नेपालको भूराजनीतिक सन्तुलन: चीन र भारत बीचको रणनीतिक स्थिति     

विषय सन्दर्भ

बिज्ञापन

अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा भौगोलिक प्रभावको अध्ययनलाई भू– अर्थ राजनीति अध्ययन भनिन्छ । यो अर्थ राजनीतिक भूगोलको एउटा सिद्धान्त हो। सबैसँग मित्रता कसैसँग छैन शत्रुताको मर्म अनुरुप नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभको आधारमा छिमेकी लगायत अन्य मुलुकहरुसँगको सम्वन्धलाई सुदृढ र विस्तार गर्नुपर्दछ ।त्यसैगरी अन्तराष्ट्रिय सम्वन्धलाई न्यायपुर्ण,निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने दिशामा आर्थिक कुटनीतिक प्रयास हुनुपर्दछ । छिमेकी मित्र राष्ट्र, दक्षिण एशियाली मुलुक, प्रमुख शक्ति राष्ट्र, विकास साझेदार लगायत सबै राष्टहरुसँग नेपालको सम्वन्ध मैत्रीपुर्ण एवं सहयोगात्मक हुनुपर्दछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राट्रियता, स्वाधिनता, स्वाभिमान, नेपाली हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धिलाई राष्ट्रिय हितको आधारभुत विषयको रुपमा राख्नु पर्दछ । विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने दिशामा नेपालको भूराजनीतिको उपयोग गर्नुपर्दछ ।

बिज्ञापन

नेपालको भूराजनीतिको अवस्था

नेपालको अवस्थिति उत्तरमा चीनको तिब्बती पठार, खासगरी हिन्दकुसदेखि बर्मासम्म फैलिएको हिमालय शृंखलाको बीच हुँदै दक्षिण एसियाको ठूलो समतल भूभागसम्म जोडिन पुगेको छ । नेपाल, चीन र भारत जस्ता एशियाका ठूला र उदीयमान शक्तिराष्ट्रको बीचमा अवस्थित छ। नेपालको भूगोल चीनसँग करीब १४०० किलोमिटर र भारतसँग करीब १८०० किलोमिटर जोडिएको छ । भूगोल बदलिंदैन तर अर्थ–राजनीतिमा भने परिवर्तन आइरहन्छ । चीन र भारत दुवै मुलुक विश्वमा आर्थिक र सामरिक दृष्टिकोणले उदाउँदा शक्ति राष्ट्रहरूका रुपमा विकसित हँदैगएको अवस्था विधमान छ । यसको बीचमा नेपाल जस्तो विविध विविधताले भरिपूर्ण भएको सुन्दर मुलुक रहेको छ । एक हिसाबले दुई उदाउँदा शक्ति राष्ट्रहरुको बीचमा नेपालको भूगोल सामरिक र रणनीतिक महत्वको रुपमा रहेको छ ।

बिज्ञापन

नेपालको भूराजनीतिक अवस्था जटिल र संवेदनशील छ, जहाँ विभिन्न भूराजनीतिक कारकहरूको प्रभाव छ। नेपालको भौगोलिक स्थिति चीन र भारतजस्ता दुई ठूला शक्ति राष्ट्रहरूको बीचमा छ, जसले नेपालको परराष्ट्र नीति र भूराजनीतिक परिप्रेक्ष्यलाई गहिरो प्रभाव पार्दछ। नेपालले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिको पालन गर्दै आफ्नो राष्ट्रिय हितलाई सर्वोत्तम तरिकामा संरक्षण गर्न कोशिष गरिरहेको छ।

नेपालको भूराजनीतिक अवस्थाको एक प्रमुख विशेषता यसको भू–राजनीतिक अवस्थिति हो, जसले नेपाललाई एक पुलको रूपमा कार्य गर्न सम्भावित बनाउँछ। भारत र चीनको बीचमा स्थित रहेको नेपालले दुईवटै देशसँग ऐतिहासिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध राख्दछ। भारतसँगको गहिरो आर्थिक र सांस्कृतिक सम्बन्ध भए तापनि, चीनसँगको सीमा साझा रहेको नेपालले आफ्नो भूराजनीतिक परिप्रेक्ष्यलाई सन्तुलित राख्न प्रयास गर्दछ।

