ, जब विद्वान र विज्ञहरू आफ्ना ज्ञानका गहिराइमा पछुताउँछन् तर मूर्ख र भ्रष्टहरू आफ्ना कमीकमजोरीमा गर्व गर्छन्।” आज विश्व भ्रष्टाचारको महामारीबाट ग्रसित छ र यसको मूल कारण नै आर्थिक सदाचारको अभाव हो। जहाँ आर्थिक सदाचारको उदय हुन्छ, त्यहाँ पारदर्शिता, समता, निष्पक्षता र स्वतन्त्रताको सुवास फैलिन्छ, नागरिकमा सार्वजनिक निकायप्रति आस्था पलाउँछ र राष्ट्रको आत्मबल सशक्त भई अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रकट हुन्छ।

पूर्वीय चिन्तन र कौटिलीय दृष्टिकोणमा शासक र राष्ट्रसेवकको सच्चा कर्तव्य राष्ट्रहित र लोककल्याणलाई सर्वोपरि राख्नु हो। कौटिल्यले आफ्नो अर्थशास्त्रमा राजालाई चेतावनी दिएका छन्—“राजाको निजी हितभन्दा राष्ट्रहित र लोककल्याण बढी महत्वपूर्ण हुन्छ।” शासन भनेको कुनै स्वार्थको साधन नभएर जनताको सेवाको पवित्र शपथ हो, जसलाई राष्ट्रसेवकले लोभ र मोहको मोहपाशबाट मुक्त गर्दै जनहितलाई आफ्नो कर्मको केन्द्रमा राख्नुपर्दछ। जसरी गङ्गाको पवित्रता प्रदूषणको कालो रंगलाई पखाल्दछ, त्यसरी नै राष्ट्रसेवकको आर्थिक सदाचारले बेइमानी र भ्रष्टाचारको कालो छायालाई पखालेर राष्ट्रिय चरित्रलाई उज्यालो बनाउँछ। जब राष्ट्रसेवक आर्थिक सदाचारको अमृत पान गर्दछ, त्यसले राष्ट्र र जनताको जीवनमा न्याय, करुणा र कल्याणको किरणहरू छर्छ, जसले राष्ट्रिय प्रगतिलाई नैतिकतामा आधारित समृद्धिको शिखरमा पुर्याउँछ। पौरस्त्य दर्शन र कौटिलीय नीतिले आर्थिक सदाचारलाई व्यवहारमा रूपान्तरण गर्न राष्ट्र र राष्ट्रसेवकलाई सतर्कता, सादगी र सत्यनिष्ठाको मार्गमा हिँड्न निरन्तर प्रेरित गर्दछ।

परिवार, समाज र राष्ट्रसेवकको उत्तरदायित्व कानुनी परिधिभित्र सीमित नभई सामाजिक संस्कार र नैतिक उत्तरदायित्वको विशाल वृत्तभित्र फैलिएको हुन्छ। राष्ट्रसेवकको भ्रष्टाचार प्रायः व्यक्तिगत लोभको मात्र परिणाम होइन, सुविधासम्पन्न जीवनशैलीको सजिलो स्वप्नमा मोहित परिवार र समाजको सूक्ष्म, तर प्रबल दबाबको उपज पनि हो। जब परिवारकै आग्रह, आवश्यकता र प्रदर्शनको दवाब राष्ट्रसेवकको विवेकमाथि भारी पर्दछ, तब उनीहरू पद, पैसा र पावरको प्रलोभनमा परेर अनैतिक मार्गमा चिप्लिन्छन्। यसरी भ्रष्टाचारको कालो काँडेतार केवल भ्रष्ट राष्ट्रसेवक वरिपरि मात्र बेर्ने होइन, त्यसका काँटामा परिवार र समाजका लोभ, लालच र विलासी आकांक्षाहरू पनि गाँसिएका हुन्छन्। सार्वजनिक पदाधिकारीको पद र पवित्रताको परिधिमा प्रवेश गर्ने क्षणदेखि उनले कमाएको सम्पत्तिको उपभोग केवल उनले एक्लैले गर्ने होइन, परिवार र समाजका सदस्यहरूले पनि त्यसको स्वाद लिन्छन्। यसैले, यदि परिवार नै भ्रष्टाचारको प्रेरक र उपभोगकर्ता बन्न पुग्छ भने, उनीहरूलाई पनि नैतिक र कानुनी कठघरामा उभ्याउनु अन्याय होइन, न्यायको जयघोष हो।