नेपालको भूराजनीतिक अवस्थालाई चुनौती दिने केही कारकहरूमा, यसको भूपरिवेष्ठित स्थिति, सीमामा आउने समस्या, प्राकृतिक विपत्ति, र अन्य भूराजनीतिक विवादहरू पर्छन्। नेपालले आफ्नो परराष्ट्र नीति सन्तुलित राख्नका लागि चीन र भारतसँगको सम्बन्धमा सावधानी अपनाउनु पर्छ।

नेपालले संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा सक्रिय रहनु पर्छ, जसले यसको कूटनीतिक प्रभावलाई बढाउँछ र विभिन्न वैश्विक मुद्धामा यसको आवाज उठाउँछ। यद्यपि, नेपालको मुख्य चुनौती भनेको चीन र भारतसँगको कूटनीतिक सन्तुलन कायम राख्नु र आन्तरिक सुरक्षा र समृद्धिका लागि स्थिर भूराजनीतिक वातावरण निर्माण गर्नु हो।

भौगोलिक हिसाबले चीनतर्फको नेपालको सिमाना उच्च हिमाली क्षेत्र रहेको, नेपाल र चीनको बीचमा भिसा प्रणाली लागू भएको हुँदा खुला आवतजावत र व्यापार तुलनात्मक रूपमा केही कठिन छ भने भारततर्फको सिमानामा दक्षिणतर्फ समतल भूभाग रहेको, खुला सिमाना र आवतजावत हुने व्यापारिक नाकाहरु धेरै रहेको, रोजगारीको लागि दुवै देशतर्फ श्रमिकहरूको आवागमन हुने गरेको, धर्म, संस्कृति र राजनीतिक प्रणालीमा समेत धेरै हदसम्म समानता रहेको अवस्था विधमान छ । यो सामीप्यता भित्र त्रिदेशीय भू–राजनीति र अर्थ–राजनीतिले विभिन्न ऐतिहासिक कालखण्डमा एकता, संघर्ष, सहकार्य र प्रतिस्पर्धाका चरणहरू राजनीति, कूटनीतिक र व्यापारिक आयामहरुमा पार गर्दै आएका छन्।

नेपालको भू– अर्थ राजनीतिको प्रभाव

नेपालको भूगोलको हिसाबले झन्डै एकतिहाइ भूभाग तिब्बतीय पठारको अंग पनि छ । जनसांख्यिक हिसाबले ठुलो जनसंख्या दक्षिणपट्टि ढल्किएको अवस्था छ । त्यो कारणले गर्दा भारत र चीनबीच नेपालको भू– अर्थ राजनीति ऐतिहासिक रूपले अलि दक्षिणतिर फर्किएकै हो । सँगसँगै हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध दक्षिणतिर बढी ढल्किन पुगे । खासगरी सुगौली–सन्धियता देशभित्रको जहाँनिया निरंकुश राजनीतिक प्रणालीले गर्दा हाम्रा सम्बन्ध दक्षिणमा मात्रै निर्भर हुन पुगे । पछिल्लो चरणमा उत्तरतर्फ थोरै नाका र आर्थिक सम्बन्ध विस्तार गर्न खोजे पनि व्यवहारतः अझै दक्षिणतिर ढल्किरहेको अवस्था छ । हाम्रो छिमेकी सम्बन्ध उत्तर र दक्षिणको समदूरीमा नभई दक्षिणपट्टि नै ढल्किँदै आएको कारणले गर्दा विगतमा पटक–पटक नाकाबन्दीजस्ता दुःखद घटना व्यहोर्नुपर्ने अवस्था, व्यापार घाटा धान्नै नसक्ने गरी चुलिँदै गएको अवस्था र राजनीतिक रूपले पनि अक्सर असहजता कायम रहेको अवस्था छ । दुईवटा छिमेकीबीच रहेको यो अप्ठ्यारोपन व्यवस्थापन गर्न ऐतिहासिक रूपले हामीलाई निकै कठिनाइ पर्दै आएको छ । नेपालको तत्कालीन सन्दर्भमा उदीयमान शक्तिराष्ट्रका रूपमा रहेका चीन र भारत तथा पहिल्यैदेखि महाशक्ति रहेको अमेरिका, यी तीनवटा पक्षको द्वन्द्व र चासोले निकै महत्व राख्छ । यसैबीच केही दशकयता चीनले अभूतपूर्व ढंगको आर्थिक विकास ग¥यो । नेपालले पनि बिआरआईको अंग बनेर चीनसँग सम्बन्ध बढाउन देखाएको तत्परताले हामीलाई दक्षिणतिर मात्रको परिनिर्भरतालाई अलिकति भए पनि सोझ्याउने अवसर दिएको छ । तर, व्यवहारतः अहिलेसम्म त्यो खासै अगाडि बढ्न सकिरहेको अवस्था छैन । चीन बिस्तारै विश्वशक्तिका रूपमा उदय हुँदै गएकाले स्वतः अमेरिकाको त्यता ध्यानाकर्षण भएको छ । पछिल्लो अमेरिकी अन्तर्राष्ट्रिय नीति मुख्य रूपमा चीनको विस्तारलाई कसरी रोक्ने भन्नेतर्फ निर्देशित रहेर बन्न खोजेको प्रस्ट हुन्छ । यसैक्रममा अमेरिकाले केही वर्षदेखि इन्डो–प्यासिफिक रणनीति अगाडि सारेको छ । त्यसका निम्ति अमेरिकाको पश्चिमी तटदेखि भारतको पश्चिमी तटसम्मको क्षेत्रलाई मुख्य प्रभाव क्षेत्र मानेर अमेरिका, भारत, अस्ट्रेलिया र जापानको चौकोण निर्माण गर्दै चीनलाई रोक्ने रणनीति अमेरिकाले बनाएको छ । नेपालले समेत एमसीसीको सहयोग स्विकार गरिसकेको अवस्था विधमान रहेको छ

नेपालको भूराजनीतिका चुनौतिहरु

वर्तमान अवस्थामा हाम्रो राजनीतिक, सामाजिक र आर्थिक केन्द्रहरू कमजोर भएर गएका छन् र हामी बाध्यतावश पनि बाह्य शक्तिहरूको स्वार्थ अनुसार प्रयोग भएका छौँ । पछिल्ला दिनहरुमा नेपालमा विदेशिहरुको अत्यााधिक चलखेल वढेको अवस्था विधमान छ । हाम्रो समाज र राजनीतिमा आएको अप्ठ्यारो परिस्थितिको चालको गतिविधिहरुवारे विदेशिहरु जानकार रहेको विदेश नीतिका जानकारहरु वताउँछन। राजनीतिक अस्थिरताले हाम्रा नजिक र टाढाका छिमेकीले आफ्नो हिसाबले राजनीति तथा अन्य क्षेत्रमा सूक्ष्म व्यवस्थापनदेखि व्यापक व्यवस्थापनको रणनीति अख्तियार गर्दै आएका छन् । हाम्रो आन्तरिक राजनीतिको अस्थिरताको परिस्थिति र आफ्ना कमजोरीहरू लुकाउन हामी धेरै हदसम्म अरूलाई दोष लगाउँछौँ । राजनीतिक स्वार्थसिद्ध गर्नका लागि सस्तो लोकप्रियताको बाटो अपनाउँछौँ । यस्तो काल्पनिक प्रवृत्तिले कृत्रिम भू–राजनीतिक तरंगको निर्माण गर्छ र आमजनतालाई सही र गलत छुट्याउनै अप्ठ्यारो हुन्छ ।