यसको उपचार सामाजिक संस्कार र नैतिक शिक्षाद्वारा नै गर्नुपर्छ। सशक्त सामाजिक निगरानी र पारिवारिक चेतनामा सादगी र सदाचारको सुगन्ध नफैलाएर भ्रष्टाचार नियन्त्रण गर्न सकिन्न। जब समाज नै सम्पन्नता र विलासिता देखाएर राष्ट्रसेवकलाई लोभ र लालचको लहरमा डुबाउँछ, तब भ्रष्टाचारको भयानक बाढीले समग्र समाजलाई नै डुबाउँछ। त्यसैले, समाज र परिवारले “सादगी नै सर्वोत्तम सौन्दर्य हो” भन्ने अवधारणा आत्मसात् गर्दै स्वच्छ जीवन पद्धति र मर्यादित आकांक्षाको उज्यालो दिएर नै राष्ट्रसेवकको नैतिक बल सशक्त पार्न सकिन्छ। जसरी चन्द्रमाले रातको अन्धकारलाई उज्यालो पार्दछ, त्यसरी नै सशक्त पारिवारिक संस्कार र समाजको नैतिक हस्ताक्षरले राष्ट्रसेवकलाई भ्रष्टाचारको अन्धकारबाट उकास्न सक्छ।

जसरी आगोले सुनलाई शुद्ध पार्छ, त्यसरी नै कठोर कानुनी कारवाहीले समाजलाई भ्रष्टाचारमुक्त बनाउँछ। सूचना प्रविधिको अधिकतम प्रयोग गरी नगदविहीन, कागजविहीन र सम्पर्कविहीन सार्वजनिक सेवा प्रवाहले घूस र बिचौलियाको चक्रव्यूह तोड्न सक्छ। सम्पत्ति परीक्षण र पारदर्शिताको कडा अभ्यासले सार्वजनिक पदधारकको जीवनलाई विवेकको कसीमा कसेर साँचो सेवा भावना विकास गराउँछ। राजनीतिक दल र निर्वाचन सुधारले भ्रष्टाचारको राजनीतिक जरो काट्छ। पूर्वीय आदर्शहरूको पुनर्जागरण “राजस्व र देवस्व हडप्नु हुँदैन, ऋण नतिरी मर्नु हुँदैन” भन्ने नीति व्यवहारमा उतारेर मात्र साँचो आर्थिक सदाचारको बीजारोपण गर्न सकिन्छ। जब राष्ट्र, समाज र परिवारले आर्थिक सदाचारलाई जीवन पथको आदर्श बनाउँछन्, तब लोकतन्त्रको स्थिरता, सुशासनको स्थायित्व र समृद्ध राष्ट्रको स्वप्न साकार हुन्छ। जस्तो कि कौटिल्यले स्मरण गराएका छन्, “शासकको कर्म राष्ट्रहित र लोकहितका लागि हो; व्यक्तिगत विलासिताका लागि होइन।” सदाचारको सूर्यले मात्र भ्रष्टाचारको अन्धकार हटाएर राष्ट्रलाई न्याय, समृद्धि र शान्तिको नयाँ प्रभातमा पुर्याउन सक्छ।

(उप्रेती कोष तथा लेखा नियनत्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शहरी विकास मन्त्रालयको गाडी निजी कार्यक्रममा दुरुपयोग, प्रमुख सचिवमाथि भ्रष्टाचारको छायाँ

उपत्यका नापी प्रमुख बन्न दौडधुप

उत्तरदायी र व्यावसायिक निजामती प्रशासन

संघीय सचिवालयमा १७ वर्षदेखि लिलामी रोकियोः ल्यापटप र आइप्याड गायब

समावेशी भर्ना प्रणाली:- प्रारुप, अवसर र चुनौती

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

बिशेष