नेपालको भूराजनीतिक स्थिति एकै समय अवसर र चुनौतीको मिश्रण हो। नेपाल, भारत र चीन बीचको कडीको रूपमा रहेकोले, यसका भूराजनीतिक सम्बन्धहरू प्रभावशाली छन्। यद्यपि, समयसमयमा यी दुई राष्ट्रहरूको प्रतिस्पर्धा र भिन्न राजनीतिक सोचले नेपालको स्थिति जटिल बनाउँछ। नेपालले दुवै देशसँग समान दूरीमा रहनुपर्ने चुनौती भोगिरहेको छ।नेपालसँग भारत र चीनसँग सीमासम्बन्धी विवादहरू रहेका छन्। भारतसँगको कालापानी, लिपुलेख, र लिम्पियाधुरा क्षेत्रको विवाद, र चीनसँगको तिब्बत सीमा क्षेत्रको विवादले नेपालको भूराजनीतिक स्थिति तनावपूर्ण बनाउँछ।नेपालको आर्थिक परनिर्भरता भारत र चीनमा अत्यधिक छ। यसको परिणामस्वरूप, नेपालको आर्थिक नीति र रणनीतिहरू प्रायः बाह्य शक्तिहरूसँगको सम्बन्धमा आधारित हुन्छ, जसले नेपालको स्वाधीनता र विकासमा बाधा पुर्याउँछ।नेपालले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलित राख्नुपर्ने दबाब छ। यद्यपि, नेपालको सीमित भौतिक र कूटनीतिक स्रोतले यस कार्यमा चुनौती पुर्याउँछ।यसरी, नेपालको भूराजनीतिक चुनौतीहरूको समाधान सामरिक कूटनीति, द्विपक्षीय समझदारी र आन्तरिक सशक्तिकरणमा निर्भर गर्दछ।

नेपालको सन्र्दभमा परिवर्तनशिल र तरल क्षेत्रीय एवम् विश्व परिवेशमा निरन्तरता र परिवर्तनको मर्म अनुरुप वृहत्तर राष्ट्रिय हितको रक्षा र प्रवर्दन गर्ने कार्य चुनौतिपुर्ण छ । त्यसैगरी भूराजनीतिको प्रभावबाट नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा गर्ने, परराष्ट्र सम्वन्ध सञ्चालनमा सवै पक्षसँग प्रभावकारी समन्वय, सहकार्य र सहयोग लिई एकिकृत राष्ट्रिय दृष्टिकोण् वनाउने,राष्ट्रिय प्राथमिकता र आवश्यकताका क्षेत्रमा राष्ट्र हित सुनिश्चित गर्दै अन्तराष्ट्रिय विकास सहायता स्वीकार्ने र परिचालन गर्ने, नेपाल जस्ता विशिष्ट परिस्थिति भएका राष्ट्रहरुको साझा चासो र हितका विषयमा अन्र्तराष्ट्रिय समर्थन र सहयोग प्राप्त गर्ने लगायतका कार्यहरु चुनौतीपुर्ण रहनेछन् ।

नेपालको भूराजनीतिका अवसरहरु 

भू– अर्थ राजनीति चुनौती मात्र होइन, आर्थिक अवसर पनि हो । समकालीन अन्र्तराष्ट्रिय र क्षेत्रीय परिस्थितमा तीव्र परिवर्तनभई विश्वको शक्ति सन्तुलनमा वद्लाव देखापरेको छ । नेपालको भूराजनीति विविध अवसरहरूको स्रोत हो, जुन देशको रणनीतिक अवस्थिति, प्राकृतिक सम्पदा, र भूराजनीतिक सञ्जालको कारण उत्पन्न हुन्छ। नेपाल एशिया महादेशको महत्वपूर्ण स्थलमा स्थित छ, जसले भारत र चीन जस्ता शक्ति राष्ट्रहरूको बीचको कडीको रूपमा कार्य गर्दछ। यसको भूराजनीतिक स्थिति नेपालको लागि विभिन्न अवसरहरूको सृजन गर्दछ।

पहिलो अवसर भनेको नेपालको भौगोलिक अवस्थिति हो, जसले यसको रणनीतिक महत्त्वलाई थप महत्वपूर्ण बनाउँछ। नेपाल चीन र भारत बीचको स्थितिमा रहेकोले, यो देश दुवैको लागि व्यापारिक र साङ्गठनिक नीतिहरूमा मध्यस्थको रूपमा कार्य गर्न सक्षम छ। नेपाल चीनसँग ‘बेल्ट एन्ड रोड इनिसिएटिव’ (BRI) जस्ता परियोजनामा संलग्न भइरहेको छ भने भारतसँग सन्धि र व्यापारिक सहयोगको अवसरहरू छन्।

दोश्रो अवसर भनेको नेपालको प्राकृतिक सम्पदा र पर्यटन क्षेत्र हो। नेपालको हिमालय पर्वत, कर्णाली नदी, ऐतिहासिक स्थल र विविध जैविक विविधता एक ठूलो पर्यटन आकर्षणका रूपमा परिचित छन्। यसका कारण नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्य बनाउने अवसर छ, जसले अर्थतन्त्रलाई वृद्धि दिनेछ।

तेश्रो अवसर भनेको नेपालको जलस्रोत हो। नेपालमा प्रचुर जलविधि र जलविद्युत् उत्पादनको क्षमता छ। नेपालले आफ्नो जलस्रोतको सदुपयोग गर्दै अन्य देशहरूलाई ऊर्जा निर्यात गर्न सक्ने क्षमता राख्छ, जसले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छ।

मुलुकले हाँसिल गरेको राजनीतिक स्थायित्व, लोकतन्त्र, दिगो शान्ति र विकासको नयाँ परिवेशमा राष्ट्रिय हित र परराष्ट्र नीतिका सम्वन्ध्मा स्पष्ट मार्गदर्शन प्राप्त भएकाले नेपाललाई भूराजनीतिको सदुपयोग गर्ने पर्याप्त अवसरहरु रहेका छन् । त्यसैगरी भूराजनीतिको सदुपयोगवाट नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण राख्दै सबल, समुन्नत, शान्तिपुर्ण र परिस्कृत राष्ट्र निमार्णमा योगदान पुरयाउन सक्ने अवसर प्राप्त भएको छ । भूराजनीतिलाई प्रभावकारी रुपमा उपयोग गर्नसकेमा नेपालका लागि यो अवसर बन्न सक्दछ ।नेपालको भूराजनीतिक स्थितिले अर्थतन्त्र, व्यापार, पर्यटन र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण अवसरहरूको सृजन गरेको छ, जसको सही प्रयोगले समृद्धि र विकासमा योगदान पुर्याउन सक्छ।

 

नेपालले भूराजनीतिको सन्दर्भमा आगामी दिनमा गर्नु पर्ने कार्य दिशा 

नेपालको भूराजनीतिक स्थिति विश्वका प्रमुख शक्तिहरूसँगको सीमामा छ जसले यसको सुरक्षा र कूटनीतिक निर्णयहरूमा ठूलो प्रभाव पुर्याउँछ । नेपालको प्राथमिक चुनौती भनेको आफ्नो कूटनीतिक सन्तुलन कायम राख्नु हो। भारत र चीनसँगको सीमा र सांस्कृतिक नाताले नेपाललाई यी दुई शक्तिहरूसँग मिलेर काम गर्न बाध्य बनाउँछ । नेपालले भारत र चीनसँग मित्रवत् र समान सम्बन्ध राखेर आर्थिक र सुरक्षा अवसरहरूको उपयोग गर्नुपर्नेछ । त्यस्तै, पश्चिमी राष्ट्रहरूसँग पनि व्यापारिक र कूटनीतिक सञ्जाललाई सुदृढ गर्न आवश्यक रहेको छ।

नेपालले आफ्नो भूराजनीतिक शक्ति बढाउन आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने हुन्छ । विदेश सहयोगमा निर्भर रहनुको सट्टा, नेपालले आफ्नो आन्तरिक उत्पादन र व्यापारलाई वृद्धि गर्दै आत्मनिर्भरता हासिल गर्नुपर्नेछ । नेपालले विशेष गरी, ऊर्जा, कृषि, र पर्यटन क्षेत्रका अवसरहरूमा भारत र चीनसँगको व्यापारलाई प्रवद्र्धन गर्दै, नेपालले दुवै मुलुकसँग आफ्ना व्यापारिक सम्बन्धहरूलाई अझ मजबुत बनाउन आवश्यक छ ।

नेपाललाई आफ्नो राष्ट्रिय सुरक्षा र भू–राजनीतिक स्थिति थप मजबुत बनाउन परिपक्व रणनीतिक दृष्टिकोण अपनाउन आवश्यक छ। भारत र चीनसँगको सीमा विवाद र सिमा सुरक्षा नेपालका लागि महत्त्वपूर्ण विषयहरू हुन्। नेपालले आफ्ना सुरक्षा संरचनामा सुधार गर्दै, समर्पित सुरक्षा बल र संयुक्त तालमेलमा काम गर्ने आवश्यकता छ । नेपालले सामरिक दृष्टिकोणले आत्मनिर्भर सुरक्षा नीतिहरू पनि विकास गर्नुपर्नेछ ।

नेपालले संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय संस्थामा सक्रिय रहन आवश्यक छ, जसले नेपालको कूटनीतिक प्रभावलाई विश्वव्यापी रूपमा बढाउँछ र नेपाललाई मानव अधिकार, विकास, र जलवायु परिवर्तन जस्ता वैश्विक मुद्दामा प्रमुख भूमिका प्रदान गर्छ। नेपालले आफ्नो निष्कलंक कूटनीतिक छविलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय समाजसँगको सम्बन्धलाई सुदृढ गर्न सक्छ।

चीनसँगको सम्बन्ध विस्तार गर्दै जानेतर्फ नेपालले ध्यान दिनुपर्छ। हालको दुईवटा मुख्य सडकमार्गलाई विस्तार गर्दै चीनसँगको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन प्राथमिकता दिनु आवश्यक छ। चीनसँगको भौतिक सञ्जाल विस्तारले नेपाललाई विकासको लाभ पुर्याउन सक्छ। तर, भारतको विकल्प बन्न नसक्ने यथार्थलाई पनि ध्यानमा राख्नुपर्छ।नेपालले विश्वशान्ति र भाइचारा प्रवद्र्धन गर्ने नीति अपनाउनु पर्छ। आन्तरिक राजनीति बलियो बनाएर र संघीयता र समावेशी लोकतन्त्रको आधारमा राष्ट्रिय एकता र शान्ति कायम गर्दा मात्रै अन्तर्राष्ट्रिय भूमिकामा प्रभावकारी रूपमा कार्य गर्न सकिन्छ।

अर्थतन्त्रको दिगो रूपान्तरणमा ध्यान दिनु पर्नेछ। स्वदेशी र विदेशी पुँजी र प्रविधि परिचालन गरेर औद्योगिकीकरणमा लगानी गर्न र नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने दिशा अपनाउनु पर्छ। यसले नेपालको परनिर्भरतालाई अन्तरनिर्भरतालाई बदल्न मद्दत पुर्याउँछ।

नेपालले घरेलु होस् वा अन्तर्राष्ट्रिय सम्बन्धबारे सोच्दा आफ्ना निकटतम आवश्यकताको औचित्य निक्र्योल गर्नुपर्नेछ । आदर्शवादी रटानलाई भविष्यको यथार्थवादी आकलनद्वारा प्रतिस्थापित गर्नुपर्छ । ऋण र निम्छरो अनुदानभन्दा लगानीमार्फत विकास आकर्षित तथा प्रोत्साहित गर्न सकिन्छ । यसका लागि नजिकै तथा केही टाढासम्मका छिमेकीहरूलाई झमेलामुक्त नाफामुखी प्याकेजहरूद्वारा आकर्षित गर्न सकिनेछ । सहयोग तथा सहकार्य कुनै पनि प्रकारले देशको सार्वभौमिकतासँगको सम्झौताबाट भन्दा पनि राज्यको स्वायत्तता अक्षुण्ण राख्दै रचनात्मक विधिद्वारा हासिल गरिनुपर्दछ । व्यापार, सहायता र लगानी व्यापारिक तन्तुका उच्च राजनीतिक मामिला भएकाले यो चतुर कूटनीतिबाट व्यवस्थित गर्न सकिन्छ । भू–आर्थिक संभाव्यता सम्बन्धका आर्थिक आयामहरूको विस्तार निम्ति खोजिनुपर्दछ । अनि, सम्बन्धलाई मजबूत पार्दै राष्ट्रिय सुरक्षा उपरका भू–आर्थिक खतरालाई कमजोर पार्न सक्नुपर्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई हामीले गुणात्मक ढंगले बदल्नुपर्छ । हाम्रो जस्तो सानो देशले ठूला शक्ति राष्ट्रलाई कूटनीतिक सन्तुलन मात्र मिलाएर अगाडि बढ्छु भन्नु सिद्धान्ततः ठीक भए पनि व्यवहारतः त्यो सम्भव हुँदैन । विश्वशान्ति र अन्तर्राष्ट्रिय भाइचाराको एउटा अंगका रूपमा नेपाललाई नयाँ ढंगले चिनाउनु पर्दछ । सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक ऋण,अनुदान तथा सहायता लिँदा राष्ट्रिय स्वार्थलाई माथि राखेर मात्रै लिनुपर्दछ । बहुपक्षीय तथा द्विपक्षीय ऋण तथा सहायता दिने दातृराष्ट्र तथा निकायले अनेक सर्त राख्ने भएकाले राष्ट्रहितलाई सर्वोपरी ठानेर मात्रै सर्त मान्नु पर्दछ । राष्ट्रको भू–राजनीति र सुरक्षालाई असर पर्ने गरी वैदेशिक ऋण तथा अनुदान लिन हुदैन । राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर मात्रै वैदेशिक लगानी लिनुपर्ने हुन्छ । सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक लगानी ल्याउँदा जिटुजी मोडलमा ल्याउन सके मुलुकलाई धेरै फाइदा पुग्ने देखिन्छ । वैदेशिक लगानीको साथसाथै मुलुकभित्रै स्वदेशी पुँजी जुटाउनेतर्फ अघि बढ्नुपर्दछ ।

निष्कर्ष

नेपालले आफ्नो भूराजनीतिक स्थिति र कूटनीतिक नीतिलाई सन्तुलित र स्वतन्त्र राख्दै परराष्ट्र नीति सञ्चालन गर्नु पर्छ। यसको मूल उद्देश्य राष्ट्रको सर्वोत्तम हितको संरक्षण र संवर्धन हो। नेपालले संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर छिमेकी र मित्र राष्ट्रहरूबाट अधिकतम सहयोग र समर्थन प्राप्त गर्नुपर्नेछ। भूराजनीतिक फाइदा उठाउँदै नेपालले औद्योगिकीकरण, ऊर्जा, खाद्यान्न, पर्यटन, खनिज र जनसांख्यिक लाभहरूको सही उपयोग गर्दै कूटनीतिक कौशलतासँग आफ्नो समग्र राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न सक्छ। नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्वन्ध विकास गर्दै भू–राजनीतिक जटिलताबाट फाइदा लिन सक्ने छ। यद्यपि, नेपालले भूपरिवेष्ठित राष्ट्रको रूपमा पारवहन स्वतन्त्रता र सहजता सुनिश्चित गर्न सजग रहनु आवश्यक छ। (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन ।)

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष